मनोज यादव— सर्लाही,भदौ १४
सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा अती जोखिममा रहेका बालबालिका र समुदायका लागि संचालित परियोजनाहरु प्रभावकारी रहेको परियोजना सल्लाहकार समितिका सदस्यहरुले निष्कर्ष निकालेका छन् ।
वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बागमती सेवा समाज नेपाल हरिवन र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाले संयुक्तरूपमा जिल्लाको हरिपुर्वा र पर्सामा संचालन गर्दै आएको संरक्षण समुदाय संलग्नता स्पोन्सरसीप कार्यक्रम तथा एकीकृत पोषण उत्थानशील जिविकोपार्जन परियोजनाहरुको संयुक्त अनुगमनको क्रममा परियोजना सल्लाहकार समितिका सदस्यहरुले यस्तो निष्कर्ष निकालेका हुन।
उज्यालो सर्लाही परियोजना अन्तर्गत पर्सा गाउँपालिकाको वडा न-५ स्थित बर्थिङ सेन्टरलाई प्रदान गरिएको १३ लाख २५ हजार रुपैयाँ लागतको यु.एस.जी मेसिनको मद्दतले गर्भवती महिलाको स्वास्थ्य र भ्रुणको अवस्था समयमै पहिचान गरि सुरक्षित प्रसूति सुनिश्चित गरेको छ।
गत जेठ १४ गतेबाट यु.एस.जी सेवा सुरु भएपछि हालसम्म ११२ जना गर्भवती महिलाहरुले सेवा प्राप्त गरिसकेका छन् ।
प्रति महिना १५ देखि १७ जना गर्भवती महिलाहरुले सेवा लिंदै आएकाले यो कार्यक्रम ग्रामीण स्तरको लागि अतीनै प्रभावकारी भएको समितिका सदस्यहरुले बताएका छन् ।
त्यस्तै संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप कार्यक्रम परियोजना अन्तर्गत हरिपुर्वा नगरपालिकाको वडा न-७ मा बाल मैत्री सिकाई केन्द्र द्वारा संचालित सहयोगी बाल क्लब तथा रुपान्तरण समूहमा आवद्ध बालबालिका तथा किशोरकिशोरीहरु जीवन उपयोगी सीप बारे बताउन सक्ने भएका छन् ।
यसअघि बालअधिकारको विषयमा अनविज्ञ रहेका बालबालिका तथा किशोरकिशोरीहरु सामुदायिक स्तरका अभियान र व्यवहार परिवर्तन सम्बन्धि कार्यक्रमहरु संचालन गर्न थालेका छन् ।
उनीहरू बालविवाह तथा दाइजो प्रथा विरुद्ध सडक नाटक र घरदैलो अभियान चलाएर व्यवहार परिवर्तनमा लागेको बताएका छन् ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको नेतृत्वमा भएको संयुक्त अनुगमनमा उपप्रमुख जितेन्द्र कुशवाहा,सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे सहित शिक्षा तथा समन्वय ईकाई, कृषि ज्ञान केन्द्र,स्वास्थ्य कार्यालय ,जिल्ला प्रहरी कार्यालयलका प्रमुख तथा प्रतिनिधि ,संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।