वीरगञ्ज। वीरगञ्ज मुख्य भन्सार हुँदै चाइनिज लहसुनको भारततर्फ अवैध तस्करी तीव्र भएको छ।
स्थानीय तस्करहरूले वीरगञ्ज महानगरपालिकाको मिना बजारबाट चाइनिज लहसुन खरिद गरी शंकराचार्य गेट हुँदै प्रहरीकै मिलेमतोमा रक्सौलतर्फ तस्करी गरिरहेका छन्।
तस्करीको यो कार्य दिनभर पाँचवटा अटो रिक्सा प्रयोग गरी भइरहेको छ, जसको भिडियो प्रमाणले यो गतिविधि उजागर गरेको छ।
भारतमा लहसुनको मूल्यमा भएको वृद्धिसँगै तस्करहरूको ध्यान चाइनिज लहसुनमा आकर्षित भएको छ।
तस्करहरूले वीरगञ्ज बजारबाट सस्तो मूल्यमा चाइनिज लहसुन खरिद गरेर सीमापार रक्सौलमा महँगो मूल्यमा बिक्री गरिरहेका छन्।
यो अवैध गतिविधिमा सशस्त्र प्रहरी र प्रहरी चौकी इनर्वाका केही कर्मचारीहरूको पनि संलग्नता रहेको आशंका गरिएको छ। उनीहरूले आर्थिक लाभ उठाउँदै तस्करीमा सहयोग पुर्याइरहेको स्थानीय स्रोतले जनाएको छ।
यसैबीच, सर्वसाधारणले रक्सौलबाट आफ्नो व्यक्तिगत र व्यापारिक सामग्री ल्याउँदा सीमामा खटिएका प्रहरीले दुःख दिने गरेको गुनासो गरिरहेका छन्। तर, तस्करीको काम खुलेआम चलिरहेकाले स्थानीयमा असन्तुष्टि बढेको छ।
यसले सीमा सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ र यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने देखिएको छ। यात्रा डेली