Loktantra Khabar National Weekly
Ad

लुटेरासँग एसएलआर हतियार, ३ जना पक्राउ

लोकतन्त्र खबर
२५ असार २०८१

मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ  । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो ।

प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको थियो । लुटेरा समूहले गाउँका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको स्थानीयहरूले जाहेरी दिएका थिए ।

घटना भएको झन्डै एक महिनापछि लुटपाटमा संलग्न आठ जनाको टिम मध्ये प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक थापाको भनाई छ ।

प्रहरीले उनीहरूको साथमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्यागेजिन, २५ राउन्ड गोली, ३ थान वकीटकी, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याट ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल पनि बरामद गरेको छ । रातोपाटी संवाददाता

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: