मनोज यादव— सर्लाही,भदौ २४
सर्लाहीको विष्णु गाउँपालिकाले पालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयमा अध्यनरत किशोरी छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष जवाहरलाल यादवले उनीहरूलाई प्याड वितरण गरेका हुन।
महिनावारी भएको अवस्थामा छात्राहरु बिद्यालय नजाने र शैक्षिक गुणस्तरमा प्रभाव पार्ने अवस्थालाई न्युनिकरण गर्न प्याड वितरण गरिएको गाउँपालिका अध्यक्ष यादवले जनाएको छ।
शिक्षित नारी समाज परिवर्तनका वाहक हुने भन्दै महिला शिक्षाको प्रवर्धनका लागि प्याड बितरण कार्य उपलव्धिमुलक हुने आशा राखेको गापा अध्यक्ष यादवले बताए ।
महिनावारी भएका बेला छात्राहरू विद्यालय आए पनि बिचमै कक्षा छाडेर जाने,लजाउने जस्ता समस्या खेप्दै आएकाले अब यो समस्या हटेर जाने सबै विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् ।
अब छात्राहरुमा महिनावारी भएका बेला विद्यालय नआउने बाध्यताको अन्त्य भएको उनीहरुले बताए ।
पहिले विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुँदा आफूहरूको पढाइ छुट्ने, अध्ययन गर्दा गर्दै महिनावारी हुँदा एकदमै गाह्रो हुने, पढाइ छोडर घर जानुपर्ने बाध्यता थियो तर, अब भने ती समस्याबाट मुक्त भएको सेनरटरी प्याड पाएका छात्राहरुले भने।
शिक्षा हासिल गर्नका लागि विभिन्न कुराको खाँचो हुने भएजस्तै छात्राहरूका लागि सेनेटरी प्याड पनि महत्वपूर्ण भएकोले अब सेनेटरी प्याडको व्यवस्था भएपछि राम्रो शिक्षा हासिल गर्नमा मद्दत पुग्ने उनीहरुले बताए ।