मनोज यादव— सर्लाही,मंगलबार १६
शनिवार आएको बाढीले सर्लाहीका १६ सय भन्दा बढी घर परिवार प्रभावित भएका छन् ।
जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने विभिन्न गाउँ बस्ती अहिले पनि डुवानमा परेका छन् ।सो क्षेत्रका बासिन्दाहरुको अवस्था यतिबेला दयनीय बनेको छ। अविरल वर्षका कारण बागमती,कालिन्जाेर, फुलजाेर र झिम नदीमा आएको बाढीका कारण ठुलो मानवीय क्षति नभएपनि जिल्लाकाे दर्जनौं बस्तीहरु ढुवानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको तथ्यांकअनुसार पानीको भेल गाउँ बस्तीमा प्रवेश गरेका कारण जिल्लाको बरहथवा, बलरा, बसबसिया,रामनगर र धनकौल पालिकाका दर्जनौं गाउँ बस्तीहरुमा व्यापकरुपमा धनमालको क्षती भएको छ।
बाढीले २९० घरहरुमा पुर्णरुपले क्षति पुर्याएको छ भने ५७४ घरहरुमा आंशिक रुपमा क्षति पुर्याएको छ। पानी पर्न रोकिए पनि बाढी पिडित सर्वसाधारणहरु अझैपनि कष्टकर जीवन जीउन बाध्य छन् ।
गाउँहरु अहिलेपनि जलमग्न अवस्थामा रहेको छ । पानीको उचित निकास नहुँदा बलरा नगरपालिकाको वडा न-३ लक्ष्मीपुर र वडा न-४ बलरा अझै पनि डुबानमा छन्।
निरन्तरको वर्षाले बागमती नदीमा आएको बाढी बाँध नाघेर जिल्लाकाे बसबरिया गाउँपालिकाकाे बस्तीमा पसेको थियो । डुवानका कारण किसानले लगाएका अन्न ,तरकारी उखुलगायतका बालीनालीमा ठुलो क्षति पुगेको छ ।
खेतहरु सबै बगरमा परिणत भएको छ। वर्ष भरिको जोहो गरेर राखिएको खाद्यान्न सामाग्री समेत बाढीले बगाएर लगेपछि अहिले आफुहरुलाई खान,लगाउन र शुद्ध पिउने पानीको समस्या भएको स्थानीयहरुले बताए छन्।
४ दिनदेखि सानासाना बालबालिकाहरु सहित आफुहरु राम्रो सँग खान र सुत्न नपाएको पिडितहरुले दुखेसो पोखेका छन् । यस्तो अवस्थामा पनि सरकारले राहत वितरणमा कुनै चासो नदिएको र क्षतिको निरिक्षण गर्ने नाउँमा फोटोहरु मात्र खिंचेर लाने गरेको उनीहरूले गुनासो गरेका छन् । घर भित्र राखिएका खाद्यान्न सामाग्री समेत पानीमा गलेर नष्ट भएको छ ।
खाद्यान्न मात्र नभइ बाढीले भाँडाबर्तन,लत्ताकपडा र अतिआवश्यक कागजपत्रहरु पनि बगाएको उनीहरूले दुखेसो सुनाएका छन् । बाढीबाट सर्लाहीमा २ जनाको मृत्यु भएको तथा २ जना हराईरहेको जिल्ला विपत व्यवस्थापन समितिको प्रारम्भिक तथ्याङकमा उल्लेख गरिएको छ। मधेश प्रदेश सरकारले बाढीपीडितहरूकाे सहयाेगका लागि ठुलाे राहत दिने घाेषणा गरे पनि आम जनताहरु भाेकभोकै बस्नु परेकाे छ।
बाढी पिडितहरू समस्या भाेगिरहेको अवस्थामा तत्काल राहतको व्यवस्था गर्नुपर्नेमा प्रदेश बिपत व्यवस्थापन समिति भने मिटिङ्ग माथि मिटिङ्ग गरेर मात्र बसेकाे भनदै पुर्व मधेस प्रदेश प्रमुख डा. राजेश अहिराजले दुख व्यक्त गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा यतिबेला खान र बस्न समस्या भइरहेको साथै महामारीको समेत जोखिम बढ्दै गएकोले राहतकाे पर्खाइमा निराशा भएर बसेका पिडित नागरिकहरुको समस्या छिटोभन्दा छिटो समाधान गरिदिन डा.अहिराजले छाएकोले ।
सराेकारवाला निकायहरुसँग आग्रह गरेका छन् । यता जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले जिल्लाका बाढी तथा डुवान प्रभावितहरुलाई पिउने पानी तथा अन्य खाद्य तथा खाद्य सामग्रीको तत्काल आवश्यक्ता भएकोले सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय मार्फत संकलन भएको प्रभावितहरुको संख्याको आधारमा प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आवश्यक राहत प्रबन्ध गर्ने निर्णय गरेको बताएका छन् ।
उनले राहत बितरण गर्न चाहने संघसंस्था,निकाय र ब्यक्तिले जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिई स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणाली अनुसार राहत बितरण गर्न जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेको जानकारी गराएका छन् ।
बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन जिल्ला स्वास्थ्य कार्यालयको संयोजकत्वमा निजी क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई समेत सहभागी गराई आवश्यक औषधी सहितको स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा खटाउने, प्रभावित क्षेत्रका बासीन्दाहरुलाई शुद्ध खानेपानीको अभाव हुन नदिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र भूमिगत जलस्रोत कार्यालयले स्थानीय तह तथा गैरसरकारी संघसंस्थाहरुसँग समन्वय गरी शुद्ध खानेपानीको आपूर्ति सुनिश्चित गर्न समितिले निर्णय गरेको जिसस प्रमुख सिंहले जानकारी गराएका छन् ।
समितिले जेसुकै निर्णयहरु गरेपनि पडितहरुलाई यतिबेला खान,बस्न र शुद्ध पिउने पानीको आवश्यक्ता रहेकोले सरोकारवाला निकायले तत्कालै यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।