Loktantra Khabar National Weekly
Ad

के फरक छ मोबाइल फोन र ट्याबलेटमा? कुन किन्दा लाभदायक?

लोकतन्त्र खबर
९ श्रावण २०८१

अहिलेको डिजिटल युगमा मोबाइल उपकरणहरू अत्यावश्यक बनेको छ।

कार्यालयको कामदेखि विद्यालय/कलेजको गृहकार्य गर्न होस् या कसैसँग सम्पर्क गर्न वा मनोरञ्जन प्रयोजनकै लागि समेत मोबाइल उपकरण आवश्यक छ।

मोबाइल उपकरणमध्ये मोबाइल फोन र ट्याबलेट लोकप्रिय विकल्प हुन्। मोबाइल फोनलाई स्मार्टफोन पनि भनिन्छ। स्मार्टफोन र ट्याबलेटले गर्ने प्रदर्शनी र विशेषताहरू प्रायः मिल्दाजुल्दा हुन्छन्। यद्यपी यी दुई उकरणमा केही भिन्नताहरू छन्।

नयाँ मोबाइल उपकरण लिने सोचमा हुनुहुन्छ र स्मार्टफोन किन्ने कि ट्याबलेट भन्नेमा अलमल हुनुहुन्छ भने उल्लेखित विषयलाई ख्याल गरेर आफूलाई अनुकुल र उपयुक्त उपकरण खरिद गर्न सक्नुहुन्छ।

स्मार्टफोन सानो आकारको, सहजै हात वा लुगाको खल्तीमा बोक्न मिल्ने, थुप्रै विशेषता (फिचर)ले भरिपूर्ण मोबाइल उपकरण हो। यसलाई ‘पकेट-साइज्ड कम्प्युटर’ भन्दा फरक पर्दैन।

स्मार्टफोनको माध्यमबाट व्यक्ति-व्यक्तिबीच सम्पर्क कायम राख्ने, फोटो-भिडिओ खिच्ने, गेम खेल्ने, म्युजिक सुन्ने, विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्नेदेखि दर्जनौं एप प्रयोग गर्न मिल्छ। आइफोन र एनड्रोइड विश्व बजारमा प्रख्यात स्मार्टफोनहरू हुन्।

स्मार्टफोनको तुलनामा ट्याबलेटको आकार ठूलो हुन्छ र फिचरहरू पनि सीमित हुन्छन्। यो टचस्क्रिन समर्थन गर्ने मोबाइल उपकरण हो। यो वेब ब्राउजिङ, फोटो/भिडिओ खिच्नदेखि गेमिङको लागि उपयुक्त हुन्छ। ल्यापटपको तुलनामा ट्याबलेट सानो आकारको हुन्छ। र, यसलाई झोलामा बोकेर हिड्न ल्यापटपको तुलनामा केही सहज हुन्छ।

यी हुन् स्मार्टफोन र ट्याबलेटको मुख्य भिन्नताः

 स्क्रिन आकार

स्मार्टफोनको तुलनामा ट्याबलेटको स्क्रिन आकार ठूलो हुन्छ। प्रायः मोबाइल फोनको स्क्रिन आकार ४.५ इन्चदेखि ६.५ इन्चको हुन्छ भने ट्याबलेटको आकार ७ देखि १२ इन्चको हुन्छ। यसले गर्दा पनि स्मार्टफोन बोकेर हिड्न तुलनात्मक रूपमा सजिलो हुन्छ।

 ब्याट्री

स्मार्टफोनको तुलनामा ट्याबलेटमा बढी क्षमताको ब्याट्री दिइएको हुन्छ। त्यसैले यसम बढी समय चार्ज टिक्छ। स्मार्टफोनहरूमा ४८०० एमएएचदेखि ५००० एमएएचको ब्याट्री दिइएको हुन्छ भने ट्यबालेटमा प्रायः ६४०० एमएएचभन्दा बढी क्षमताको ब्याट्री दिइएको हुन्छ। ट्याबलेटको स्क्रिन आकार ठूलो भए पनि यसले खपत गर्ने ऊर्जा स्मार्टफोनले गर्ने तुलनामा कम हुन्छ।

 कार्यक्षमता

स्मार्टफोन र ट्याबलेट दुवैले केही समान प्रदर्शन गर्ने क्षमता राख्छ। जस्तै, वेब ब्राउजिङ, इमेल, सामाजिक सञ्जाल र भिडिओहरू हेर्न मिल्ने विशेषता। तर, कुनै भिडिओ वा चलचित्र हेर्न, गेम खेल्न वा केही पढ्न कै लागि पनि ट्याबलेटको स्क्रिन आकारका कारण बढी रमाइलो र सहज हुन्छ।

तर मोबाइल फोनहरू दैनिक कार्यहरूको लागि जस्तै फोन कल गर्न, एसएमएस पठाउन वा कतै जाँदा झट्टै फोटो/भिडिओ खिच्न व्यावहारिक हुन्छ। यद्यपि केही मोबाइल फोन जुन गेमिङको लागि तयार पारिएको हुन्छ, त्यसमा आरामदायिक गेमिङ अनुभव लिन सकिन्छ।

 उत्पादकता

अहिले धेरै प्रयोगकर्ता ‘मल्टिटास्किङ’ गर्न रुचाउँछन्। अर्थात् एकैपटक धेरै काम गर्ने। यसको लागि यदी तपाईं कतै बाहिर हुनुहुन्छ भने स्मार्टफोन नै व्यावहारिक हुन्छ। तर, घर वा कार्यालयमा हुँदा काम गर्नुहुन्छ भने ट्याबलेटमा सहज हुन्छ। ट्याबलेटले व्यक्तिको उत्पादक क्षमतालाई बढावा दिन्छ। यसको प्रोसेसर र मेमोरी क्षमता पनि तुलनात्मक रूपमा बढी कार्य गर्न सक्ने हिसाबले तयार पारिएको हुन्‍छ।

 एकीकृत कलिङ फिचर

प्रायः ट्याबलेटमा सिम कार्ड हाल्न मिल्दैन। ट्याबलेटलाई वाइफाईमा मात्रै कनेक्ट गर्न सकिन्छ। केही मोडलले सिम कार्ड समर्थन गर्छ। तर, यस्तो मोडलको ट्याबलेट तुलनात्मक रूपमा महँगो हुन्छ। अर्कातिर, हरेक स्मार्टफोटले सिम कार्ड समर्थन गर्छ। केहीले दुइटासम्म सिम कार्ड समर्थन गर्छ। यसले गर्दा एकीकृत कलिङ फिचरको लागि स्मार्टफोन आवश्यक पर्छ।

 क्यामेराको गुणस्तर

स्मार्टफोनको क्यामेरा गुणस्तर तुलनात्मक रूपमा राम्रो हुन्छ। केही स्मार्टफोनहरू ‘मोबाइल फोटोग्राफी’ कै लागि तयार पारिएको हुन्छ। यस प्रकारको मोडलहरूमा बढी क्षमताको सेन्सरसहितको क्यामेरा दिइन्छ। स्मार्टफोनमै १०८ मेगापिक्सेलसम्म क्षमताको क्यामेरा हुन्छ। तर, ट्याबलेट भने यस प्रयोजनका लागि तयार पारिएको होइन। त्यसकारण अधिकांश ट्याबलेटको क्यामेरा गुणस्तर उचित हुँदैन। यसमा प्रायः ८ वा १२/१२ मेगापिक्सेलको क्यामेरा हुन्छ।

 अपडेट

स्मार्टफोनहरूले आफ्नो सफ्टवेयर समय-समयमा अपडेट गरिरहेको हुन्छ। र, नयाँ फिचरहरू थप गर्दै उपलब्ध गराउँदै आएको फिचरको गुणस्तर पनि बढाउँछ। कुनै पनि स्मार्टफोन चारदेखि पाँच वर्षसम्म अपडेट भइरहन्छ। अर्थात्, त्यसले नयाँ अपडेट समर्थन गर्छ। तर, ट्याबलेटमा कमै अपडेटहरू उपलब्ध गराइन्छ। यसकारण ट्याबलेट प्रयोग गर्दा छिट्टै आउटडेटेड महशुस हुन सक्छ।

 टिकाउपन 

ट्याबलेटको तुलनामा कम्पनीहरूले स्मार्टफोनको ग्लासदेखि हरेक पुर्जा लामो समय टिक्ने सामग्रीबाट तयार पार्छ। प्रायः लुगाको खल्तीमै बोकेर हिड्ने र बढी चलाउने हुँदा मोबाइल फोनको आयु कम हुन्छ भन्ने लाग्न सक्छ। तर, ट्याबलेटको स्रिन आकार ठूला हुनाले यो छिट्टै फुट्ने समस्या हुन सक्छ।

 मूल्य 

एकै प्रकारको फिचर भएको ट्याबलेटको तुलनामा स्मार्टफोन महँगो हुन सक्छ। तर स्मार्टफोन हरेक मूल्य रेञ्जमा उपलब्ध छन्। बढी र गुणस्तरको फिचर आवश्यक परे महँगो मूल्यका फोनहरू खरिद गर्न सकिन्छ। यसबाहेक बजारमा मिड रेन्जमा पनि राम्रो स्मार्टफोन उपलब्ध छन्। स्मार्टफोनहरू ‘भ्यालू फर मनी’ हुन सक्छन्। तर, कम मूल्यमा मोबाइल उपकरण किन्ने हो भने ट्याबलेट किन्न सकिन्छ। यो २० हजार रूपैयाँदेखि बजारमा उपलब्ध छन्। बढी र गुणस्तरीय फिचर भएको केही मोडलको मूल्य भने एक लाख रूपैयाँभन्दा बढी पनि पर्न सक्छ।

यदी कम मूल्यमा अध्ययन, कन्टेन्ट क्रियसन र मनोरञ्जन प्रयोजनको लागि मोबाइल उपकरण किन्ने सोचमा हुनुहुन्छ भने ट्याबलेट राम्रो विकल्प हुन सक्छ। तर, दैनिक प्रयोजनको लागि राम्रो क्यामेरा क्वालिटी, कनेक्टिभिटी लगायत फिचर चाहिन्छ भने स्मार्टफोन किन्दा उपयुक्त हुन्छ।

पछिल्लो समय बजारमा फ्याबलेटको मोडल पनि धेरै उपलब्ध हुन थालेको छ। यो ट्याबलेटभन्दा सानो तर स्मार्टफोनभन्दा ठूलो आकारको मोबाइल उपकरण हो। यसमा थप परिष्कृत रूपमा स्मार्टफोनहरूमा उपलब्ध सुविधाहरू छन्।

सामसङको ग्यालेक्सी एस सिरिजको मोबाइल फोन, आइफोन १२ र योभन्दा माथिको सिरिजको प्रो म्याक्स मोडल, गुगल पिक्सेल ६, वानप्लस ८ प्रो बजारमा उपलब्ध केही लोकप्रिय फ्याबलेट हुन्। तर, सामान्य भाषामा यी मोबाइल उपकरण पनि स्मार्टफोन श्रेणीमा राखिन्छ।  सेतोपाटी

 

 

प्रतिक्रिया दिनुहोस्: