Loktantra Khabar National Weekly
Ad

पपुवा न्युगिनीमाथि घरेलु टोली वेष्टइन्डिजको संघर्षपूर्ण जित

लोकतन्त्र खबर
२१ जेष्ठ २०८१

अमेरिका जेठ २१ , घरेलु टोली वेष्टइन्डिजले आईसीसी टी-२० विश्वकप २०२४ मा पपुवा न्युगिनीमाथि ५ विकेटको संघर्षपूर्ण जित हात पारेको छ ।

१३७ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । रोश्टन चेशले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको अविजित इनिङ खेले ।

एक समय वेष्टइन्डिजलाई जितको लागि १९ बलमा ३९ रन चाहिएको अवस्थामा थियो । त्यसपछि रोश्टन चेश र आन्द्रे रसेलले खेल जितसम्म पुर्‍याएका थिए । स्कोर बोर्डमा खासै ठूलो योगफल नबनाए पनि पपुवा न्युगिनीका बलरले वेष्टइन्डिजका ब्याटरलाई दबाबमा राख्न सफल भएका थिए ।

ओपनर ब्रेन्डन किंग २९ बलमा ७ चौकासहित ३४, जोनसन चार्ल्स शून्य, निकोलस पुरन २७, रोभम्यान पावेल र आन्द्रे रसेलले १५/१५ रन बनाए ।

पपुवा न्युगिनीका असाद भालाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए । एली नओ, चाद सोपर, जोन कारिकोले एक/एक विकेट लिए ।

त्यसअघि प्रोभिडेन्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । असाद भाला २१, टोनी उरा २, चाल्र्स अमिनी १२, किप्लिङ डोरिगा २७ र चाद सोपरले १० रन जोडे ।

वेष्टइन्डिजका आन्द्रे रसेल र अल्जारी जोशेफले २/२ विकेट लिए । अकिल हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोतीले एक/एक विकेट लिए ।

समूह सी मा वेष्टइन्डिज, पपुवा न्युगिनी, अफगानिस्तान, न्युजिल्यान्ड र युगान्डा छन् ।

विश्वकपको तेस्रो खेलमा आज बिहान ६ : ३० मा समूह बी का ओमान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले भने ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुआत गर्नेछ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: