Loktantra Khabar National Weekly
Ad

फान्स पोल्याण्डसँग बराबरीमा रोकियो

लोकतन्त्र खबर
१३ असार २०८१

युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १-१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ।

गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो। उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट पछि फर्किएका कप्तान केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

पोल्याण्डले ७९औं मिनेटमा बराबरी गर्यो। रोबर्ट लेवान्डोस्कीले पनि पेनाल्टी मार्फत नै गोल गरेका थिए। उनको पेनाल्टी फ्रेन्च गोलरक्षक माइक माइगननले बचाएपनि उनको खुट्टा पेनाल्टी प्रहार हुनुअघि गोललाईन भन्दा अघि आएका कारण लेवान्डोस्कीले पुनः पेनाल्टी प्रहार गर्न अवसर पाएका थिए।

फ्रान्सको बराबरी पछि सोही समयमा नेदरल्याण्ड्स माथि ३-२ को जित निकालेको अष्ट्रिया समूह विजेता बन्यो। ३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । आफ्नो अन्तिम खेलमा पोल्याण्ड सँग बराबरीमा रोकिएको फ्रान्सको ३ खेलमा ५ अंक रह्यो।

नेदरल्याण्ड्स भने ४ अंक सहित तेस्रो स्थानमा रह्यो। उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अन्तिम १६ मा पुग्ने नेदरल्याण्ड्सको सम्भावना बलियो छ। पोल्याण्ड १ अंक सहित समूहको पुछारमा रहँदै बाहिरिएको छ। फ्रान्स र नेदरल्याण्ड्स भन्दा अघि रहँदै अष्ट्रियाले युरो कप २०२४ समूह डि मा शीर्ष स्थान हासिल गरेको छ। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: