Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा राप्रपा नेपालका केन्द्रीय सदस्य एवं पूर्व भुमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या

लोकतन्त्र खबर
७ श्रावण २०८१

मनोज यादव— सर्लाही,साउन ७ गते।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य एवं पुर्व भुमिसुधार राज्यमन्त्री रामचन्द्र रायको आइतवार राती केही अज्ञात समूहले धारिलो हतियार प्रहार गरी निर्मतापुर्वक हत्या गरेको छ।

आइतबार राति करिब १२ बजेको समयमा जिल्लाको चन्द्रपुर गाउँपालिका वडा न-१ रतनपुर स्थित खेतीपातीको कामको लागि बनाइएको उहाँको आफ्नै एकतल्ले फार्महाउसमा उखु काट्नको लागि प्रयोग गरिने धारिलो हतियार फरसा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिएको छ।

डिएसपी श्रेष्ठका अनुसार सो घटनाको विषयमा राती इलाका प्रहरी कार्यालय केशरगंजमा खवर आए लगत्तै प्रहरी टोली घटना स्थलमा पुग्दा मृतकको शव निजको घर भित्र फेला परेको र सो को जानकारी जिल्ला प्रहरी कार्यालय मलंगवामा आए पश्चात् घटना शंकास्पद देखिएकोले रातीनै जिल्लाबाट प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह र मधेस प्रहरी कार्यालय जनकपुरधामबाट प्रहरी नायव महानिरिक्षकसहितको टोली घटना स्थलमा पुगेर अनुसंधान सुरु गरेका थिए।

घटनालाई सुक्ष्म रुपमा गहिरिएर अनुसंधान गर्ने क्रममा मधेस प्रहरी कार्यालयबाट ल्याइएको सिकारु कुकुरले घटनामा प्रयोग गरिएको धारिलो हतियार फरसा पुर्व राज्यमन्त्री रायको हत्या भएको घर देखि पछाडि पट्टी अन्दाजी ५० मिटरको दुरीमा बाँसको झाडीबाट बरामद भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

घटना स्थलको मुचुल्का उठाइसके पश्चात् आज(सोमबार) बिहान साढे ८ बजे मृतक रायको शव मलंगवा स्थित प्रादेशिक अस्पतालमा ल्याइ पोस्टमार्टमको काम अगाडी बढाएको प्रहरीले जनाएको छ।

मृतक रायकै घरमा काम गर्ने एक ब्यक्तिलाई नियन्त्रणमा लिएर निजसँग सोधपुछ सुरु गरि सकेको र अनुसंधानको सम्पूर्ण काम सुक्ष्म तरिकाले अगाडी बढाइसकेको प्रहरीले जनाएको छ।

८० वर्षीय मृतक राय मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवको सहोदर दाइ समेत हुनुहुन्छ ।

उहाँको अकल्पनीय हत्याको जतिसक्दो चाँडो अनुसंधान प्रक्रिया पूरा गरि घटनामा संलग्न ब्यक्तिहरुलाई सार्वजनिक गर्न मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय र पुर्व अर्थमन्त्री समेत रहेका मृतक रायका भान्जा संजय कुमार यादवले जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: