Loktantra Khabar National Weekly
Ad

सार्वजनिक खरिद नियमावली संशोधनमा प्रश्न

लोकतन्त्र खबर
२३ फाल्गुन २०८०

निर्माण व्यवसायकै हितअनुकूल खरिद नियमावली पटकपटक संशोधन हुने तर समयमै आयोजना सम्पन्न नहुने समस्यामा कत्ति पनि सुधार नहुनुले संशय उब्जाएको छ । खरिद नियमावलीको प्रायः संशोधन हेर्दा निर्माण व्यवसायीकै दबाबमा सरकारले पटकपटक नियमावली परिमार्जन गर्दै आएको देखिन्छ । सरकारले पाँच वर्षमा आठौं पटक खरिद नियमावली संशोधन गर्नु यसको ज्वलन्त उदाहरण हो ।

पछिल्लो पटक गत साता मात्र सरकारले खरिद नियमावली ०६४ को १३औं संशोधन गरेको छ । यससँगै अब म्याद सकिएका आयोजनामा आवश्यकताअनुसार म्याद थप गर्न बाटो खुलेको छ । म्याद थपका लागि निर्माण व्यवसायीले नियमावली संशोधन भएको मितिबाट ३० दिनभित्र निवेदन दिन सक्नेछन् । संशोधनमा सम्झौता अवधिभित्र काम सम्पन्न हुन सक्ने अवस्था नदेखिएका आयोजनामा निर्माण व्यवसायीले पेस गरेको कार्यतालिकाबमोजिम म्याद थप गर्न पाइने व्यवस्था छ । तर, संशोधित कार्यतालिका र म्याद थपका कारण थप आर्थिक दाबी गर्न नपाइने व्यवस्था पनि नियमावलीमा छ ।

०७६ यता खरिद नियमावली व्यवसायीको दबाबमा परेर सरकारले संशोधन गर्दै आएको देखिन्छ । केपी शर्मा ओलीको पालामा पाँच, शेरबहादुर देउवाको पालामा दुई र पुष्पकमल दाहालको पालामा एक पटक नियमावली संशोधन गरिएको छ । ०७६ सालमा ओली प्रधानमन्त्री रहेका बेला मात्रै नियमावली चार पटक संशोधन भएको थियो । छैटौं संशोधन ०७६ वैशाख ३०, सातौं संशोधन ०७६ जेठ २३, आठौं संशोधन ०७६ साउन १६ र नवौं संशोधन ०७६ पुस १४ मा भएको हो । पाँचौं पटक ०७७ वैशाख १५ मा १० औं संशोधन गर्दा पनि प्रधानमन्त्री ओली नै थिए । देउवा प्रधानमन्त्री छँदा नियमावली दुई पटक संशोधन भयो ।

देउवाले सरकारको नेतृत्व लिएका बेला ०७८ चैत ३ मा ११औं र ०७९ असार २० मा १२औं संशोधन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत साता १३औं पटक संशोधन गर्ने निर्णय गरेको हो । यहाँ नीति संशोधन किन गरियो भन्ने प्रश्नभन्दा पनि संशोधित नियमावलीको उपलब्धि के रह्यो, उद्देश्यअनुसार लक्ष्य प्राप्त किन हुन सकेन भन्ने प्रश्नको जवाफ सम्बन्धित सरकारले दिन सक्नुपर्छ । किनकि नियमावली संशोधनकै कारण न कुनै आयोजना समयमै सम्पन्न भए, न त नयाँ आयोजना थपियो । न सरकारको पुँजीगत खर्च बढ्यो, न त धेरै विदेशी लगानी भित्रियो ।

सरकारका यस्ता गतिविधिले सीमित व्यक्ति वा समूहको हित हुने गरी नीति संशोधन गर्ने प्रवृत्ति पछिल्ला वर्ष मौलाउँदै गएको छ । समग्र राष्ट्रको हितका लागि नभई निश्चित समूहको स्वार्थअनुकूल हुँदै आएका यस्ता नीतिगत संशोधनले एकातिर मुलुकको अहित भएको छ भने अर्कोतिर चरम नीतिगत भ्रष्टाचार मौलाउँदै जानु चिन्ताको विषय हो । पछिल्लो पटकको खरिद नियमावलीको संशोधनको उद्देश्य बुझ्न चालु आर्थिक वर्षको सुरुका महिनादेखि निर्माण व्यवसायीको भुक्तानी सम्बन्धमा सरकार र ठेकेदारबीचको विवादलाई सूक्ष्म रूपमा नियाल्नुपर्छ । काम सम्पन्न भएका आयोजनाको पनि भुक्तानी नदिएको भन्दै चालु आर्थिक वर्षभरि नै सरकारले निकै आलोचना खप्न परेको छ । निर्माण व्यवसायीको भुक्तानी नदिएकै कारण सरकारी खर्च बढ्न नसकेको, निर्माण सामग्रीको माग घटेको, निर्माणको काम ठप्प भएको, बैंकमा कर्जा माग नबढेको र समग्रमा आर्थिक गतिविधि नै चलायमान बन्न नसकेको आरोप सरकारलाई लाग्दै आएको छ ।

जायज कारणले समयमा आयोजना सम्पन्न हुन नसकेका आयोजनामा सरकारले म्याद थप गर्नुपर्छ भन्नेमा दुईमत छैन । तर, हरेक सरकारले आफ्नो हितअनुसार नियमावली संशोधन गर्ने तर त्यसको आवश्यकता र औचित्य पुष्टि गर्न नसक्ने प्रवृत्ति कदापि राम्रो होइन । आर्थिक कुशासन, नीतिनिर्माणमा कच्चापन, नीति कार्यान्वयनको अभाव नेपालका पुरानै समस्या हुन् । अर्थतन्त्र सुधारका लागि गर्नैर्पर्ने मध्यमकालीन र संरचनागत समस्या पनि ज्युँका त्युँ छन् । युवा बेरोजगारी, कम उत्पादकत्व, उच्च लागत, धराशायी निर्यात, कमजोर वित्तीय प्रणाली, रेमिट्यान्स र आयातमा आश्रित कर र उत्पादन, अधिक कर्जाजस्ता समस्या छँदै छन् । यी संरचनागत समस्या सम्बोधन गर्न फरक शैली र क्षमताको सरकार तथा अर्थ–राजनीतिक नेतृत्व चाहिन्छ । तर, राजनीतिक नेतृत्वमा मैले जे गरे पनि हुन्छ भन्ने शासकीय अहंकार, नीति–कार्यक्रममा बढ्दै गएको हचुवापनले मुलुकको हित गरेको छैन ।

आयोजनाको अत्यधिक संख्या र सिर्जना भएको दायित्व व्यवस्थापन एउटा संवेदनशील विषय बनेको छ । बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले थप समस्या सिर्जना गरेको छ । अनिवार्य दायित्वको परिमाण ठूलो रहेको र अनावश्यक देखिएका संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ । वैदेशिक सहायताको उपयोग क्षमता कमजोर छ । यस्तो उपयोग विनियोजनको औसत ५० प्रतिशत जति मात्र रहेको छ । सञ्चित कोषलाई सन्तुलित अवस्थामा राख्न र गैरबजेटरी मागलाई निरुत्साहित गर्ने विषय पेचिलो बनेको छ ।

सरकारको आय र व्ययबीच असन्तुलन, पर्याप्त तयारीबिना बजेट प्रस्ताव गर्ने प्रवृत्ति, सरकारी ऋणको मात्रा बढ्दै जानु र भुक्तानी दायित्व उच्च रहनु, अनिवार्य दायित्वको मात्रा बढी रहनु र विकास पूर्वाधारमा लगानीका लागि वित्त दायरा न्यून रहनु नै अहिलेका प्रमुख चुनौती हुन् । यी समस्या समाधान गर्दै वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलाप विस्तारमार्फत उत्पादन र उपादकत्व वृद्धि गर्नु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकारले ठूलो परिमाणमा विकास खर्च बढाउनुपर्छ । यसतर्फ सरकारको ध्यान जाओस् । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: