Loktantra Khabar National Weekly
Ad

किसानलाई हल गोरु वितरण

लोकतन्त्र खबर
२५ असार २०८१

भोजपुर ।  भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।

पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उनको भनाइ छ  ।

“हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरू समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरूलाई केही राहत पुग्नेछ ।”

किसानलाई ५० प्रतिशत अनुदानमा गोरु वितरण गरिने प्रशासकीय अधिकृत निरौलाले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै उनीहरूलाई आयआर्जनसँग जोड्न गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ छ । पछिल्लो समय किसानमा गोरु पाल्ने चलन हराउँदै गएकाले यसको निरन्तरताको लागिसमेत यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताए ।

“पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन पनि हराउँदै गएको अवस्था छ”, उहाँले भने, “गोरु पाल्दा किसानलाई धेरै फाइदा छ । गोरु पाल्दा खेतबारी जोत्नसँगै मलमूत्र पनि काम लाग्छ ।” गाउँपालिकाले किसानलाई प्राथमिकता राख्दै यहाँको दिगो विकासमा जोड दिँदै आएको उनको भनाइ छ ।

किसानलाई कृषिमा लाग्न थप हौसला दिनको लागि योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । किसानलाई आयआर्जनमा जोड्न एक घर एक करेसाबारी, नर्सरी स्थापना, मौरीपालन, प्लास्टिक पोखरी निर्माण कार्यक्रम, सुन्तला खेती विस्तारलगायत कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । त्यस्तै उत्कृष्ट किसान सम्मान कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

“गाउँपालिकाका किसानको जीवनस्तर सुधारको लागि कृषिको योजनाबद्ध विकासमा जोड दिएका छौँ”, अध्यक्ष राईले भने, “किसानलाई लक्षित गरेर हल गोरु वितरणको कार्यक्रम अघि सारेका छौँ । यसले पनि किसानलाई थप सहयोग पुग्ने छ ।”  किसानलाई लक्षित गरेर उन्नत जातको भैँसी वितरण, गोठ सुधारलगायतको कार्यक्रम पनि सञ्चालन भइरहेको उनको भनाइ छ । समथर भू–भागका किसानलाई ध्यानमा राख्दै हाते ट्र्याक्टरलगायतका आधुनिक उपकरणसमेत वितरण भइरहेको अध्यक्ष राईले जानकारी दिए ।  रासस

प्रतिक्रिया दिनुहोस्: