Loktantra Khabar National Weekly
Ad

थाइल्यान्डमा ‘धुरन्धर’को सुटिङ सुरु गर्दै रणवीर सिंह

लोकतन्त्र खबर
९ श्रावण २०८१

बलिउड अभिनेता रणवीर सिंहले छिट्टै थाइल्यान्डमा आफ्नो नयाँ फिल्मको सुटिङ सुरु गर्ने भएका छन् । उरीः द सर्जिकल स्ट्राइक र आर्टिकल ३७० जस्ता फिल्मका निर्देशक आदित्य धरले रणवीरको साथमा हाई–अक्टेन जासुसी थ्रिलर फिल्म बनाइरहेका छन् । ‘धुरन्धर’ नाम गरेको यो फिल्ममा रणवीर सिंहका अलावा अक्षय खन्ना, सञ्जय दत्त, आर माधवन र अर्जुन रामपाल पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।

द इमोर्टल अश्वत्थामा रोकिएपछि आदित्य धर आफ्नो अर्को ड्रीम प्रोजेक्ट धुरन्धरमा काम गर्न थालेका छन् । खबरका अनुसार उनले यही महिनाबाट रणवीर सिंहसँग धुरन्धरको सुटिङ सुरु गर्दैछन् । फिल्मको पहिलो शेड्युल जुलाई २५ बाट थाइल्यान्डमा सुरु हुने बताइएको छ । यो सुटिङमा रणवीर बाहेक फिल्मका अन्य स्टार पनि सहभागी हुनेछन् । मिडिया रिपोर्टका अनुसार, फिल्मको पहिलो शेड्यूल एक इन्टेल नेटवर्क भित्रको कुराकानीमा केन्द्रित हुनेछ । फिल्मका बाँकी शेड्युल भने भारत र युएईमा सुटिङ हुने बताइएको छ ।

फिल्म भारतीय गुप्तचर निकायको स्वर्णिम युगमा आधारित रहनेछ । फिल्मको कथा रको इतिहासका अविश्वसनीय सत्य घटनाहरूमा आधारित हुन्छ । भारतीय सञ्चार माध्यममा छापिएका खबरहरूअनुसार फिल्ममा सञ्जय दत्त खलनायकको भूमिकामा देखिनेछन् । रणवीर सिंह, अक्षय खन्ना, आर माधवन र अर्जुन रामपाल भारतीय गुप्तचर प्रणालीको हिस्सा हुनेछन् । क्यारेक्टरहरूलाई सक्कली देखाउन सबै कलाकारले वास्तविक जीवनका एजेन्टहरूको लुक र हाउभाउसँग मिल्ने गरी लूक टेष्ट दिएका बताइएको छ ।

उरीको अभूतपूर्व सफलता पछि निर्देशक आदित्य धरको जासुसी फिल्मप्रति मोहित भएका छन् । फिल्मको छायांकन ६ महिनामा सम्पन्न हुने बताइएको छ । फिल्म २०२५ को दोस्रो अर्धवार्षिक अवधिमा सिनेमाघरहरूमा रिलिज गर्ने योजना बनाइएको छ । आदित्य धरले आफ्नो भाइ लोकेश धरसँग मिलेर बी६२ स्टुडियोको ब्यानरमा धुरन्धर बनाउन लागेका हुन् । तर यस परियोजनाका लागि उनीहरूले ठूलो स्टुडियोसँग सहकार्य गरिरहेको बताइएको छ । रिपोर्टका अनुसार धुरन्धर मेगा बजेटको फिल्म हो । यसको शूटिङ बृहत् स्तरमा हुने बताइएको छ । यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: