लोकतन्त्र समाचारदाता— सर्लाही,भदौ ९
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीको आयोजनामा वार्षिक समिक्षा गोष्ठी तथा समन्वय बैठक जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
शुक्रवार सम्पन्न उक्त बैठकमा जिल्लाका २० वटै स्थानीय तह अन्तर्गतका पशु सेवा शाखा प्रमुखहरूले गत आर्थिक वर्ष २०८०/०८१ मा सम्बन्धित शाखाबाट संचालन भएका क्रियाकलाप तथा कार्यक्रमहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहलले पशु सेवा शाखाहरुले प्रस्तुत गरेको संस्थागत रिपोर्ट राम्रो भएको र अझै थप प्रभावकारी काम गरेर अगाडी बढ्नु पर्ने बताएका थिए ।
सोही अवसरमा पशु सेवा तर्फ उत्कृष्ट कार्य गर्ने पालिकाहरुलाई कदरपत्र द्वारा सम्मानित समेत गरिएको थियो ।
वर्ष भरीको काम र शाखा प्रमुखहरुको प्रस्तुतीकरणको आधारमा मुल्यांकन समितिको निर्णयअनुसार क्रमशः प्रथम ,द्वितीय , तृतीय र चौथो हुने हरिवन नगरपालिका , विष्णु तथा चन्द्रनगर गाउँपालिका एवं बागमती न.पा लाई कदरपत्र द्वारा सम्मानित गरिएको कार्यक्रमका संचालक श्यामसुन्दर यादवले जानकारी दिए।
विज्ञ केन्द्र मलंगवाका प्रमुख उपेन्द्र कुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उक्त कार्यक्रममा सेवानिवृत भएका पशु विकास अधिकृत डा.जय प्रकाश यादवको बिदाइ गरिएको थियो।