Loktantra Khabar National Weekly
Ad

पर्यटन प्रवर्द्धनका लागि गुरूयोजना बनाउँदै मन्थली नगरपालिका

लोकतन्त्र खबर
२० असार २०८१

रामेछापको मन्थली नगरपालिकाले समग्र नगरभित्रका सम्भावित गन्तव्यहरूलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकारवालासँग छलफल सुरू गरेको छ।

यसै क्रममा नगरपालिकाले नगरको पर्यटन प्रवर्द्धनका लागि बृहत् योजना नै बनाएर अघि बढ्न सरोकारवालासहित काठमाडौंमा बृहत् अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दैछ।

असार २० गते पर्यटन बोर्डमा हुने कार्यक्रममा तीनै तहका सरकारसहित निजी क्षेत्रका व्यवसायी र सरोकारवाला समेतको उपस्थितिमा समग्र नगरको पर्यटन पवर्द्धनबारे छलफल हुने र उक्त छलफलका आधारमा समग्र नगरको पर्यटन गुरूयोजना बनाउने गरी नगरपालिका अघि बढ्ने नगरप्रमुख लब श्रेष्ठले जानकारी दिए।

अहिले मन्थली नगरपालिकाको केन्द्रमै पर्ने मन्थली विमानस्थलबाट पर्यटकीय सिजनमा सगरमाथा क्षेत्रको हवाइ उडान हुँदै आएको छ।

सिजनमा दैनिक दर्जनौ उडानमार्फत् पर्यटकहरू मन्थली विमानस्थल हुँदै लुक्ला जाने गरेका छन्। तर, मन्थलीमा स्तरीय होटल तथा अन्य पूर्वाधारको अभाव देखाउँदै कम्पनीहरूले पर्यटकलाई सिधैं काठमाडाैं ल्याउने गरेका छन्।

यसै क्रममा मन्थलीमा के कस्ता सुविधाहरू थप गर्दा पर्यटकलाई मन्थली र आसपासका क्षेत्रमा केही समय राख्न सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीहरू समेतको सहभागितामा बृहत् छलफल आयोजना गर्न लागेको हो।

‘मन्थली विमानस्थल अहिले पर्यटकीय सिजनमा निकै व्यस्त हुन्छ, दैनिक सयौँ पर्यटकहरू मन्थलीबाट लुक्ला र लुक्लाबाट मन्थली आवतजावत गर्छन्, तर मन्थलीमा घुम्ने र बस्ने क्रम शून्य छ,’ मेयर श्रेष्ठले भने, ‘यस विषयमा हामीले पर्यटन व्यवसायी उद्योग वाणिज्य संघका साथीसँग छलफल पनि गर्‍यौँ। यसबाट हामीले तीनै तहका सरकार, निजी क्षेत्र र सरोकारवाला सहितको एउटा बृहत् कार्यक्रम गर्ने निष्कर्ष निकाल्यौँ।’

नगरपालिकाले पर्यटन सम्बद्ध सबै निकाय र सरोकारवालालाई एकै ठाउँमा राखेर आयोजना गर्न लागेको यो नै पहिलो कार्यक्रम हो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, बागमती प्रदेशको पर्यटन मन्त्रालय, बागमती प्रदेशसभाको उद्योग तथा पर्यटन समिति, नागरिक उड्डययन प्राधिकरण, पर्यटन विभाग, पर्यटन बोर्डसहित निजी क्षेत्रका पर्यटन सम्बद्ध संगठनहरूको समेत सहभागिता हुनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: