Loktantra Khabar National Weekly
Ad

अध्ययनका लागि क्यानडा जानुपूर्व के तयारी गर्ने ?

लोकतन्त्र खबर
२५ असार २०८१

काठमाडौँ । क्यानडा नेपाली विद्यार्थीहरूका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । पठनपाठनको हिसाबले नेपाली विद्यार्थीहरूले रोज्ने गन्तव्य भनेको क्यानडा हो । काम गर्नेभन्दा पनि विशुद्ध पढ्ने उद्देश्यले विदेश जान विद्यार्थीहरूले क्यानडालाई रोज्ने गरेका छन् ।

तर, क्यानडाले बेलाबेला लिने नीतिका कारण नेपाली विद्यार्थी मर्कामा पर्ने गरेका छन् । हाल क्यानडा र भारतबिचको द्वन्द्वका कारण नेपाली विद्यार्थीले सहज रूपमा पाउने भिसामा समेत प्रभाव पारिरहेको छ ।

क्यानडा जाने विद्यार्थीले क्यानडाबारे विस्तृत जानकारी नपाउँदा समेत समस्यामा पर्ने गरेका छन् । क्यानडा पुगेपछि विद्यार्थीहरू विभिन्न खालका समस्या भोग्न बाध्य हुने गरेका छन् । यस्तो अवस्थामा क्यानडा कसरी जाने ? क्यानडा जाँदाको प्रक्रिया के हुन्छ ? क्यानडा पुगेर के गर्ने ? कुन विश्वविद्यालय तथा कस्ता कलेजहरूमा पढ्ने लगायतका विषयमा बुझेरमात्रै जाँदा राम्रो हुन्छ ।

विगत लामो समयदेखि नेपाली विद्यार्थीलाई क्यानडा पठाउँदै आएको बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सीका प्रबन्ध निर्देशक तथा वरिष्ठ सल्लाहकार धिरज कँडेलसँग यस विषयमा रातोपाटीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंश :

यतिबेला क्यानडाको भिसा प्रक्रिया रोकिएको यसको कारण के हो ?

विगत चारपाँच महिनादेखि जुन रूपमा भिसा आउनुपर्ने हो, त्यो आइरहेको छैन । यसमा विशेषगरी क्यानडा र भारतबिच देखिएको टसलले भिसा प्रक्रिया ढिलाइ भइरहेको देखिन्छ । त्यसको असर नेपालमा पनि परेको छ । भारतमा क्यानडाको भिसा सेन्टरहरू चण्डिगढ, नयाँ दिल्ली र बैंलुरुमा छन् । तीमध्ये अहिले दिल्लीको मात्रै चलिरहेको छ । चण्डिगढ र बैंलुरुमा कर्मचारी कटौती गरेको छ । भिसा अफिसरहरू घटाएको छ । जसले गर्दा नेपालको भिसा प्रक्रियामा ढिलाइ भइरहेको छ ।

क्यानडा जाने नै हो भने जनवरी अथवा मे २०२५ का लागि खुला भइसकेका छन् ।

क्यानडाको भिसा अप्लाई भारतबाट हुने गरेको छ । जसले गर्दा अलि बढी समय लाग्ने गरेको छ । भिसा आउन समय लाग्ने भएकाले एप्लाई गर्ने कि नगर्ने भन्नेमा अन्यौल देखिन्छ । तर, क्यानडा सधैँ सस्टेनेबल बाटोमा जाने गरेको छ । त्यहाँ गइसकेपछि विद्यार्थीहरूलाई राम्रो होस्, जे उद्देश्यका लागि विदेशी विद्यार्थीहरू आएका हुन्छन्, त्यही अनुरूप होस् भन्ने चाहना क्यानडाको हुन्छ ।

क्यानडाले ल्याउने परिवर्तनहरू झट्ट हेर्दा हामीलाई जान दिएन भन्ने देखिए पनि यसले दीर्घकालीन रूपमा राम्रै गरेको छ ।

यस्तो अवस्थामा विद्यार्थीले क्यानडा एप्लाई गर्ने कि नगर्ने ?

अहिले अब सेप्टेम्बर इन्टेकको लागि त भ्याउने देखिएन । आगामी जनवरीको-२५ कोलागि ६ महिना जति समय छ । त्यो ६ महिनाको समयमा भिसा डिसिजन आइपुग्ने देखिन्छ । क्यानडा जाने नै हो भने जनवरी-२५ अथवा मे २०२५ का लागि प्रोग्रामहरु खुला भइसकेका छन् । भिसा आएन भनेर नेगेटिभ भएर बस्नुभन्दा भिसा आउँछ, त्यसको लागि केही समय लागे पनि पर्खिन तयार भएर अप्लाई गर्दा  राम्रो हुन्छ । त्यसका लागि आफ्नो तयारी गर्नुपर्‍यो ।

 क्यानडालाई राम्रो शैक्षिक गन्तव्यका रूपमा लिने गरिन्छ त्यसको पछाडिको कारण के होला ?

क्यानडा सामाजिक सुरक्षाको हिसाबले एकदमै राम्रो छ । एडभान्स सिटी तथा एडभान्स देश पनि भयो । अरु गन्तव्य मुलुकको तुलनामा ट्युशन शुल्क पनि कम भयो । २ वर्ष अध्ययन पुरा गर्‍यो भने तीन बर्षको वर्क परमिट पाइन्छ । त्यो तीन वर्षको अवधिमा पीआरको लागि एप्लाई गर्न पनि सकिने अवस्था छ । यस्ता मुख्य कारणले विद्यार्थीहरूको रोजाइमा क्यानाडा पर्छ ।

 क्यानडा जाने विद्यार्थीका लागि के कस्ता मापदण्ड तय गरिएको छ ?

क्यानडाले विभिन्न खालका मापदण्ड तय गरेको हुन्छ । भिसा अन्तर्वार्ता प्राय: हुँदैन । आईएलटीएसमा ओभरअल ६.५ तथा ६ प्रत्येक ब्याण्डमा आउनुपर्छ । पीटीई गर्‍यो भने प्रत्येक मोड्युलमा ६० हुनुपर्‍यो । टोफेल गरिन्छ भने औसतमा ८८ स्कोर हुनुपर्‍यो । हामी विद्यार्थीलाई एक वर्षको ट्युशन फि तिर्न भन्छौँ । एक वर्षको लिभिङ कस्ट २० हजार ६३५ डलर हुन आउँछ । त्यसको लागि पनि तयार हुनुपर्‍यो । यो क्यानेडियन सरकारले निर्धारण गरेको शुल्क हो ।

ट्राभलिङ गर्नका लागि, साथै अर्को वर्षको ट्युशन फिको लागि पनि आर्थिक तयारी गर्नु पर्यो । सबै हिसाब गरेर त्यति नै बराबरको आर्थिक ब्याकअप देखाउनुपर्छ । क्यानडामा केहि निश्चित प्रोग्राम पढ्न जाने विद्यार्थीले डिपेन्डेन्टलाई समेत सँगै लैजान पाउँछ । जसले गर्दा उनीहरूले काम गर्न पाउँछन् ।

एकेडेमिक हिसाबमा कम्तीमा कक्षा १२ पास गरेको हुनुपर्छ । कम्तिमा २.५ जीपीए अनिवार्य हुन्छ । मास्टर्सका लागि ३ जीपीए आवश्यक हुन्छ । तर जति सकियो हाई प्रोफाईल भयो भने भिसाको सम्भावना पनि बढी हुन्छ र क्यानडामा समेत राम्रोसँग सफल हुन सकिने भयो ।

धेरै विद्यार्थीहरूले जाने बित्तिकै पढाइमा भन्दा पनि काममा बढी फोकस गरेको देखिन्छ । यसले तत्कालका लागि राम्रो देखिएला । तर, भविष्यको लागि राम्रो हुँदैन । राम्रोसँग पढ्यौँ र नेटवर्क बनायौँ भने भविष्यमा राम्रो हुन्छ । पढ्नका लागि क्यानडा बेस्ट डेस्टिनेशन हो ।

क्यानडा गइसकेपछि कसरी सफल हुने ?

त्यसका लागि नेपालबाटै एक वर्षको शुल्क पठाउन सक्षम हुनुपर्‍यो । क्यानडाका शैक्षिक संस्थाकाबारेमा राम्रो जानकारी लिएका हुनुपर्यो । त्यस्तै लाग्ने खर्च कति छ ? ट्युशन शुल्क कति छ ? त्यहाँको वातावरण कस्तो छ ? काम पाउने सम्भावना आँफु जाने ठाउँमा कस्तो छ? जस्ता विषयमा जानकार हुनु पर्य।

। कलेज अथवा विश्वविद्यालयको लोकेशनबारेमा समेत जानकारी लिनुपर्‍यो ।

जाने बित्तिकै काम पाइन्छ भन्ने मनसायका साथ जानुभएन । पढ्नमा ध्यान केन्द्रित हुनुपर्‍यो । बसाइको खर्चका लागि स्पोन्सरहरूले नियमित दिन सक्ने हुनुपर्‍यो । खासमा त नेपालमा धेरै अवसर हुन्छन् । सकिन्छ भने यहीँ गर्नुपर्छ । होइन, म केही नयाँ गर्छु, अझै राम्रो गर्छु भन्ने सोच हो भने क्यानडा राम्रो हुन्छ । चुनौती थुप्रै छन् । त्यसका लागि तयार हुनुपर्छ ।

क्यानडाका शैक्षिक संस्थाहरू कस्ता हुन्छन् ?

त्यहाँ अधिकांश शैक्षिक संस्था पब्लिक नै हुन्छन् । त्यो भयो भने भोलि गएर कलेज तथा विश्वविद्यालय बन्द होला भन्ने डर हुँदैन । पूरै सुरक्षित हुन्छन् । चाहिने सबै सुविधा, ल्याब, फ्याकल्टी सबै राम्रो हुने भयो ।

कतिपय अवस्थामा प्राइभेट संस्थामा समेत जान सकियो । ती संस्थाको विश्वसनीयताबारे अध्ययन गर्नुपर्‍यो । जुन शैक्षिक संस्थामा पढ्न जाने हो, त्यो संस्था डीएलआई (Designated Learning Institutions) हो कि होइन भन्ने हेर्नुपर्‍यो । कलेज तथा युनिभर्सिटीलाई डीएलआई नम्बर दिइएको हुन्छ । यहाँ पढ्ने विद्यार्थीलाई पोष्ट ग्रेजुएशन वर्क परमिट (Post-Graduation Work Permit) को लागि सक्षम छ कि छैन भनेर भेरिफाइ गर्नुपर्‍यो । नेपालका कतिपय विद्यार्थीहरू डीएलआई नभएका शैक्षिक संस्थाहरूमा समेत एप्लाई गरेको देखिन्छ । त्यस्तो भयो भने पढ्न त पढ्ला तर, उसले वर्क परमिट पाउँदैन । त्यसपछि नेपाल फर्किनुपर्ने अवस्था हुन्छ ।

पब्लिक संस्थाहरूमा गयो भने क्यानडामा धेरै राम्रो हुन्छ । पब्लिक प्राइभेट पार्टनरशिप (पीपीपी) इन्स्टिट्युशनमा पढ्ने विद्यार्थीलाई क्यानडाले तीन वर्षे वर्क परमिट हटाएको छ । पब्लिक प्राइभेट पार्टनरशिप (पीपीपी) इन्स्टिट्युशन भनेको सिटीहरूमा रिजनल क्याम्पसहरूको पढाइ डेलिभर गर्ने भन्ने हो । मुख्य क्याम्पस टाढा हुन्छ । त्यो सिटी एरियामा सामान्य सुविधासहितको हुन्छन् । पाठ्यक्रम मुख्य क्याम्पसकै हुन्छ, तर, पढ्ने सिटी क्याम्पसमा हुन्छन् ।

यसले पढ्नको लागि सिटीमै जाने अथवा टोरोन्टो मै जाने भन्ने अवस्था रोक्न खोजेको हो । सानो कोठामा स्थापना भएका कलेजहरूमा जाँदा हामीले राम्रोसँग पढ्न पाउँदैनौँ । त्यसैले क्यानडाले विकेन्द्रिकरण गर्न यस्तो नीति ल्याएको हो । तर, सामान्य बुझाइमा वर्क परमिट हटायो भन्नेमात्रै बुझाइ भयो । यो हाम्रै फाइदाको लागि हो । विद्यार्थीहरूले क्यानडाको मौसमबारे पनि जानकार हुनुपर्छ ।

यी विषयमा विद्यार्थीले जानकारी नलिइ गयो भने त्यहाँ पुगेपछि कस्तो खालका समस्या भोग्नुपर्छ ?

यी विषयमा जानकारी नलिइ गयो भने पहिलो कुरा क्यानडाको विषयमा नराम्रो धारणा बनाउँछ । क्यानडा राम्रो छैन भनेर म्यासेज गर्ने भयो । क्यानडा ठुलो भूभाग भएको देश हो । त्यहाँ फरकफरक खालको मौसम छ । आफू कुन ठाउँमा जाँदैछु भनेर त्योबारेमा बुझेर गयो भने राम्रै हुने भयो । तर, नबुझेर गयो भने समस्यामा पर्छ ।

पछिल्लो समय टोरोन्टोमा जाने विद्यार्थीहरूले काम पाइएन, रूम पाइएन भन्ने छ । त्यो सत्य पनि हो । क्यानडा जाने विद्यार्थीमध्ये ६० प्रतिशत विद्यार्थी टोरन्टो जाने गरेका छन् । जसले गर्दा काम नपाउने, कोठा नपाउने समस्या हुनु स्वाभाविक हो ।

त्यही भएर क्यानडा सरकारले पनि यसलाई विकेन्द्रिकरण गर्न खोजिरहेको छ । क्यापिङको कुरा छ, अन्तर्राष्ट्रिय विद्यार्थीलाई लिमिट गर्ने काम गर्दै आएको छ । टोरोन्टो बाहेक अन्य सहरमा पनि जान सकिन्छ ।

क्यानडा गएका विद्यार्थीहरू पढाइसँगै काम पनि गर्ने उद्देश्यले जान्छन् त्यहाँ जाँदा कस्तो खालको काम पाइन्छ ? के के काम गर्न पाइन्छ ?

आगामी सेप्टेम्बर २०२४ बाट हप्तामा २४ घण्टा काम गर्न पाउने भन्ने हुन्छ । हाल हप्तामा २० घण्टा गर्न पाउने भन्ने छ । प्लस टु पास गरेर गएका विद्यार्थीको हातमा खासै सिप हुने कुरा भएन । नेपालबाट जे विषय पढेर गए पनि उनीहरूमा सिप हुँदैन । त्यसैले त्यस्ता विद्यार्थीहरूले रेष्टुरेन्टमा, सुपरमार्केट, वायरहाउसमा काम गरिरहेको देखिन्छ । कतिपय विद्यार्थीहरू डेलिभरी पनि गरिरहेका हुन्छन् । कतिले साइकलमा डेलिभरी गर्ने गरेका छन् ।

ब्याचलर पूरा गरेकाले अलि राम्रो काम पाइरहेका छन् । अफिसमा म्यानेजमेन्टतिर समेत काम पाइरहेको देखिन्छ । आईटीमा समेत काम पाइरहेको देखिन्छ । जाँदाजाँदै पाउने भनेको मेनुअल (सर्भाइवल) जब नै हो ।

काम पहिलो प्राथमिकता होइन । तर, बराबर प्राथमिकताचाहिँ हो । काम गरेन भने कामप्रतिको सम्मान थाहा हुँदैन । क्यानाडाको कल्चर के हो, त्यो पनि थाहा हुँदैन । त्यसैले पहिलो प्राथमिकता पढाइ नै हुनुपर्छ । प्रायः २/३ महिनामा काम पाइरहेको देखिन्छ ।

टोरोन्टोमा काम पाउन गाह्रो हुन्छ । तर, त्यो अत्यन्तै बढी सम्भावना भएको क्षेत्र हो । कामै नगरी पढ्नमात्रै हो भने टोरोन्टो राम्रो सम्भावना हो ।

बाहिर जाने विद्यार्थीको आत्महत्या गर्ने क्रम बढ्दो त्यस्तै मानसिक समस्यामा पर्ने गरेका देखिन्छन् यसको कारण के हो ?

यो समस्या बढ्दो क्रममा छ । कतिपय अवस्थामा यहीँबाटै कुलतमा फसेर गएका हुन्छन् । गाँजा खाने गरेका हुन्छन् । क्यानडामा गाँजा लिगल नै हुन्छ । जसले गर्दा क्यानडामा उनीहरूलाई सहज पहुँच हुने भयो । यहाँ लुकेर खानुपर्ने थियो भने त्यहाँ सहजै पाउने भयो ।

अर्को कुरा, भौगोलिक रूपमा पनि निकै टाढा भयो । नयाँ ठाउँ, परिवेश हुने भयो । त्यहाँ फरक कल्चर हुनाले पनि समस्या हुने भयो । वातावरणीय प्रभाव पनि पर्ने भयो । परिवारले पैसा कमाओस भन्ने चाहना राखेको हुन्छ, जुन त्यहाँ जादा बित्तिकै सम्भव नहुन सक्छ।  यस्ता कुराहरुले गर्दा उनीहरुलाई मानसिक बिचलन पर्न सक्छ।

यसका लागि नेपालबाट राम्रो काउन्सिलिङ गर्नु पर्यो, जानुभन्दा पहिला नै आँफु बस्ने कोठामा व्यवस्था भयो र नेपालीहरूको सम्पर्कमा रहनुभयो भने सहज हुन्छ । तर कतिपय विद्यार्थीमा क्यानडा पुगेपछि मेरो लाइफ नै म्याजिकल हुन्छ भन्ने सोच हुन्छ । भिसा लागिसकेपछि विद्यार्थीमा झन् बढी काउन्सिलिङ चाहिएको हुन्छ । त्यसका लागि झन् बढी जान्नुपर्ने हुन्छ । तर, विद्यार्थीहरू भिसा लागिसकेपछि सम्पर्कविहीन हुन्छन् । जसले गर्दा थप समस्यामा पर्ने गरेका छन् । धेरै महत्वाकांक्षी भएर जानु भएन।

क्यानडा गएपछि पढाइसँगै काम गर्नुपर्छ भन्ने प्रेसर हुन्छ । जसले गर्दा उनीहरू प्रेसरमा पर्छन् । कतिपय अवस्थामा नेपाली अभिभावकहरूले छोराछोरीलाई किन पठाएको भन्नेबारे बुझेका हुँदैनन् । क्यानडा पुगेको दोस्रो दिनदेखि नै काम पाइनस् ? पैसा कहिले पठाउँछन् ? जस्ता कुरा गरेर प्रेसरमा पार्र्ने  गरेका छन् । पढाइको लागि गएको हो भनेर बुझ्नुभन्दा कमाउनको लागि गएको हो भन्ने बुझ्दा समस्या पर्ने गरेको छ ।

तर, अभिभावकहरूले तिम्रो काम भनेको पढाइ हो, पढाइ गर, त्यो बिचमा काम पाए पनि नपाए पनि टेन्सन नलेऊ भन्नुपर्छ । त्यस्तो भन्न सकियो भने उसलाई कामभन्दा पनि पढाइतिर बढी फोकस हुन मद्दत मिल्छ ।

धेरै प्रेसर सहन गर्न नसक्दा एन्जाईटीको सिकार बन्ने, डिप्रेशनमा जानेजस्ता समस्या हुन्छन् । त्यसका लागि अभिभावकहरूले समेत क्यानडामा मेरो बच्चाले पढ्दा लाग्ने खर्च कति हो ? यदि काम पायो भने ठिकै छ, पाइएन भने नेपालबाट पठाउनुपर्ने पैसा कति हो, त्यो विषयमा जानकार हुनुपर्छ ।

कन्सल्टेन्सीहरूलाई नेपालबाट मान्छे पठाउनेमात्रै काम गर्छन् भन्ने आरोप लाग्ने गरेको के तपाईंहरूले मान्छेमात्रै पठाउने हो ?

पक्कै पनि हामीले विदेशमा पढ्नको लागि विद्यार्थी पठाउन सहजीकरण गरिदिने हो । हामीले विद्यार्थी पठाइरहँदा विद्यार्थीले तिर्ने शुल्क बाहिरियो भन्ने देखिन्छ । तर, त्यो पैसा पछि गएर नेपाल पठाएकै देखिन्छ । त्यसैले नेपालबाट पैसा बाहिरियो मात्रै भन्न मिल्दैन ।

ग्लोबलाइजेशनको क्रममा हामीले पनि एक्सपोज हुनुपर्छ । नेपालीहरूले बाहिर गएर नयाँनयाँ कुरा सिक्ने मौका पाइरहेका छन्, जुन राम्रो पक्ष हो । विदेशमा गएर पैसा कमाएर नेपाल पनि पठाउने गर्छन् । त्यहाँ गएर पढेर सिप तथा ज्ञान पनि सिकेर आउँछ । जुन पछि नेपाल आएर राम्रो सक्षम नागरिक बन्न सफल हुन्छन् ।जहाँ राम्रो हुन्छ, त्यसको लागि अगाडि बढ्ने हो । यो बाहिर विद्यार्थी पठायो भन्ने सर्टटर्म सोचमात्र हो । बिदेशमा गएर सिक्ने सिप-ज्ञानलाई पैसा संग मात्र तुलना गर्नु भएन।

 वैदेशिक रोजगारीमा जानेहरू सीमित समयमा नेपाल फर्किन्छन् सँगसँगै व्यक्ति पनि केही केही सिप सिकेर आउने गरेको तर, विद्यार्थीको हकमा एकातिर पैसा पनि बाहिरिन्छ भने अर्कोतिर विदेशमा पढिसकेपछि विद्यार्थीहरू उतै पलायन हुने क्रम पनि बढ्दो यसलाई रोक्न के गर्ने ?

विद्यार्थीलाई नेपालमा बस्ने तथा पढ्ने वातावरण त बनाउनुपर्‍यो । त्यस्तै पैसा बाहिरियो भन्नेमात्रै गरिन्छ । आएको रकम कहीँ कतै उल्लेख भएको देखिँदैन । त्यो आएको पनि हुन्छ । तर, त्यसको विषय कतै उल्लेख हुँदैन ।

बाहिर गएर उतै कमाउन सकिने, गाडी किन्न सकिने, घर किन्न सकिने वातावरण छ । तर, त्यो वातावरण नेपालमा छैन । त्यस्तो गर्न सकियो भने पक्कै पनि सुधार हुनसक्छ । विदेशमा पढेर नेपाल फर्किरहेका पनि छन् । फर्किदै नफर्किएको भन्ने होइन । विदेशमा कसैले राम्रो अवसर पाउँछन् भने त्यो त राम्रै हो ।

विदेशमा पाउने सेवा सुविधा नेपालमा नपाउँदा विद्यार्थीहरू नेपाल फर्किने अवस्था हुँदैन ।

कन्सल्टेन्सीहरूमाथि यूरोप लगायतका देशमा मान्छे पठाउँदै ठग्दै आएको आरोप पनि त्यस्तै डिपेन्डेन्टको नाममा लाखौँ पैसा लिने गरेको आरोप लाग्ने गरेको छ ? किन यस्तो हुँदैछ ?

पक्कै पनि समस्या देखिएको छ । यसमा सरकारले अनुगमन गर्नुपर्‍यो । नियमन गर्नुपर्‍यो । त्यस्तामाथि कारबाही गर्नुपर्‍यो । त्यस्तो गर्न सकियो भनेमात्रै यस्ता विकृति कम हुन्छन् । हामीले डिपेडेन्टको नाममा एक पैसा पनि लिएका हुँदैनौँ । हामीले विशुद्ध रूपमा पढाईका लागिमात्रै पठाउने गरेका छौँ । यदि कोही स्टुडेन्टले आफ्नो  डिपेन्डेन्टलाई  रूपमा जान चाहन्छ भने सहजीकरण गरिदिन्छौं ।

 जसरी नेपाली विद्यार्थीहरू बाहिर पठाउने गरेका छौँ, त्यसैगरी विदेशी विद्यार्थीहरू नेपाल ल्याउने काम पनि गर्न सकिन्थ्यो होला नि ?

नेपालमा विद्यार्थी भिसा भनेर प्रोभिजन नै देखिँदैन । सरकारले सबैभन्दा पहिला त्यो व्यवस्था गर्नुपर्छ । नेपालमा मेडिकल, माउन्टेनेरिङ लगायतका विषयमा राम्रो अवसर छन् । त्यसका लागि नेपालका विश्वविद्यालय तथा कलेजहरूले हामीलाई अप्रोच गर्नुपर्‍यो । हामी त हाम्रो देशमा विदेशी विद्यार्थी ल्याउँदा पाउँदा निकै खुसी हुन्छौँ । त्यसका लागि हामी तयार छौँ । तर, राज्यले नीति नियम सहज बनाउनुपर्छ भने कलेज तथा विश्वविद्यालयहरूले समेत त्यसको लागि वातावरण बनाउनुपर्छ । त्यति गरिदियो भने हामी जसरी नेपाली विद्यार्थी बाहिर पठाउन सहजीकरण गर्दै आएका छौँ, त्यसरी नै विदेशी विद्यार्थी समेत नेपाल ल्याउन सक्छौँ । रातोपाटी संवाददाता

 

 

 

प्रतिक्रिया दिनुहोस्: