धनगढी । कैलालीमा युवाको समूहले दाउरा बोकेको जिप नियन्त्रणमा लिएर चालक र जिप धनीमाथि कुटपिट गरेका छन् ।
सोमबार राति करिब ११ बजेतिर मोहन्याल गाउँपालिका-७ पितमारी खोलामा कचाली गाउँबाट दाउरा लिएर आउँदै गरेको गरेको भे १ च ३७१४ नम्बरको बोलेरो जिप नियन्त्रणमा लिएर चालक र जिप साहुमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट जिप चालक लम्कीचुहा नगरपालिका- ८ खग्रवार बस्ने २५ वर्षीय अनुराज चौधरी र रामबहादुर चौधरीमाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।
उनकाअनुसार कुटपिटबाट घाइते भएका चालक अनुराजको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने जिप साहुलाई सामान्य लछारपछार मात्र गरिएकाले धेरै चोट छैन ।
लम्कीचुहान नगरपालिका-३ चिसापानी बस्ने २३ वर्षीय नारायण शाहीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसँगैका चिसापानीकै भावेश सापकोटा लगायतका चार जना भने गाडीका सहचालकलाई आफूसँगै लिएर फरार भएका हुन् ।
उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जिप नियन्त्रणमा लिएर कुटपिट गर्ने समूहको खोजी भइरहेको बताए । उनीहरूले दुई नम्बरी दाउरा ल्याइरहेको भन्दै जिपबाट पैसा लिने खोजेको तर पैँसा नपाउने भएपछि कुटपिट गरेको बुझिएको उनको दाबी छ । अनलाइन खबर