Loktantra Khabar National Weekly
Ad

पूर्व राज्यमन्त्री हत्या प्रकरणः अनुसन्धानमा सीआईबीको टोली

लोकतन्त्र खबर
८ श्रावण २०८१

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरण अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटिएको छ ।

आइतबार राति आफ्नै घरमा हत्या गरिएका रायको अनुसन्धानका लागि सीआईबीले टोली घटनास्थल पठाएको हो ।

सीआईबीका प्रमुख तथा एआईजी श्यामलाल ज्ञवालीले इन्सपेक्टरको कमान्डमा दुई जनाको टोली सर्लाही पठाइएको जानकारी दिएका छन् ।

सीआईबीको टोलीले टेक्निकल तथा प्राविधिक पाटोको अनुसन्धान र विश्लेषण गर्नेछ । पूर्वराज्यमन्त्री रायको हत्या भएको जानकारी पाउनसाथ प्रहरी चौकी मोहनापुर, इलाका प्रहरी कार्यालय केशरगञ्ज, जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश कार्यालयको टोली खटिएको थियो ।

अहिले यो घटनालाई तीन वटा युनिटले अनुसन्धान सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयको टोली, प्रदेशको टोली र सीआईबीको टोलीबाट घटनाको अनुसन्धान भइरहेकोे छ ।

तालिम प्राप्त कुकुरको सहायताले यसअघि हत्यामा प्रयोग भएको हतियार बरामद गर्नुबाहेक प्रहरीले ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । रायको घरबाट उत्तर–पश्चिमतर्फको करिब ५० मिटर टाढाको बाँस झाङबाट रगत लतपतिएको घरेलु हतियार बरामद भएको थियो ।

रायकै घरमा उनको सहयोगीको रुपमा बसेका २१ वर्षीय राम उदेन रायलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । स्पेस समाचार

प्रतिक्रिया दिनुहोस्: