Loktantra Khabar National Weekly
Ad

देउवालाई एक वर्षमा दुई पटक धोका दिएका प्रचण्ड

लोकतन्त्र खबर
२१ फाल्गुन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसीबसी सत्ताको काँध दुई पटक फेरेका छन्।

यसअघि गत वर्षको पुस १० गते तत्कालीन चुनावी गठबन्धनलाई धोका दिएर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड १५ महिनाको अन्तरालमा त्यही ठाउँमा आइपुगेका छन्।

प्रचण्डको यो निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एउटै कित्तामा उभिएका कांग्रेस सभापति शेरबहादुर देउवाले भने उनीबाट एक वर्षमा दोस्रोपटक धोका पाएका छन्। पुरानै गठबन्धन ब्युँतिने भएपछि राजनीति फेरि सकारात्मक ट्र्याकमा आएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताए।

‘अहिले वाम गठबन्धन र ध्रुवीकरणको ठूला-ठूला सपना नदेखौं,’ पोखरेलले सेतोपाटीसँग भने,‘तर राजनीति नयाँ ट्र्याकमा पुगेको छ।’

२०७९ को चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादी अध्यक्ष प्रचण्डले सरकार बनाउँदा नाटकीय ढंगले एमालेको समर्थन लिएका थिए।

त्यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग खाना खान आफ्नो निजी निवास खुमलटार जान्छु भनेर हिँडेका थिए। तर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेको समर्थनमा प्रधानमन्त्रीको सपथ खाएर बालुवाटार फर्किए।

बदलामा माओवादीले सभामुखमा एमालेका देवराज घिमिरेलाई समर्थन गर्‍यो। भोलिपल्टै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आफूहरूबाट गल्ती भएको भन्दै फेरि संवादको थालनी गर्न प्रचण्डसँग आग्रह गरेका थिए।

फलस्वरूप पहिलोपटक विश्वासको मत लिँदा प्रचण्डको पक्षमा २६८ र विपक्षमा जम्मा दुई मत खसेको थियो। तर सरकार बनेको दुई महिना पनि नपुग्दै एमाले बाहिरियो।

पुरानो गठबन्धनका बीचमा क्रमशः प्रचण्डले दुई, माधवकुमार नेपालले एक र शेरबहादुर देउवाले २ वर्ष सरकार चलाउने चुनाव अघिको सहमति ब्युँतियो र प्रचण्डको सरकार अहिले १५ औं महिनामा चलिरहेको छ।

एक वर्ष पुगेपछि नै कांग्रेस र माओवादीबीच खटपटी सुरू भएपछि प्रचण्डले एमालेसँग संवाद थालेका थिए।

विशेषगरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने र कम्तीमा पनि अर्थमन्त्री प्रकाशशरण महत र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई हटाउनुपर्ने प्रचण्डको अडानमा कांग्रेस सभापति शेरबहादुर देउवाले साथ दिएका थिएनन्।

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा पराजित हुनु, मन्त्री फेर्न पनि नपाउनु, कांग्रेसको महासमिति बैठकमा माओवादीको सशस्त्र संघर्ष, सत्ता गठबन्धनलगायत विषयमा छलफल हुनुलाई प्रचण्डले यो गठबन्धन टुट्ने आधारका रूपमा व्याख्या गरिरहेका थिए।

माओवादी उपाध्यक्ष अग्नि सापकोटाले अब राजनीति नयाँ ढंगले अघि बढिरहेको र वाम गठबन्धनका लागि आधार तयार भएको बताए।

प्रचण्डले गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने भन्दै एमालेका पनि उम्मेदवार उठाउन जोडबल गरेका थिए। तर अन्तिम समयमा कुरा नमिलेपछि त्यतिबेला उक्त सहमति भने हुन सकेन। त्यसपछि भने एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादीका उपमहासचिव वर्षमान पुनका बीचमा नयाँ सत्ता समीकरणबारे लगातार संवाद भएको थियो।

उक्त संवादले आइतबार मध्यरातमा सार्थकता पाएसँगै प्रचण्डले सत्ता समीकरणमा दोस्रोपटक कोल्टो फेरेका हुन्।

यससँगै अब सत्ता राजनीति गत वर्ष पुस १० गतेको अवस्थामा फर्किएको छ। अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वको सरकारमा एमाले, रास्वपा र जसपा सहभागी हुने निश्चित भइसकेको छ। अरू दलहरुको सहभागिताबारे अझै निधो भइसकेको छैन।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पहिले प्रचण्डलाई एमाले अध्यक्षले मुठी कस्न थालेपछि देउवातिर गएको र अहिले देउवाले मुठी कस्न थालेपछि ओलीतिर गएको टिप्पणी गरे।

‘हाम्रो राजनीति, नेताहरू र राजनीतिक उतारचढावका आधारमा यो अन्तिम गठबन्धन चाहिँ होइन,’ भूसालले भने। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: