Loktantra Khabar National Weekly
Ad

डेंगी नियन्त्रणका लागि मन्त्री पौडेलले डाके उपत्यकाका मेयरहरूको बैठक

लोकतन्त्र खबर
३१ श्रावण २०८१

काठमाडौं उपत्यकामा डेंगु संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मेयरहरूसँग छलफल गरेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरमा डेंगी संक्रमणका घटना वृद्धि भएर महामारीको रूप लिन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सहकार्य गर्न भन्दै मन्त्री पौडेलले उपत्यकाका सबै मेयरलाई बोलाएर छलफल गरेका हुन्।

डेंगु संक्रमण नियन्त्रणका लागि सबैले मिलेर काम गर्नुपर्ने आवश्यक देखिएकाले स्थानीय तहहरूसँग काम गर्न खोजेको मन्त्री पौडेलले बताएका हुन्। साउनदेखि फैलिएको डेंगी भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको सरसफाइको कार्यक्रम अगाडि बढाइने विषयमा छलफल भएको बताइएको हो ।

उपत्यकालगायत देशभर सातामा एक दिन सफाइ अभियान सञ्चालनमा ल्याइनेसमेत बताइएको छ। लामखुट्टे हुर्कने वातावरण अर्थात् पानी जम्न नदिन नियमित सरसफाइमा स्थानीय तहले विशेष कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको हो ।

सचेतना, नियन्त्रण र सरसफाइका लागि सहकार्यमा स्थानीय तहहरूको ठूलो भूमिका रहेकाले छलफल गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका हुन्। साथै, डेंगी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क राखेर सुरु गरिएको उपचार सेवासमेत प्रभावकारी भइरहेको मन्त्रालयले जनाएको हो ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले खानेपानीको गुणस्तर नपुर्‍याउनेलाई कारबाही गर्न तथा निजी अस्पतालहरूबाट तथ्यांकमा सहयोग नमिलेको भन्दै सघाउन मन्त्रालयलाई आग्रह गरेका छन् । ललितपुर महानगरले सरसफाइमा जोड दिइएको बताएको छ भने काठमाडौं महानगरले हरेक साता लामखुट्टेको खोजी तथा नियन्त्रण कार्यलाई गति दिइरहेको बताएको छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्: