Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा दलित समुदायका विद्यार्थीहरुको लागि संचालित नेपाल छात्रवृत्ति कार्यक्रम प्रभावकारी भएको शैक्षिक सरोकारवालाहरुको ठहर

लोकतन्त्र खबर
६ श्रावण २०८१

मनोज यादव— सर्लाही,साउन ६

सर्लाहीमा दलित समुदायका बालबालिकाहरुको लागि संचालन गरिएको नेपाल छात्रवृत्ति कार्यक्रम प्रभावकारी देखिएको शैक्षिक सरोकारवालाहरुले बताएका छन् ।

सेभ द चिल्ड्रेनको साझेदारीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही द्वारा संचालित नेपाल छात्रवृति कार्यक्रमबाट दलित समुदायका विपन्न विद्यार्थीहरुको शैक्षिक अवस्थामा निकैनै सुधार आएको उनीहरूले बताएका छन् ।

जिल्लाको मलंगवा नगरपालिका वडा न-५ भाँडसर,गोडैता न.पा,बरहथवा न.पा तथा कबिलासी न.पा-६ पिपरियामा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका शैक्षिक सरोकारवाला र पत्रकारहरुले समुदायस्तरमा गरेको संयुक्त अनुगमनमा छात्रवृत्ति वापतको रकम बाट अध्यन गरिरहेका दलित विद्यार्थीहरुको शैक्षिकस्तरमा सुधार देखिएको निष्कर्ष निकालेका छन् ।

जिल्लाको मलंगवा ,लालबन्दी , कबिलासी,बरहथवा नगरपालिका तथा ब्रम्हपुरी,र कौडेना गाउँपालिकामा संचालन हुँदै आएको छात्रवृत्ति कार्यक्रमले छनौटमा परेका ५२ जना छात्र तथा ६८ जना छात्रा गरि जम्मा १२० जना दलित विद्यार्थीहरुको शौक्षिक अवस्था सुधारका लागि आधारभुत तह अन्तर्गत विशेष लक्षित वर्गका लाई ४ सय,अति जोखिम उच्च माध्यमिक तहलाई १४ सय,माध्यमिक तहलाई ५ सय त्यस्तै उच्च मावि तह अन्तर्गत विशेष लक्षित वर्गकालाई १२ सय , प्राविधिक तह रोल मोडेललाई २ हजार , स्नातक तहकालाई २१ सय र स्नातकोत्तर तहकालाई २६ सयको दरले प्रती विद्यार्थी छात्रवृत्ति वितरण गर्दैं आएको र उक्त रकम प्रत्येक त्रैमासिक रुपमा उनीहरूको बैंक खाता मार्फत उपलब्ध गराउँदै आएको संस्थाका जिल्ला कार्यक्रम अधिकृत गोविन्द पासवानले जनाएको छ ।

छात्रवृत्ति वापत प्राप्त गरेकोे रकमबाट आफुहरु विद्यालय पोशाक ,शैक्षिक सामाग्री खरिद,टिउसन शुल्क ,व्यक्तिगत सरसफाइ लगायतमा खर्च गर्ने गरेको लाभग्राही विद्यार्थीहरुले बताएका छन् ।

छात्रवृत्ति बापत प्राप्त रकमबाट आफ्नो पढाइ पूरा गरेका सर्लाहीका अधिकांश दलित विद्यार्थीहरु अहिले कुनै न कुनै जागिर तथा पेसामा आबद्ध रहेको र यसै वर्षदेखि संस्थाले ब्याचलर गरेका ३ जना,लोकसेवामा नाम निकाल्न सफल भएका २ जना,प्राविधिक तहका ४ जना र मास्टर डिग्री गरेका एकजना दलित विद्यार्थीलाई सम्मानित गर्ने निर्णय गरेको अध्यक्ष राजेश पासवानले जानकारी गराएका छन् ।

अनुगमन टोलीका सदस्यहरुले संस्थाले प्रदान गर्दै आएको छात्रवृत्तिको समग्र अवस्था, बालबालकाको विद्यालयमा निरन्तरता, छात्रवृत्ति वितरणमा पारदर्शिता, यसको सही सदुपयोग, शिक्षामा अभिभावक र शिक्षकको संलग्नता, उपयुक्त घरायसी शैक्षिक वातावरण लगायतका विषयमा लाभग्राही दलित विद्यार्थीहरुको बस्तीमै पुगेर अध्यन तथा अवलोकन गरेका थिए।

अध्यन तथा अवलोकन पछि टोलीका सदस्यहरुले सो संस्थाले प्रदान गर्दै आएको छात्रवृत्तिबाट दलित बालबालिकाहरुको शिक्षामा थप सुधारका लागि हौसला तथा उत्प्रेरणा मिलेको निष्कर्ष निकाल्दै यस किसिमको कार्यक्रमले पढ्ने इच्छा हुँदाहुँदै पनि पैसाको अभावमा बिचमै पढाइ छाड्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरि उनीहरु भित्रको आत्मविश्वासलाई पनि बढाएको बताएका छन् ।

शैक्षिक सचेतनाको कमि र आर्थिक अवस्था कमजोर भएका दलित समुदायका विद्यार्थीहरुको लागि संचालित नेपाल छात्रवृत्ति कार्यक्रमबाट दलित समुदायको शैक्षिक सचेतना अभिवृद्धि गरी गरीबी, अशिक्षा, बेरोजगार, विभेदलगायतका जटिल समस्यहरु बाट उन्मुक्ति दिलाउन ठुलो मद्दत मिलेको जिल्ला कार्यक्रम अधिकृत पासवानले बताए।

नेपाल छात्रवृत्ति कार्यक्रमको संयुक्त अनुगमनमा शिक्षा विकास तथा समन्वय ईकाइका प्रतिनिधि अनिल कुमार साह, जिल्ला समन्वय समितिका प्रतिनिधि रामजी बाबू यादव, शिक्षामा सरोकार राख्ने गैरसरकारी संस्था बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय, दलित अधिकारकर्मी कामेश्वर पासवान,राम नरेश मण्डल,स्थानीय तहका महिला जनप्रतिनिधि ईंकु देवी राम लगायत अन्य सरोकारवालहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: