Loktantra Khabar National Weekly
Ad

‘पुजार सार्की’ को लुक्सबारे आर्यन– बुवाको पुरानो फोटो हेरेर नक्कल गरेँ

लोकतन्त्र खबर
४ जेष्ठ २०८१

अभिनेता आर्यन सिग्देल फिल्म ‘पुजार सार्की’ लाई लिएर निकै उत्साहित छन्।

आउँदो बिहीबारदेखि प्रदर्शनमा आउने फिल्ममा उनी ब्राह्मण चरित्रमा देखिँदैछन्। फिल्ममा आर्यनको लुक्स उनकै बुवाबाट प्रभावित छ।

उनी ब्राह्मण समुदायको र बुवा पण्डित भएता पनि आर्यनमा पूजा पाठको गुण त्यति थिएन। ‘बुवा पण्डित भएता पनि म खासै टीका नलगाउने मान्छे परेँ। म मनमा भएको भगवान देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु,’ आर्यनले भने।

फिल्मका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए। फिल्मका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा दिनेशलाई त्यो फोटो याद आयो। अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले।

फिल्मका लागि पुजारीको लुक्स बनाउन सहज भए पनि पात्रको गहिराइबारे सोच्दा गाह्रो भएको आर्यनले बताए। ‘लुक्स बनाउन धेरै मेहनत गर्नुपरेन। बुवाको पुरानो फोटो अनुसार प्रयास गर्ने बित्तिकै मेरो लुक्स फाइनल भयो। तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो। पुजारीको चरित्र निभाउन पनि मेहनत गर्नुपर्‍यो,’ आर्यनले बताए।

उनको पुजारी लुक्स देखेपछि बुवाले खुशी हुँदै भनेछन्, ‘निकै सुहाएको छ, मेरै कपी गरिछस्।’

फिल्ममा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन्।  उनले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन्। ‘मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो। मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ। त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन,’ आर्यनले कथाबारे खुलाए।

अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी रहेको आर्यनको बुझाइ छ। उनले भने, ‘त्यो हामीले देखिरहेकै कुरा हो। कति घटना अहिले पनि घटिरहेका छन्। कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान्। त्यही परिस्थितिसँग जुधेर फिल्म अगाडि बढेको छ।’

‘पुजार सार्की’ को ट्रेलरप्रति दर्शकको चासो बढेकोमा आर्यन दंग छन्। उनी फिल्मले उठाएको विषय सबैले हेर्न जरूरी रहेको बताउँछन्। ‘फिल्मले जुन विषय उठाएको छ, त्यो सबैले हेर्न जरूरी छ। ३५–४० वर्ष अगाडि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने पनि थाहा हुन्छ। इतिहास बुझ्न पनि यो फिल्म हेर्नुपर्छ,’ आर्यनले भने।

फिल्मी करियरको सुरूआतदेखि नै आर्यनलाई ‘लभरब्वाई’ अभिनेताको ट्याग लागेको थियो। त्यसपछि उनले ‘होमवर्क’ जस्तो अलग विषय र चरित्रमा समेत काम गरेका थिए। यतिबेला ‘पुजार सार्की’ मा फरक भूमिका निर्वाह गर्न पाउँदा खुशी लागेको उनले बताए।

आर्यन केवल प्रेमकथामा मात्र काम गर्न रूचाउँछन् भन्ने फिल्मकर्मीमा रहेको मानसिकतालाई ‘पुजार सार्की’ ले हटाउनेमा उनी ढुक्क देखिन्छन्। ‘मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिच्किच्याइरहनु भएका निर्माताहरूलाई यो फिल्मले उहाँहरूको हिच्किच्याहट मेटाइदिन्छ,’ उनले भने।

आगामी दिनमा पनि फरक भूमिका गर्न पाउँदा खुसी हुने उनी बताउँछन्। ‘राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको फिल्म पनि गर्छु। राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु,’ आर्यन भन्छन्।

जातीय विभेदविरूद्द तीन पात्रले गर्ने साझा संघर्षको कथामा ‘पुजार सार्की’ बनेको हो। फिल्ममा आर्यनसहित प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु मुख्य भूमिकामा छन्।

विकास सुवेदीको कथा रहेको फिल्मको निर्माता सुवास भुसाल हुन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: