Loktantra Khabar National Weekly
Ad

विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस प्रदेश सरकार

लोकतन्त्र खबर
२५ असार २०८१

काठमाडौँ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ ।

मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको मत दिने र त्यस लगत्तै सरकारमा गठबन्धनका दल कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सरकारमा सहभागी गराउने सहमति भएको थियो ।

कांग्रेसलाई अर्थसहित चार मन्त्रालय र गृह तथा सञ्चारसहित लोसपालाई दुई मन्त्रालय दिने आन्तरिक सहमति भएको थियो । तर विश्वासको मत लिएपछि जनमत पार्टीका मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको असन्तुष्टि जनाउँदै कांग्रेस र लोसपा सरकारमा सहभागी भएको छैन ।

कांग्रेसले जनमत पार्टीलाई सहमतिअनुसार विश्वास गरेर विश्वासको मत दिए पनि जनमत पार्टीले धोखाधडी गरी विश्वासको वातावरण कायम राख्न नसकेको आरोप कांग्रेस र लोसपा सांसदहरूको छ ।

सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी अघि बढाइसकेको छ । सो तयारी स्वरूप आज बिहान जसपा नेपाल, एमाले र लोसपाको संसदीय दलसँग छुट्टाछुट्टै रुपमा छलफल समेत गरेका छन् ।

पार्टी श्रोतकाअनुसार छलफलमा जसपा, एमाले र लोसपाले कांग्रेस नेतृत्वलाई स्वीकार गर्दै अघि बढ्न सुझाव दिएको छ । मन्त्रालय बाँडफाँडमा जनमत केन्द्रीय नेतृत्वको प्रदेशमा हस्तक्षेपका कारण सहमतिको वातावरण बिग्रिन गएको कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्ण यादवले बताए ।

कांग्रेस पार्टी श्रोतकाअनुसार विश्वासको मत लिनुअघि एमालेको मन्त्रालय यथावत् रहने गरी माओवादी र नेकपा एसले सम्हाल्दै आएको अर्थ मन्त्रालय, ऊर्जा, सिँचाई तथा खानेपानी, उद्योग वाणिज्य तथा पर्यटन र भूमि व्यवस्था, कृषि तथा सहकारीसहितका ४ मन्त्रालय र लोसपालाई एक मन्त्री र एक राज्यमन्त्री दिने आन्तरिक सहमति भएको थियो ।

विश्वासको मतपछि मन्त्रालय बाँडफाँडका लागि शनिबार बेलुकादेखि आइतबार बेलुकासम्म पटक–पटक बैठक बस्यो । कांग्रेसले आफूले पाउने मन्त्रालयमा अडानमा रह्यो भने लोसपाले दुई वटा मन्त्रालय पाउने अडानमा राखेका थियो ।

आइतबार दिनभरको समर्थनपछि साँझ मन्त्रालय बाँडफाँडको कांग्रेससँग सहमति भई लिखित सम्झौता भइरहेको क्रममा मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय आफूले नै राख्ने माथिबाट निर्देशन आएको भनेपछि सहमतिको वातावरण बिग्रिन गएको कांग्रेस संसदीय दलका नेता यादवले बताए ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रक्रिया थालेको हो ? भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा उनले सबै दलले आफ्नै नेतृत्व स्वीकार गरिसकेको बताए । सहमतिअनुसार नभए नयाँ सरकारको पहल थाल्ने उनको भनाई थियो । गोलखबर

 

प्रतिक्रिया दिनुहोस्: