मनोज यादव—
सर्लाही,मंसिर २५
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सामाजिक विकृतिको रुपमा विद्यमान बालविवाह अन्त्य गर्न तथा छोरीहरूको उच्च शिक्षामा पहुँच पुर्याउने उदेश्यका साथ अभियानको रुपमा सुरु गरेको ‘उच्च शिक्षामा छोरीको पहुँच कार्यक्रम’ मार्फत एक नवविवाहित जोडिलाई प्रोत्साहन स्वरूप नगद रु ५० हजार प्रदान गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगर गाउँपालिका वडा न-२, दनुवारी टोल स्थित स्थानीय हरदेव सिंहको घरमा चलिरहेको विवाह समारोहमा पुगेर सिंहकी २२ वर्षिया छोरी बेहुली रेणु सिंह र ईश्वरपुर नगरपालिका वडा न-७ पोखरी टोल बस्ने २९ वर्षीय बेहुला जितेन्द्र सिंहलाई सार्वजनिक रुपमा सो रकम हस्तान्तरण गरेका हुन।
तराई मधेसमा बाजे बराजुको पालादेखि सामाजिक परम्पराको नाममा चल्दै आएको बाल विवाहका कारण छोरीको पढाइ बिचमै रोकिएर उच्च शिक्षा प्राप्त गर्नबाट बन्चित हुने र कम उमेरमा आमा बन्दा बच्चा र आमा दुवैको स्वास्थ्यमा पनि खतरा उत्पन्न हुने भएकोले बाल विवाहको नाममा विद्यमान सामाजिक कुरितीलाई चिर्न ‘उच्च शिक्षामा छोरीको पहुँच कार्यक्रम’सुरु गरेको गापा अध्यक्ष महतोले बताए ।यो अभियानबाट केही हदसम्म परिवर्तन आउने आफुहरु विश्वस्त छौं ,उनले भने। छोरीको उच्च शिक्षामा पहुँच पुर्याउनको लागि गाउँपालिकाले एउटा छोरीमा ६१ हजार लगानी गरेको महतोले बताए। यस पालिकाले प्लस २ पास गरेर २० वर्ष उमेर पुरा गरी छोरीले बिहे गरेमा त्यस्ता नवविवाहित जोडीलाई ५० हजार र स्नातक प्रथम वर्षमा अध्ययनरत छोरीलाई ११ हजार गरी जम्मा ६१ हजार लगानी गरेको छ।
नवविवाहित दुलही रेणुका बुवा सिंहले आफु सुरुदेखि नै बालविवाहको विरुद्धमा रहेको र छोरीलाई पनि छोरा सरह उच्च शिक्षा दिलाउनुपर्छ भन्ने सोंच लिएको व्यक्ति भएकोले छोरीले स्नातक तह पढ्न सुरु गरेपछि मात्र आदर्श विवाह बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्: