Loktantra Khabar National Weekly
Ad

आरएमसी फुड्स नेपालका पूर्व कर्मचारी सहित ३ जनालाई ६ करोड ठगी आरोपमा पक्राउ

लोकतन्त्र खबर
९ श्रावण २०८१

वीरगञ्ज  आरएमसी फुड्स नेपालका एक पूर्व कर्मचारी सहित तीन जनालाई कम्पनीको करिव ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत मधुवनीका स्थायी बासिन्दा तथा कम्पनीका पूर्व कर्मचारी सुधांशु अग्रवाल, वीरगञ्ज महानगरपालिका वडा नं ७ रामटोलका विष्णु शर्मा, र शर्माका भान्जा अमन गुप्ता रहेका छन्।

सुधांशु अग्रवालले २०७९ मंसिरमा आरएमसी फुड्समा सेल्सम्यानको रूपमा काम गर्दै विभिन्न पार्टीलाई विक्री गरेको सामानको रकम उठाएर कम्पनीको रकम दुरुपयोग गरेको आरोपमा २०८० जेठमा जागिर छोडेका थिए। आरएमसी फुड्सका प्रतिनिधि रवि शर्माका अनुसार, अग्रवालले कम्पनीको रकम आफ्नै र आफ्ना नजिकका नातेदारको खातामा झिकाउँदै आएका थिए।

आरएमसी फुड्स प्रालिले श्रीभवानी ट्रेड्स, पंचमुखी बालाजी ट्रेड्स, रानीसति इन्टरप्राइजेज, विटु ट्रेड्स, र कमलेश सप्लायर्सबाट पाउने हिसाब विगत ६ महिना देखि ताकेता गर्दै आएको थियो। कम्पनीले पाँच वटा सप्लायर्स कम्पनीहरूबाट पाउँनुपर्ने रकम नपाएपछि प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले गत असार ३० गते पंचमुखी बालाजी ट्रेड्सका संचालक अमन गुप्तालाई पक्राउ गरेको थियो।

अमन गुप्तालाई पक्राउ गरेपछि ठगीमा संलग्न सुधांशु अग्रवाल नाटकीय रूपमा पक्राउ परेका छन्। अमन गुप्ताका भाइले सुधांशुलाई फोन गरेर अमनलाई प्रहरी हिरासतबाट निकाल्न घर आउन आग्रह गरेका थिए। अमनको घरमा सुधांशु अग्रवाल, विष्णु शर्मा र अमनका भाइ बीच छलफल भएपछि, अमनलाई छुटाउन तत्काल पैसा दिनुपर्ने भन्दै सुधांशुलाई घरमै राखेका थिए। सुधांशुले त्यहाँबाट उम्कन नसकेपछि आफ्नो आईफोनबाट साथीहरूलाई लोकेशन पठाएर अपहरणमा परेको भन्दै प्रहरीलाई खबर गर्न म्यासेज पठाएका थिए।

सुधांशुका साथीहरूले दिएको लोकेशन अनुसार असार ३१ गते साँझ प्रहरी लिएर अमन गुप्ताको घरमा पुग्दा सुधांशु, विष्णु शर्मा र अमनका भाइलाई नियन्त्रणमा लिएका थिए। उनीहरूलाई वडा प्रहरी कार्यालय विर्तामा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

आरएमसी फुड्स नेपालका प्रतिनिधि रवि शर्माका अनुसार, कम्पनीका पूर्व कर्मचारी सुधांशु मार्फत विष्णु शर्मा र अमन गुप्ताले करोडौं मूल्य बराबरको सामान कम्पनीबाट उठाएर विक्री गरी कम्पनीलाई ६ करोड १४ लाख रुपैयाँ नोक्सान गरेका छन्। यस मुद्दामा श्रीभवानी ट्रेड्सका संचालक अजय राउत, रानीसति इन्टरप्राइजेजका दीपेश पण्डित, विटु ट्रेड्सका संचालक बिटु शर्मा र कमलेश सप्लायर्सका संचालक विरुद्ध समेत प्रहरीमा उजुरी परेको छ।

पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलका अनुसार, पक्राउ परेका व्यक्तिहरू विरुद्ध ठगी र जालसाजी कसुरमा अनुसन्धान भइरहेको छ। यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: