Loktantra Khabar National Weekly
Ad

टी-२० विश्वकपमा घरेलु टोली अमेरिकाको सानदार विजयी सुरुआत

लोकतन्त्र खबर
२० जेष्ठ २०८१

अमेरिका  जेठ २०, आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ ।

१९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे ।

एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६.३ ओभरमा ४२-२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

अमेरिकाको सुरुआत भने त्यति राम्रो हुन सकेको थिएन । कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा क्याच आउट भएका थिए । मोनांक पटेल आउट हुँदा अमेरिका ६.३ ओभरमा ४२-२ को अवस्थामा थियो ।

तर त्यसपछि जोन्स र गौसले पूरै खेलको माहोल नै परिवर्तन गरेका थिए । क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक/एक विकेट लिए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए पनि जित्नलाई पर्याप्त भएन । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिएका थिए ।

क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धालिवालले ५.२ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । जोनसन १५ बलमा ५ चौकासहित २३ रनमा नितेश कुमारबाट लङअफमा क्याच आउट भए । उनी स्पिनर हरम्रीत सिंहको स्लो बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुन पुगेका थिए ।

परगत सिंह ५ रनमा रन आउट भएका थिए । त्यो समय क्यानडा ८ ओभरमा ६६-२ को अवस्थामा थियो । त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्टोन र धालिवालले ३७ बलमा ६२ रनको साझेदारी गरेका थिए । अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक/एक विकेट लिए ।

समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ ।

समूह डी मा रहेको नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा खेल्दै सुरुआत गर्नेछ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: