Loktantra Khabar National Weekly
Ad

साढे ५ केजी अफिमसहित ट्रक चालक पक्राउ

लोकतन्त्र खबर
८ श्रावण २०८१

प्रतिबन्धित लागुऔषध अफिम चामलको बोराभित्र लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय मदनप्रकाश गिरी छन्। उनलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो।

साउन ५ गते राति ९ बजेतिर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १४ छेपारीस्थित भेरी करीडोर सडक खण्डबाट उनी पक्राउ परेका थिए।

गिरीले नै चलाएको र गोतामकोटदेखि बाँकेको नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ क १७८० नम्बरको ट्रक आशंका लागेर चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए।

ट्रकको सहचालक बस्ने सिटमुनि चामलको बोराभित्र तीन वटा प्लाष्टिकमा लुकाइछिपाइ लैजान लागेको लागुऔषध अफिम फेला परेको थियो। फेला परेको अफिम तौल गर्दा ५ केजी ५४५ ग्राम रहेको रुकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए।

जिल्ला अदालतले सोमबार गिरीलाई दस दिन हिरासतमा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको प्रहरी प्रवक्ता शाहीले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: