लोकतन्त्र समाचारदाता—
सर्लाही,असाढ १६
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सर्लाही जिल्लामा २०८० साल पुस १७ गतेदेखि २०८१ साल असार १३ गते सम्म( सन् २०२४ को जनवरी देखि जुनसम्म) संकलन गरिएका घटनाहरुको अर्धवार्षिक पुर्व समीक्षा गरिएको छ।
मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि संकलन गरिएका विवरणहरुको मलंगवा स्थित जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमको आयोजना गरि समीक्षा गरिएको हो ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि बुधन साहले जिल्लामा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाको बारेमा जानकारी गराएका थिए ।
इन्सेक जिल्ला प्रतिनिधि साहले जिल्लामा २०८० साल पुस मसान्तदेखि हालसम्म १६ वटा विभिन्न प्रकृतिका घटनाहरु संकलन गरिएको जानकारी गराए।
जस अनुसार राज्यबाट भएको एउटा घटनामा २० जनाको गिरफ्तारी भएको छ। त्यस्तै परिवारजन बाट हत्या २,अन्यबाट हत्या २,दुर्ववहार ३,बालिका सँग बलात्कार १३,महिलासँग बलात्कारको प्रयास १४,आगजनी ३,तोडफोड २,बहुविवाह ३,बोक्सी ४,झडप तथा कुटपिट ४,घरेलु हिंसा ४६,शिक्षकलाई कुटपिट २,जातीय विभेद २,जबर्जस्ती करणीमा अदालतबाट फैसला भएको ९ वटा र अदालतबाट फैसला भएको तर मुल्तवीमा राखेको ३ वटा घटनाहरु रहेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले मानवअधिकार संरक्षणको सवालमा सबैले चासो दिनुपर्ने बताएका थिए ।
इन्सेक प्रतिनिधि साहको अध्यक्षता तथा जिसस प्रमुख सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे,मलंगवा नगरपालिकाका उप नगरप्रमुख शकुन्तला देवी साह,नेपाल प्रहरीका प्रहरी निरिक्षक सरिता मचामसी,नागरिक समाजका शिवचन्द्र चौधरी ,दलित अधिकारकर्मी राजेश पासवान,अधिकारकर्मी सुन्दर श्याम राय,सहायक जिल्ला न्यायाधीश निकुञ्ज श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो।