Loktantra Khabar National Weekly
Ad

कैलाश सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

नागरिकता सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ।

प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित काब्या अस्पतालमा भर्ना भएका उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

काब्या अस्पतालले थप उपचारका लागि रिफर गरेपछि दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकुलताको कारण उपर्युक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपर्युक्त हुने आदेश दिएको थियो।

सोही आदेश अनुसार उनलाई थप उपचारका लागि रिफर गरिएको उपचारमा संलग्न एक चिकित्सकले बताए।

‘पहिल्यैदेखि उहाँको मुटुको नशा च्यापिएको हो। १० वर्षदेखि ब्लड प्रेसरको दबाई पनि खाँदै आउनु भएको छ। न्युरो समबन्धी मेडिसिटी अस्पतालमा नियमित फलो अप भइरहेकाले उहाँलाई त्यहीँ रिफर गरेका हौँ,’ ती चिकित्सकले भने, ‘शरीरमा पोटासियमक कम हुँदा हामीले उपचार गर्यौ। थप उपचारका लागि आजै बिहान १० बजे नै हामीले रिफर गरिसकेका छौँ।’

अनुसन्धानका लागि नागरिकता विवरण किताबमा रहेको हस्ताक्षर र हस्तलिखित नमुनाको परीक्षण प्रतिवेदन माग गरी मिसिल संलग्न गर्ने, सिरोहियाको औँठाछापको नमुना परीक्षणको लागि पठाउने र घटना विवरणका कागज बुझ्न जिल्ला प्रहरी कार्यालय काठमाडौं लगायत निकायबाट विवरण मगाउन बाँकी रहेको भन्दै धनुषा जिल्ला अदालतले सोमवार प्रहरीलाई तीन दिन म्यादका लागि अनुमति दिएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: