बलिउड फिल्म कल्की २८९८ एडी रिलिज भएको एक महिनाभन्दा बढी भइसक्यो । तर फिल्म हलमा यो अझै पनि टिकिरहेको छ ।
घरेलु बक्स अफिसमा मात्रै नभएर विदेशमा पनि यसले राम्रो कमाई गरिरहेको छ । खासगरी उत्तर अमेरिकामा फिल्मले दर्शकको निकै माया पाइरहेको छ । त्यहाँ फिल्मले नयाँ इतिहास रचेको छ ।
निर्माताहरूले बुधबार उत्तर अमेरिकामा फिल्मको हालसम्मको कमाइको नयाँ तथ्याङ्क सार्वजनिक गरेका छन् । जस अनुसार फिल्मले अहिलेसम्म त्यहाँ १ करोड ८५ लाख डलर कमाइसकेको छ । भारतीय मुद्रामा यो रकम १ अर्ब ५४ करोड भारुभन्दा बढी हुन आउँछ । यस क्षेत्रमा यति धेरै व्यापार गर्ने यो दोस्रो भारतीय फिल्म हो । रोचक कुरा के छ भने पहिलो नम्बरमा प्रभासकै फिल्म छ । बाहुबली २ त्यहाँ करिब २ करोड ७ लाख ७० हजार डलरको व्यापार गरेको छ ।
उत्तर अमेरिकामा व्यापारको हिसाबले प्रभासको कल्कीले गत वर्ष रिलिज भएका शाहरुख खानका ब्लकबस्टर फिल्महरू पठान र जवानलाई पनि पछाडि पारेको छ । कल्की २८९८ एडीले आरआरआर र एनिमललाई त्यहाँ धेरै अघि उछिनेको थियो । अब प्रभासले आफ्नै फिल्म बाहुबली २को रेकर्ड तोड्छन् कि तोड्दैनन् त्यो चाँहि हेर्न बाँकी छ ।
कल्कीले विश्वभर अहिलेसम्म ११ सय करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ । हालसम्म यो फिल्मले घरेलु बक्स अफिसमा ६३४ करोड कमाइसकेको छ । प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसनको मुख्य भूमिका रहेको यस फिल्मलाई नाग अश्विनले निर्देशन गरेका हुन् । यो फिल्मको सिक्वेलको पनि घोषणा भइसकेको छ । यात्रा डेली