लोकतन्त्र समाचारदाता— सर्लाही,असोज ८
सर्लाहीको गोडैता ,हरिपुर र इश्वरपुर नगरपालिकाका विभिन्न वडामा बालविकासका शिक्षकहरुको लागि सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवा र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित समुन्नती परियोजना अन्तर्गत गोडैता नगरपालिकाको वडा न-५ स्थित श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक आधारभुत विद्यालय, रामबन तथा ग्रामिण नारी उत्थान संघ हरीपुर द्वारा ईश्वरपुर र हरिपुर न.पा का जम्मा ४१ जना बालबिकास शिक्षकहरुलाई बालबिकास भ्रमण तथा सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा सहभागी बालविकास शिक्षकहरुलाई तीनवटै पालिका अन्तर्गतका विद्यालयहरुमा संचालित बालविकास कक्षादेखि सबै कक्षा र अन्य व्यवस्थापन पक्षहरुको अवलोकन गराइएको संस्थाले जनाएको छ ।
अवलोकन पश्चात समीक्षा बैठकको आयोजना गरि बैठकमा सहभागी भएका सहभागीहरुले विद्यालयको व्यवस्थापन पक्ष, कक्षा कोठा, विद्यार्थीको उपस्थिति, बालविकास केन्द्र र त्यहाँ प्रयोग गरिएका शैक्षिक सामग्रीहरु राम्रो र व्यवस्थित रहेको बताउँदै विद्यालय र त्यहाँ कार्यरत शिक्षकहरुले गर्दै आएको कार्यको सराहना गरेका थिए।
साथै विद्यालयलाई अझ राम्रो बनाउन सर्बप्रथम बालविकासलाई प्राथमिकतामा राखेर अन्य स्थानिय सामग्रीहरुको उपलब्धता बढाएर शिक्षण गर्न सुझाव दिएका थिए।
समीक्षा बैठकमा विद्यालयका प्र.अ. रामप्रकाश महतोले सहभागीहरुको सल्लाह सुझावलाई आत्मसात गर्दै कार्तिक मसान्त भित्र नै बालविकासलाई राष्ट्रिय मापदण्ड अनुसार थप सामग्रीहरुको उपलब्धता गर्न र अझ व्यवस्थित तरिकाले पठनपाठन गर्ने गराउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा ग्रामिण नारी उत्थान संघ हरीपुर कार्यसमितिका सदस्य सोवतिया देवि, शिक्षा अधिकृत, सुपरभाइजर, अनुगमन मुल्यांकन सहायक तथा ईश्वरपुर र हरिपुर न.पा का बालबिकास शिक्षकहरु, राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाका शिक्षा अधिकृत, सुपरभाइजर, अनुगमन र मुल्यांकन सहायक, समुदाय परिचालक लगायतको उपस्थिति रहेको शिक्षा अधिकृत चन्द्रशेखर सहनीले जनाएको छ।