Loktantra Khabar National Weekly
Ad

महोत्तरीमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो डाँका आरोपी

लोकतन्त्र खबर
३२ असार २०८१

जनकपुरधाम  असार ३१, चोरी डकैतीलगायत अपराधका घटनाहरुमा संलग्न रहेका एक जना व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका-२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवनलाई प्रहरीले घुँडामुनि गोली हानेर पक्रराउ गरेको हो ।

उनलाई खोजतलासको क्रममा आइतबार राति साढे १० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका-५ खैरवनीस्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलालप्रसाद जयसवारले जानकारी दिए ।

डीएसपी जयसवारका अनुसार खोजीको क्रममा फेला परेपछि उनलाई पक्राउ गर्न खोजिएको थियो । तर, उनी भाग्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रण लिएको डिएसपी जयसवारले बताए ।

गोली लागेर घाते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीलगायत सीमा पारी भारतमा पनि पटक-पटक डकैतीमा संलग्न भएको पाइएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: