Loktantra Khabar National Weekly
Ad

सिआइबी प्रमुख किरण बज्राचार्यलाई कारबाहीको तयारी

लोकतन्त्र खबर
२ चैत्र २०८०

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी गरिएको छ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाउने तयारी भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।

‘सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको सिफारिस पूर्ण कार्यान्वयन हुन्छ,’ प्रहरीका एक उच्च अधिकारीले सेतोपाटीसँग कुरा गर्दै भने।

सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ।

बज्राचार्यलाई विभागीय कारवाहीका लागि निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले पनि जानकारी दियो।

उनका अनुसार गृह मन्त्री रवि लामिछानेले शुक्रबार बिहान गृहसचिव, आइजिपीसहितका अधिकारीहरूलाई बोलाएर एआइजी बज्राचार्यलाई कारबाही गर्न निर्देशन दिएका थिए।

एआइजी बज्राचार्यलाई विभागीय कारबाही गर्न सुझाइएको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका थिए।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदनले औंल्याएका विषयमा कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए।

लगत्तै गृहमन्त्री लामिछानेले गृहसचिव र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई मन्त्रालयमा बैठक बोलाएर एआइजी बज्राचार्यमाथि विभागीय कारबाही गर्न निर्देशन दिएका हुन्।

६० किलो सुन प्रकरणको अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सिआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: