पोखरा । गत मंसिर महिनामा नक्कली फेसबुक आइडी बनाएर बालिकाको फोटो र भिडियो अश्लील बनाइ ब्ल्याकमेल गरेको आरोपमा एक बालक पक्राउ परे ।
पोखरा–२७ बस्ने १६ वर्षीय किशोरीलाई सँगै पढ्ने १६ वर्षीय किशोरले अश्लील भिडियो पोष्ट गरिदिने भन्दै मानसिक यातना दिए । परिवारको सहयोगमा किशोरी प्रहरीसम्म आइपुगिन् र किशोर पक्राउ परे ।
गत पुसमा फेसबुकमै फेक आइडी बनाएर ठगी गरिरहेका ३ जनालाई कास्की प्रहरीले पक्राउ ग-यो । महिलाको नाममा आइडी बनाउने र पुरुष व्यक्तिहरूसँग ठगी गरेका पोखरा–२९ का २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर–१३ का २० वर्षीय प्रवेश रिमाल र सिरहाको लहान नगरपालिका–१ का २१ वर्षीय युनिक सिंह पक्राउ परेका थिए ।
यस्ता घटनाका उजुरी अहिले कास्की प्रहरीमा दैनिकजसो आउँछन् । प्रहरीका अनुसार बर्सेनि अनलाइनमार्फत हुने ठगी बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०/८१ मा कास्की प्रहरीमा साढे ७ सय वटा अनलाइन ठगीका उजुरी दर्ता भएका छन् । अघिल्लो वर्ष (२०७९/०८०) मा अनलाइन ठगीका ३ सय ९१ वटा उजुरी परेका थिए भने त्यसअघिको वर्षमा २९७ वटामात्रै उजुरी थियो ।
‘कतिपयले विदेशबाट सामान पठाएको भनेर ठगी गरेका छन् । धेरैजसो चिट्ठाको आश्वासनमा पनि फसेका छन्,’ कास्की प्रहरीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले भने, ‘बैंक, इसेवा, खल्तीका एकाउण्ट ह्याक गर्ने क्रम पनि धेरै छ । अश्लील सामग्री बनाएर ब्ल्याकमेलिङ गर्ने र हनी ट्रयापमा पार्ने घटना पनि उल्लेख्य छन् ।’
गत वर्ष जिल्लाभर ७५१ वटा अनलाइन ठगीका उजुरी दर्ता भएको उनले जानकारी दिए । अनलाइनबाट ८ करोड ७९ लाख ८३ हजार ठगी भएको दाबी गरिएको छ भने २ करोड १९ लाख ७७ हजार रुपैयाँ प्रहरीले पीडितलाई फिर्ता गराएको छ । अनलाइनबाट हुने ठगीमा पुरुष बढी पीडित छन् । ४७३ जना पुरुष, २४९ महिला अनलाइन ठगीबाट पीडित बनेका हुन् । १७ बालक र १२ बालिका पनि ठगीको फन्दामा परे । अनलाइनबाट हुने ठगीको रकम बरामद गर्न र पीडकलाई पक्राउ गर्न निकै कठिन भएको उनले सुनाए ।
‘तत्कालै ४–५ वटा बैंकमा रकम ट्रान्सफर हुन्छ । हामीले ट्रयाक गर्दागर्दै फुत्किसकेको हुन्छ,’ उनले भने, ‘केसहरू अरु जिल्लासँग पनि जोडिएको हुँदा मुद्दा फर्स्यौट गर्न समस्या परेको छ ।’ अघिल्लो वर्ष २०७९/०८० मा ४०२ वटा घटनाबाट ४ करोड ३५ लाख ठगी भएको थियो । ५७ लाख ५२ हजार रुपैयाँ पीडितलाई फिर्ता पनि गराइएको छ । बढ्दो सामाजिक सञ्जालको प्रयोग र सचेतनाको अभावले ठगीका घटना बढेको कास्की प्रहरीको तर्क छ ।
अनलाइन ठगीजस्तै साइबर क्राइमका घटना पनि हरेक वर्ष बढ्दो छ । आर्थिक वर्ष २०८०/०८१ मा साइबर अपराध सम्बन्धी ९३९ वटा निवेदन दर्ता भएका थिए । अधिकांश उजुरी जिल्लाले केन्द्रमा रिफर गरिदिन्छ । साइबर अपराधका ८२४ वटा उजुरी केन्द्रमा पठाइएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
उनका अनुसार साइबर अपराधबाट पीडित हुने महिलाका सङ्ख्या बढी छ । ५१० जना महिला यसबाट पीडित बनेका छन् भने ४०१ पुरुष पीडित भएका छन् ।
यस्तै, १९ जना बालिका र ९ बालक पीडित भएको प्रहरीले जनाएको छ ।
‘धेरै घटना फेक आइडी बनाउने र आइडी ह्याक गर्ने खालको हुन्छ । फेक आइडीको प्रयोग गरेर अश्लील म्यासेज पठाउने निवेदन पनि परेका छन्,’ उनले भने, ‘गाली बेइज्जती र यसैबाट ब्ल्याकमेल गरेका घटना पनि प्रशस्त छन् ।’
उनका अनुसार अघिल्लो वर्ष साइबर अपराधका ४१९ उजुरी दर्ता भएका थिए । गएको वर्ष प्रहरीमा २ हजार १३४ वटा उजुरी परेका थिए । १ हजार ६२२ उजुरी किनारा लगाइएको छ भने ५१२ उजुरी कार्यान्वयनको चरणमा छ ।
जिल्लामा दैनिक ६ वटाका दरले उजुरी दर्ता हुने गरेको विवरण प्रहरीले सार्वजनिक गरेको छ । रातोपाटी