Loktantra Khabar National Weekly
Ad

अलबिदा माननीय :पूर्व राज्यमन्त्री रामचन्द्र रायको दाहसंस्कार सम्पन्न,सम्मानमा सशस्त्र प्रहरीद्वारा सलामी अर्पण

लोकतन्त्र खबर
९ श्रावण २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,साउन ९

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको दाहसंस्कार सम्पन्न भएको छ।

मंगलबार साँझ मलंगवा नगरपालिका वडा न-४ स्थित साकेत बिहारी राम मन्दिरमा भएको दाहसंस्कारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण समेत गरेका थिए ।

हजारौं नगरबासीहरुको सहभागीतामा मलंगवा-४ स्थित निवासबाट निकालिएको शवयात्रा सोही वडामा रहेको साकेत बिहारी राम मन्दिर परिसरमा लगेर स्व.रायको विधिवत् दाहसंस्कार गरिएको थियो।

स्व.रायको दाहसंस्कारमा राप्रपा का राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, मधेश प्रदेश अध्यक्ष भरत गिरी, मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण राय, पूर्व उपसभापति विनोद खनाल सहित कांग्रेसका नेता कार्यकर्ताहरु, नेपाल समाजवादी पार्टीका नेता एवं पूर्व मन्त्री महेन्द्र राय यादव, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनाल सहित सुरक्षा अधिकारीहरु , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु स्थानीय बुद्धिजीवीहरु लगायत हजारौं स्थानीय नागरिकहरुको विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

गत आइतबार राती सर्लाहीकको चन्द्रनगर गाउँपालिका वडा न-१ रतनपुर स्थित घरमा उहाँको केही अज्ञात व्यक्तिहरुले धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए।

वर्षीय स्व.राय मलंगवा न.पा का नगरप्रमुख नागेन्द्र प्रसाद रायका सहोदर दाइ समेत हुनुहुन्छ ।

पुर्व राज्यमन्त्री स्व.राय आफ्नो राजनीतिक जिवनकालमा २ पटक राष्ट्रिय पञ्चायतको सदस्य र एक पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

वि.स २०५६ सालमा भएको आम निर्वाचनमा तत्कालीन सर्लाही क्षेत्र न-३ बाट नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट सांसद पदमा निर्वाचित भएका थिए।

पुर्व प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा उहाँ भूमिसुधार राज्यमन्त्री समेत बन्नुभएको थियो। स्व. रायका श्रीमति सहित २ छाेरा र ५ छाेरी छन् ।

जेठो छाेरा शैलेन्द्र राय अष्ट्रेलियामा बस्दै आएको र मंगलबार दिउँसाे मात्र नेपाल आएकाले उहाँको दाहसंस्कारमा १ दिन ढिलाइ भएकाे पारिवारिक श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: