मनोज यादव— सर्लाही,भदौ २६
नेपाल विद्युत प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत चुहावट सर्लाहीको मलंगवा वितरण केन्द्रको रहेको पाइएको छ।
गत आर्थिक वर्ष २०८०/०८१ मा मलंगवा वितरण केन्द्रको विद्युत चुहावट ४२.९७ प्रतिशत रहेको वितरण केन्द्रले जनाएको छ।
मलंगवा वितरण केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आ.व मा १.३१ प्रतिशतले चुहावट बढेको हो।
अघिल्लो आ.व मा जम्मा विद्युत चुहावट ४१.६३ प्रतिशत रहेको थियो।
नियमितरूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण अभियानका कारण पनि चुहावट बढेको वितरण केन्द्र मलंगवाका अनियमितता तथा चुहावट नियन्त्रण प्रमुख कुमल कान्त झा ले बताए ।
प्रमुख झा का अनुसार प्राधिकरणले गत आ.व मा विद्युत चुहावट नियन्त्रण अभियान मार्फत विभिन्न तरिकाले बिजुली चोरी गरिरहेका ३ सय ७९ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर उनीहरु उपर कार्यवाही चलाएर जरिवाना बापत २ करोड ९४ लाख १ हजार ४७० रुपैयाँ असुल उपर गरेको छ ।
गत आ.व मा वितरण प्रणालीमा ७ करोड ७८ लाख ५८ हजार ५५७ किलोवाट युनिट विद्युत् प्राप्त भएकोमा ४ करोड ४४ लाख ४ हजार ७८८ किलोवाट युनिट बिक्री भएको थियो भने ३ करोड ३४ लाख ५३ हजार ७६९ युनिट विद्युत चुहावट भएको थियो।
त्यस्तै अघिल्लो आ.व २०७९/०८० मा ६ करोड ५२ लाख ८७ हजार १८६ किलोवाट युनिट विधुत प्राप्त भएकोमा ३ करोड ८१ लाख १० हजार ४१९ युनिट विधुत बिक्री भएको थियो भने २ करोड ७१ लाख ७६ हजार ७६६ युनिट विद्युत चुहावट भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले गत आ.व मा अनियमितता गरेका २ हजार ४५९ जना ग्राहकहरुको लाइन काटेका थिए ।
जसमध्ये २ हजार २ सय जनाले रिकनेक्सन गराइसकेका छन् ।
छिनछिनमा बत्ती जाने ,भोल्टेज कम दिने जस्ता गुनासाहरु ग्राहकहरुबाट आउने गरेकाले यसको समाधानका लागि मलंगवा सबस्टेसनमा ८ एम.भि.ए को ट्रान्सर्फमर हटाएर अहिले २४ एम.भि.ए को ट्रान्सर्फमर जडान गरेको अनियमितता तथा चुहावट नियन्त्रण प्रमुख झा ले जानकारी दिए ।
विधुत अनियमित हुनुमा प्रमुख कारण पालिकाले पोलपोलमा जडान गरिदिएको हाइभोल्टको सडक बत्ती पनि रहेको छ। उक्त सडक बत्तीहरु चौबीसै घण्टा बलिरने गरेकोले पनि विधुत अनियमित भएको उनले भने।
पालिकाले साथ र सहयोग गरेको खण्डमा घेरै हदसम्म विधुत अनियमित र चुहावट हुनबाट रोक्न सकिने उनको भनाई छ।
चालु आ.व २०८१/०८२ मा समग्र प्रणालीको विद्युत् चुहावट ३० प्रतिशतमा झार्ने लक्ष्य लिएको वितरण केन्द्र मलंगवाले जनाएको छ।