Loktantra Khabar National Weekly
Ad

उत्कृष्ट बलिङसँगै ह्युस्टनमाथि नेपालको जित

लोकतन्त्र खबर
१३ जेष्ठ २०८१

ह्युस्टन  जेठ १३, उत्कृष्ट बलिङसँगै नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले हराएको छ । योसँगै नेपालले दुई खेलको सिरिज क्लिनस्वीप पनि गरेको छ ।

१२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो । जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । इमरान खान जुनियर र लाहिरु मिलान्था १६/१६ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक/एक विकेट लिए ।

त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो । कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए । ओपनर कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । नेपालका कुनै पनि ब्याटरले क्रिजमा जमेर राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर इमरान शेखको बलमा ओपनर आसिफ शेख कभरमा अली शेखबाट एक रनमा समातिन पुगेका थिए । कोर्ने ड्राइको बलमा अनिल साह ४ रनमा एज लागेर विकेटकिपर लाहिरु मिलान्थाबाट क्याच आउट भए ।

कुशल भुर्तेल जिआ शाहजादको बलमा कट एण्ड बोल्ड हुन पुगे । कुशल मल्ल जिआको बलमा लङअफमा ६ रनमा अलीबाट क्याच भएका थिए । त्यसपछि गुलशन झा १४ रनमा आउट भए । उस्मान शिनवारीको योर्कर बलमा रोहित बोल्ड भएका थिए । सन्दीप जोरा र सोमपाल कामी १२/१२ रन बनाए ।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले एक/एक विकेट लिए ।

पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । नेपाल अव डालास जानेछ । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग आईसीसी टी–२० विश्वकप वार्मअप खेल खेल्नेछ । त्यसपछि विश्वकप सुरु हुनेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपालले ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: