Loktantra Khabar National Weekly
Ad

पुरूषको छाती महिलाको स्तनजस्तै हुनुको कारण र समाधान

लोकतन्त्र खबर
२३ जेष्ठ २०८१

एकजना २५ वर्षीय पुरूषले विगत केही वर्षदेखि आफ्नो छाती महिलाको स्तन जस्तै भएको बताए । यसकारण अन्य पुरूषको उपस्थितिमा लुगा फेर्न नमिल्ने बताए । उनको छातीको आकार त्यस्तो हुनुको कारण उनको ‘शरीरले आवश्यकता भन्दा बढी मात्रामा सेक्स-स्टेरोइड हर्मोन उत्पादन गर्नु हो ?’ भनी जिज्ञासा राख्दै साधारण छाती पाउने उपायबारे सोधे ।

पुरूषको छाती महिलाको स्तन जस्तो हुनुलाई चिकित्सकीय भाषामा ‘गाइनेकोमास्टिया’ भनिन्छ । यो भनेको पुरूषको छातीको ‘निप्पल’ बढेर महिलाको स्तनको जस्तै आकार लिनु हो ।

जुनसुकै लिङ्गको भएपनि सबै मानिसमा पुरूष हर्मोन-एन्ड्रोजेन तथा महिला हर्मोन-इस्ट्रोजेन दुवै हुन्छन् । व्यक्ति वयस्क बन्ने प्रक्रिया अन्तर्गतमा हुने भौतिक तथा हर्मोनल परिवर्तनको अवधिलाई अंग्रेजीलाई ‘प्युबर्टी’ भनिन्छ । यो पुरूषका हकमा ९ देखि १४ वर्षको उमेरभित्र सुरु हुन्छ ।

प्युबर्टीमा शरीरमा एन्ड्रोजेन र इस्ट्रोजेनका मात्रामा परिवर्तन भई विविध तहमा बढ्न सक्छन्, जसकारण एन्ड्रोजेन भन्दा इस्ट्रोजेनको तुलनात्मक मात्रा बढी हुने अस्थायी अवस्था सिर्जना हुनसक्छ ।

फिजियोलजिकल गाइनेकोमास्टिया हर्मोन तहमा असन्तुलनका कारणले हुन्छ, जहाँ एन्ड्रोजेनको तुलनामा इस्ट्रोजेनको वृद्धि बढी हुन्छ ।

शिशु अवस्था वा प्युबर्टीमा पुरूषमा सामान्य भौतिक परिघटनाका रूपमा छाती ठूलो हुने र यस्तो हुन थालेको ६ महिनादेखि दुई वर्षभित्र आफैं ठीक हुन्छ भने त्यस्तो अवस्थालाई ‘फिजियोलजिकल गाइनेकोमास्टिया’ भनिन्छ ।

कहिलेकाहीं प्युबर्टीमा सुरु हुने गाइनेकोमास्टिया दुई वर्षभन्दा बढीको अवधिको लागि पनि हुनसक्छ, जसलाई ‘पर्सिस्टेन्ट प्युबर्टल गाइनेकोमास्टिया’ भनिन्छ । उक्त पुरूषलाई पनि यही भएको बुझिन्छ । विश्व जनसंख्यामा कैयौं पुरूष यसबाट ग्रसित भएको बुझिन्छ ।

एन्ड्रोजेन हर्मोन दुवै पुरूष र महिलाका यौनिक विकासका लागि आवश्यक हुन्छ । एन्ड्रोजेन पूरकका रूपमा पनि लिन सकिन्छ । गाइनेकोमास्टिया एन्ड्रोजेनको दुरूपयोग (प्राय: खेलाडीमा), गाँजाको दुरूपयोग, मदिराको दुरूपयोग, केही औषधिको परिणाम, कुपोषण, कलेजो सिरोसिस, ट्रमा, संक्रमण, हाइपर्थाइरोइडिसम, एन्डोक्राइन डिसअर्डर, अण्डकोष डिसअर्डर, एचआईभी बिरामी, ट्युमर, मिर्गौलाको असफलता वा वृद्ध मानिसमा देखिन्छ ।

तसर्थ गाइनेकोमास्टियाको निश्चित निदान गर्न केही प्रयोगशालात्मक परीक्षण गर्न आवश्यक हुन्छ ।

उपचार

सर्वप्रथम एन्डोक्राइनोलोजिस्टसँग परामर्श लिन सकिन्छ । गाइनेकोमास्टिया हुनुको कारणमा फिजियोलोजिकल प्युबर्टल गाइनेकोमास्टियाका अतिरिक्त टेस्टिकुलर क्यान्सरको लक्षणका रूपमा वा अन्य रोगको उपचारार्थ प्रयोग हुने औषधिको ‘साइड इफेक्ट’ले गर्दा पनि हुनसक्छ । गाइनेकोमास्टिया हुनुको पछाडि विविध कारण भएको हुनाले गाइनेकोमास्टियाका बिरामीहरूको व्यापक परीक्षण गर्न आवश्यक हुन्छ, जुन अत्यन्त नाजुक तरिकाले गरिएको हुनुपर्छ ।

गाइनेकोमास्टिया हुनुको पछाडिको आधारभूत कारणका आधारमा बिरामीको उपचार गरिन्छ । उदाहरणका लागि केही प्रकारका औषधिको प्रयोगबाट गाइनेकोमास्टियाका उत्पन्न होला, जसको ‘नियन्त्रण’ गरेमा राहत मिल्ला । प्राय: देखिने गाइनेकोमास्टिया प्युबर्टीका कारणले हुन्छ, जुन समयक्रमानुसार आफैं ठीक हुँदै जान्छ । यदि निरन्तर रूपमा हुने (पर्सिस्टेन्ट) गाइनेकोमास्टिया भएको खण्डमा बिरामीको आफ्नो शरीर बढ्ने अवधि समाप्त भएपछि शल्यक्रियात्मक उपचार गर्न सकिन्छ । यस्तो उपचारले बिरामीको मनोबल बढाउन मद्दत गर्छ ।

उपचारका अन्य विकल्पमा ‘एन्डोस्कोपिक ट्रान्सएक्सील्लरी लाइपोसक्सन’ र ‘सबक्युटेनियस मेस्टेक्टोमी’ हुन्छन् ।

दुई वर्षको अवधिसम्म पनि गाइनेकोमास्टिया आफैं ठीक भएन भने स्थायी उपचारका लागि शल्यक्रिया गर्न सकिन्छ, प्लास्टिक सर्जरी उपयुक्त हुन्छ ।

अवस्थानुसार ‘पेरीएरेओलर मेल ब्रेस्ट रिडक्सन’ पनि गर्नुपर्ने हुनसक्छ, जहाँ ‘निप्पल एरेओला कम्प्लेक्स’ क्षेत्र वरिपरि शल्यक्रिया गरिन्छ ।

अत्याधिक ठूलो छाती भएको अवस्थमा (सीडी) ‘क्लासिकल ब्रेस्ट रिडक्सनसँगै सुपिरियर वा इन्फिरियर फ्ल्याप्स’ गर्न सकिन्छ । वैकल्पिक शल्यक्रियामा ‘भर्टिकल इन्सिसन ब्रेस्ट रिडक्सन’ गर्न सकिन्छ, जसबाट छातीमा भर्टिकल आकारको दाग बस्छ ।

गाइनेकोमास्टियाका उपचारबाट हुने अन्य असरमा दाग बस्नु, शल्यक्रिया गरिएको भागतिर कम महसुस हुनु र शल्यक्रिया गरिने स्थानमा हुने डिप्रेसन ‘साइड इफेक्ट’मा पर्छन् । यद्यपि केही व्यक्तिमा शल्यक्रिया गरेपछि गाइनेकोमास्टियाका पुन: फर्किएको पनि भेटिएको छ ।

गाइनेकोमास्टियाका केही दु:खदायी अवस्थामा ‘एरोमटेस इन्हिबिटर’, ‘टेमोक्सिफेन’ र वृद्ध मानिसमा टेस्टोस्टेरोन प्रतिस्थापन पनि गरिन्छ । हालको अवस्थामा एरोमटेस इन्हिबिटर र टेमोक्सिफेन प्रयोग गर्नु भन्दा शल्यक्रिया गर्नु बढी प्रभावकारी मानिन्छ ।

गाइनेकोमास्टियाका अन्य प्रकार

– सुडो गाइनेकोमास्टिया

– ट्रु गाइनेकोमास्टिया (ब्रेस्ट टिसु)

– कम्बाइन्ड सुडो गाइनेकोमास्टिया (फ्याटी टिसु)

– सिभियर (गम्भीर) गाइनेकोमास्टिया अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: