Loktantra Khabar National Weekly
Ad

‘टाइटानिक’ र ‘अवतार’ फिल्म निर्माता लान्डाउको निधन

लोकतन्त्र खबर
२४ असार २०८१

काठमाडौं । ‘अवतार’का दुवै श्रृंखला र ‘टाइटानिक’ जस्ता विश्वचर्चित ब्लकबस्टर फिल्मका निर्माता जोन लान्डाउको निधन भएको छ । भेराइटीका अनुसार ओस्कार अवार्ड विजेता निर्माता लान्डाउको ६३ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो ।

निर्देशक जेम्स क्यामरुनसँग लामो समयदेखि फिल्म निर्माणमा साझेदार समेत रहेका लान्डाउले अहिलेसम्म विश्वमा धेरै कमाउने चार फिल्मको निर्माण गरेका छन् ।

उनले निर्माण गरेको पहिलो फिल्म ‘टाइटानिक’ले विश्व बक्स अफिसमा पहिलोपटक एक बिलियन डलर कमाउँदै इतिहास रचेको थियो । सन् २००९ को ‘अवतार’ र सन् २०२२ को ‘अवतार : द वे अफ वाटर’ले उनको अघिल्लो फिल्म ‘टाइटानिक’को व्यावसायिक कीर्तिमान तोडेका थिए ।

निधन हुनुअघि लान्डाउ ‘अवतार’का आगामी श्रृंखलाको निर्माणमा संलग्न थिए । निर्देशक क्यामरुनले आफ्नो यो ब्लकबस्टर साइन्स–फिक्सन श्रृंखलालाई पाँच भागमा रिलिज गर्दैछन् । सन् २०३१ सम्म यी सबै श्रृंखला रिलिज भइसक्ने अनुमान छ ।

२९ वर्षको उमेरमा लान्डाउले हलिउड स्टुडियो ट्वेन्टिथ सेन्चुरी फक्समा फिचर फिल्म निर्माणको कार्यकारी उपाध्यक्ष बने, जहाँ उनले ‘डाइ हार्ड २’, ‘पावर रेन्जर्स’, ‘द लास्ट अफ द मोहिकान्स’ र सन् १९९४ को ‘ट्रु लाइज’ को निर्माण जिम्मेवारी सम्हालेका थिए ।

फक्स स्टुडियो छाडेपछि निर्देशक क्यामरुनले लान्डाउलाई सन् १९९७ मा ‘टाइटानिक’को स्क्रिप्टमा सहकार्यको प्रस्ताव राखेका थिए । त्यतिबेला ‘टाइटानिक’ फिल्मको नाम प्लानेट आइस राखिएको थियो । त्यसयता जीवनभर लान्डाउ क्यामरुनको निर्माण कम्पनी लाइटस्टोर्म इन्टरटेनमेन्ट ब्यानरमा आबद्ध रहे ।

उनको जन्म ३० जुलाई १९६० मा न्युयोर्कमा भएको थियो ।  अनलाइन खबर

 

 

प्रतिक्रिया दिनुहोस्: