Loktantra Khabar National Weekly
Ad

कोपा अमेरिकाबाट बाहिरियो ब्राजिल

लोकतन्त्र खबर
२५ असार २०८१

सर्वाधिक विजेता ब्राजिल आइतबार उरुग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । साबिक विजेता अर्जेन्टिना, उरुग्वे, क्यानडा र कोलम्बिया सेमिफाइनलमा पुगेका छन् । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडाको सामना गर्नेछ । उरुग्वे र कोलम्बियाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

अर्जेन्टिना
साबिक विजेता अर्जेन्टिनाले यसपटक राम्रो प्रदर्शन गरेको छ । यद्यपि, सेमिफाइनल स्थान बनाउन अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा हरायो । कप्तान लियोनल मेसीले इक्वेडरविरुद्ध असफल पेनाल्टी प्रहार गरेका थिए । तर, गोलरक्षक इमिलियानो मार्टिनेजले दुई पेनाल्टी छेक्दै अर्जेन्टिनालाई लगातार तेस्रोपटक सेमिफाइनलमा पु¥याए । अर्जेन्टिनाको अन्तिम चार यात्रामा गोलरक्षक इमिलियानो, मेसीसँगै लौटारो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

उरुग्वे
दक्षिण अमेरिकी फुटबलमा उरुग्वे र ब्राजिलबीचको खेल रोमाञ्चक मानिन्छ । कोपा अमेरिकामा उरुग्वेले ब्राजिललाई अहिलेसम्म नौपटक निराश बनाएको छ । उरुग्वे १६औँपटक च्याम्पियन हुने योजनामा छ । उरुग्वले समूह चरणदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । उरुग्वे समूह चरणमा पानामा, अमेरिका र बोलिभियालाई हराएको थियो । अनुभवी खेलाडी लुइस सुआरेज बेन्चमा रहँदा उरुग्वेले युवा खेलाडी डार्विन नुनेज, म्याक्सिमिलियानो अरौजोबाट राम्रो साथ पाएको छ ।

कोलम्बिया
जेम्स रोड्रिग्वेजको प्रेरणामा कोलम्बिया यसपालि लयमा छ । कोलम्बियाचले क्वार्टरफाइनलमा पानामालाई ५–० ले हराउँदै सेमिफाइनल स्थान बनाएको हो । कोलम्बियाले समूह ‘डी’मा तीनमध्ये दुई खेल जित्दै विजेता बन्यो । समूह उपविजेता बनेको ब्राजिलसँग कोलम्बिया गोलरहितमा रोकियो । कोलम्बियाका लागि रोड्रिग्वेज लुइस डिआज, डानियल मुनोज र जोन कोर्डाेबाबीच तालमेल मिलेको छ । प्रशिक्षक नेस्टोर लोरेन्जो टोलीलाई उपाधि जिताउने योजनामा छन् ।

 क्यानडा
कोपा अमेरिकामा क्यानडाको यो पहिलोपटक सेमिफानल हो । अप्रत्याशित नतिजा निकालेको क्यानडाले फाइनल प्रवेशका लागि साबिक विजेता अर्जेन्टिनाको सामना गर्नेछ । यी दुवै टोलीले समूह ‘ए’सँग प्रतिस्पर्धा गरेका थिए । जसमा अर्जेन्टिना २–० ले विजयी भयो ।  नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्: