Loktantra Khabar National Weekly
Ad

महिला एशिया कप : भारतसँग ८२ रनले नेपाल पराजित

लोकतन्त्र खबर
९ श्रावण २०८१

एसीसी महिला टी-२० एशिया कपमा भारतले नेपाललाई ८२ रनले पराजित गरेको छ।

भारतले खेल जित्न दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९६ रनमात्र बनाउँदै ८२ रनले पराजित भएको हो। पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालका लागि सर्वाधिक १८ रन सीता राना मगरले बनाइन्। ओपनर सम्झना खड्काले ७ रन बनाइन् भने कविता कुँवर ६ रन बनाएर आउट भइन्।

त्यसपछि कप्तान इन्दु वर्मा पनि १४ रन बनाएर आउट भइन्। रुबिना क्षेत्रीले १५ रन‚ पूजा महतोले २ रन‚ डली भट्टले ५ रन बनाए भने कविता जोशी शून्यमा आउट भइन्।

काजल श्रेष्ठले ३ रन बनाइन्। बिन्दु रावल १७ रनमा र शबनम राई १ रनमा अविजित रहे। नेपालले ८ अतिरिक्त रन पायो।

भारतका लागि दिप्ती शर्माले ३ विकेट‚ अरुन्धती रेड्डी र राधा यादवले २/२ विकेट लिए भने रेनुका सिंहले १ विकेट लिइन्।

श्रीलंकाको दाम्बुला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतका ओपनर ब्याटरले शतकीय साझेदारी गरेपछि निर्धारित २० ओभरमा ३ विकेटमात्र गुमाएर १७८ रन बनायो।

भारतका लागि शेफाली बर्माले ४८ बलमा १२ चौका र एक छक्का हान्दै सर्वाधिक ८१ रन बनाइन्। दयालन हेमलताले ४७ रन, जेमिमा रोड्रिगेजले अविजित २८ रन र सञ्जीवन सजनाले १० रन बनाए।

पहिलो विकेटका लागि शेफाली र हेमलताले १२२ रनको साझेदारी गरे। नेपालका लागि सीता रानामगरले २ विकेट र कविता जोशीले १ विकेट लिए।

पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। पाकिस्तानलाई पराजित गरेको भए नेपाल सेमिफाइनलमा पुग्ने तयजस्तै थियो।

आजको खेलअघि नै सेमिफाइनल पुगिसकेको भारतले समूह चरणका सबै खेल जितेको छ। उसले यसअघि पाकिस्तानलाई ७ विकेट र यूएईलाई ७८ रनले सहजै पराजित गरेको थियो। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: