Loktantra Khabar National Weekly
Ad

कोशीका मुख्यमन्त्रीले चाहेसम्म सहकार्य गर्न प्रचण्डकाे सुझाव

लोकतन्त्र खबर
३ श्रावण २०८१

विराटनगर । निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच भेटवार्ता भएको छ । काठमाडौँस्थित खुमलटारमा रहेको प्रचण्ड निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको नेता आङ्बोले जानकारी दिए ।

सो क्रममा आफूले कोशी प्रदेशको राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेको र अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे आफूलाई प्रस्ट पारेको आङ्बोले जानकारी दिए ।

‘मैले समग्र प्रदेशको रिपोर्टिङ गरें,’ उनले भने, ‘अध्यक्षज्यूले सरकार ढल्ने कारण बताउनुभयो ।’ भेटमा प्रचण्डले दलाल पुँजीपति र बिचौलियाले सरकार बदलेको र उनीहरू निक्कै शक्तिशाली रहेको बताएका थिए । ‘यस्तै सुशासन आतङ्क पनि सरकार फेरबदलको अर्को कारण हो । बेचन झा पक्राउ पछिल्लो निर्णायक कारण बन्यो । धितोपत्र बोर्डको अध्यक्ष चयन प्रकरणले बिचौलियाहरू एक ठाउँमा आए,’ प्रचण्डको भनाइ उद्धृत गर्दै आङ्बोले भने ।

भेटको अवसरमा कोशी सरकारबारे मुख्यमन्त्रीले चाहेसम्म सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालिएको आङ्बोले बताए ।

‘उहाँको (अध्यक्षको) र प्रदेश पार्टीसँगको छलफल पछि नै अहिलेसम्म हामी सरकारमा बसेका हौँ,’ आङ्बोले भने, ‘हामीले मुख्यमन्त्रीसँग सहमति गरेर यो सरकार बनाएको हो उहाँले चाहेसम्म हाम्रो सहकार्य र साथ रहन्छ । अरू कसैको व्यक्तिगत आग्रह र चाहनामा हामी बहकिँदैनौँ ।’रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: