Loktantra Khabar National Weekly
Ad

पृथ्वीमा छन् मंगल ग्रहका ३८५ चट्टान, रातो ग्रहबारे के पत्ता लाग्यो ?

लोकतन्त्र खबर
३ श्रावण २०८१

मंगल ग्रहबाट प्राप्त उल्कापिण्डहरुको माध्यमबाट वैज्ञानिकहरूलाई यो रातो ग्रहको आन्तरिक संरचनाको बारेमा बुझ्नका लागि मद्दत मिलेको छ ।

हलसम्म थाहा भएका ७४ हजारभन्दा धेरै उल्कापिण्डमध्ये केवल ३८५ वटा अर्थात् त्यत्तिकै संख्यामा चट्टानहरू मंगल ग्रहबाट पृथ्वीमा आएका थिए । उल्कापिण्ड भनेका ती चट्टान हुन् जो क्षुद्रग्रह तथा ग्रहहरू आपसमा ठक्कर खाँदा पृथ्वीमा खस्दछन् । ती उल्कापिण्डहरू मंगल ग्रहबाट पृथ्वीमा आएका हुन् भन्ने कुरा पत्ता लगाउन वैज्ञानिकहरूलाई खासै गाह्रो छैन । किनकि विभिन्न ल्याण्डर तथा रोबरहरू दशकौंदेखि मंगल ग्रहको सतहमा अन्वेषणका लागि जुटिरहेका छन् ।

भाइकिंग ल्याण्डर्स जस्ता कतिपय प्रारम्भिक मिसनमा मंगल ग्रहको वायुमण्डलको संरचनाका सम्बन्धमा तथ्य पत्ता लगाउनका लागि उपकरणहरू जडान गरिएका थिए ।

वैज्ञानिकहरूका अनुसार कतिपय उल्कापिण्डमा मंगल ग्रहको वायुमण्डलको अनौठो संरचनाको प्रतिबिम्ब देख्न सकिन्छ । मंगल ग्रहमा अक्सिजन पनि अनौठो हुन्छ । मंगल ग्रहको संरचना एक भू-रासायनिक फिंगरप्रिन्ट जस्तै हुन्छ ।

उल्कापिण्डले बताउँछन् मंगल ग्रहको कहानी

पृथ्वीमा फेला परेका मंगल ग्रहका उल्कापिण्डले यो रातो ग्रहको बनावट तथा ज्वालामुखी गतिविधिको इतिहासका बारेमा संकेत दिन्छन् । यसले १४ करोड माइल टाढा अन्तरिक्षमा अन्तरिक्षयान नपठाइकनै मंगल ग्रहको अध्ययन गर्ने अवसर प्रदान गर्दछ ।

मंगल ग्रहका उल्कापिण्ड कुनैबेला उक्त ग्रहभित्र रहेको रातो तथा तातो लाभाबाट बनेका हुन् । जब ज्वालामुखी चट्टान चिसो भएर ठोस भए त्यसमा रहेका रेडियोधर्मी तत्व क्षयीकरण हुन थाले, जसले रेडियोमेट्रिक घडीले जस्तै काम गर्दछ । यसबाट वैज्ञानिकले सो ग्रहको निर्माण कहिले भएको हो भन्ने कुरा पनि पत्ता लगाउन सक्दछन् ।

अध्ययनको क्रममा वैज्ञानिकहरुले मंगल ग्रहका कतिपय उल्कापिण्डहरु साडे १७ करोड वर्षभन्दा पनि कम पूराना भएको पुष्टि गरेका छन् । यो भनेको भूगर्भीय दृष्टिले निकै नयाँ हो । यसको विपरीत मंगल ग्रहका कतिपय उल्कापिण्ड पुराना छन् र मंगल ग्रहको उत्पत्तिकै बेला बनेका थिए । त्यसैले मंगल ग्रहका ती उल्कापिण्डले एउटा यस्तो ग्रहका बारेमा बताउँछन् जुन आफ्नो पूरै इतिहासमा ज्वालामुखीय रुपमा सक्रिय रहेको छ ।

वास्तवमा मंगल ग्रहमा आज पनि ज्वालामुखी विस्फोट हुने सम्भावना छ । यद्यपि हालसम्म मंगल ग्रहमा यस्तो ज्वालामुखी विस्फोटको दृश्य रेकर्ड गर्नभने सकिएको छैन।

कसरी बन्यो मंगल ग्रह ?

उल्कापिण्ड अर्थात् ती चट्टानहरुले स्वयंममा पनि रासायनिक जानकारीहरू संरक्षित राख्ने गर्दछन् । जसले यो संकेत गर्दछन् कि मंगल ग्रहमा कतिपय प्रमुख घटनाहरु उसको इतिहासको सुरुआतमा घटित भएको हो ।

मंगल ग्रहको निर्माण साढे चार अर्ब वर्षअघि ग्यास तथा धुलोका कारण निकै तीव्र गतिमा बनेको थियो, जसबाट प्रारम्भिक सौर्यमण्डल बनेको थियो । ग्रहको निर्माण भएको केही समयपछि नै उसको आन्तरिक भाग धातुयुक्त कोर र एउटा ठोस चट्टानी आवरणमा विभक्त भयो । त्यसयता मंगल ग्रहको आन्तरिक भागमा निकै कम मात्रै परिवर्तन भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: