Loktantra Khabar National Weekly
Ad

बाराको सिम्रौनगढ नगरपालिका बजारमा तोडफोड र लुटपाट

लोकतन्त्र खबर
८ श्रावण २०८१

बारा  बाराको सिम्रौनगढ नगरपालिकामा दिनदहाडै लुटपाट र तोडफोड भएको छ। मन्दिर नजिक पिसाब फेरेको निहुँमा शुरु भएको विवाद बढेर सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित बजारका रामजन्मप्रसाद कुशवाहाको घरमा सोमवार तोडफोड र लुटपाट भएको हो। सानो ईटवाल गाउँबाट आएको करिब एक सय जनाको समूहले कुशवाहाको घरमा तोडफोड गर्दै लुटपाट गरेको हो।

समूहले कुशवाहाको ट्याक्टरको हेड लाईट, दुई वटा मोटरसाइकल, कुर्सी, बक्सा र भाडाकुँडा तोडफोड गर्दै श्रीमतीले लगाएको गहना जतिया र तिलहरी समेत लुटेको कुशवाहाले जानकारी दिनुभएको छ।

आइतबार साँझ सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ सानो ईटवाल निवासी राजकिशोर पटेल र रामजन्मप्रसाद कुशवाहाको छोरा रामप्रवेश कुशवाहा र राजकिशोर कुशवाहाबीच विवाद भएको थियो। पटेलले मन्दिर क्षेत्रमा पिसाब फेरेको निहुँमा कुशवाहाका छोराहरुले विवाद परेको थियो। सोही विवादका क्रममा कुशवाहका छोरा र उनका साथीहरुले पटेललाई कुटपिट गरी घाइतेसमेत बनाइदिएका थिए।

यस घटनाअघि पनि रामप्रवेश र उनका साथीहरुले ईटवाल गाउँका दुई जना युवकलाई कुटपिट गरेका थिए। पटक पटक कुटपिट भएको भन्दै आक्रोशित बनेको गाउँलेहरुको समूहले बदलामा कुशवाहाको घरमा तोडफोड गरेको नाम उल्लेख नगर्ने सर्तमा सानो ईटवालका एक जना स्थानीयले बताएका छन्। उक्त घटनापछि दुई गाउँबीच झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: