Loktantra Khabar National Weekly
Ad

स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम

लोकतन्त्र खबर
२५ असार २०८१

बाँके ।  स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ ।  प्रभावकारी  स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२  जिल्लाका २४ जना अस्पतालका चिकित्सक,  नर्स, स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरेको हो ।

नेपालगञ्जमा हालै आयोजित आयोजित तालिममा अस्पतालमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, बिरामी आउने बित्तिकै रोग तथा समस्याको पहिचान तथा निदान कसरी गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने बिरामीको पहिलो उपचार कसरी गर्ने र आकस्मिक एकाइको व्यवस्थापनलगायतका बारेमा क्षमता अभिवृद्धि गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

उनका अनुसार यस क्षेत्रमा रहेका अस्पतालमा सबभन्दा पहिले आकस्मिक सेवामा आउने बिरामीको निदान तथा उपचार विधि र हेरचाह गर्नेबारेमा त्यहाँ रहेका चिकित्सक र स्वास्थ्यकर्मीको भूमिकालाई प्रभावकारी बनाउन तालिम दिइएको हो । अस्पताल तथा स्वास्थ्य संस्थाका आकस्मिक कक्षमा आउने  जटिल समस्याका बिरामीको मृत्युदर उच्च रहेको बताइएको छ ।

“बिरामीको रोगको निदान तथा समयमा उपचार नपाएर मृत्यु हुने समस्यालाई अन्त्य गर्न जनशक्तिलाई दक्ष बनाइएको छ”, उनले भने, “यो तालिमपश्चात् जनशक्तिले अस्पतालमा गएर आफ्नो व्यवहारमा परिवर्तन ल्याउने छन् भने अन्य स्वास्थ्यकर्मीलाई पनि सिकाइ हुनेछ ।”

मन्त्रालयले विगत तीन वर्षदेखि यो तालिम प्रदान गर्दै आएको छ । अहिलेसम्म आठ सय ११ जनालाई तालिम प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ । तालिमपश्चात् आफ्नो अनुभव सुनाउँदै डोल्पा अस्पतालका डा आकर्षण तिमिल्सिनाले   आकस्मिक आधारभूत स्वास्थ्य सेवा व्यवस्थापनमा ज्ञानको दायरा बढाएको जानकारी दिए । उनले भने, “प्रभावकारी  स्वास्थ्य सेवा व्यवस्थापन गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन समय समय तालिम सञ्चालन गर्दै जानुपर्छ ।”तालिममा सिकेका कुरालाई अस्पतालका अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि सिकाउँदै आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता उनले जनाए ।

तालिमको समापन समारोहमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका खगेन्द्र पङ्गेनी, भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझी, प्रशिक्षक डा अरविन्द शाक्यलगायतले स्वास्थ्य संस्थामा बिरामी आउनसाथ  प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र  उनीहरूको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरे । उनीहरूले बिरामीको रोगको निदानको अभाव हुन नदिन र समयमै  उपचार प्रदान गर्नुपर्ने बताए ।  तालिमको यो ११औँ ‘ब्याच’मा २४ जनालाई तालिम प्रदान गरिएको हो । तालिमका लागि विश्व स्वास्थ्य संगठन, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग  (यूएसएआईडी) लगायतको आर्थिक एवं प्राविधिक सहयोग गरेका थिए  ।  रासस

 

 

 

प्रतिक्रिया दिनुहोस्: