Loktantra Khabar National Weekly
Ad

करोडौँको सुन बरामदपछि प्रहरी पनि शंकाको घेरामा

लोकतन्त्र खबर
२० आश्विन २०८१

नेपाल–भारतको खुल्ला सीमा नाकाका कारण धनुषाबाट करोडौँ मूल्य बराबरको सुन तस्करी हुँदै आएको रहस्य खुलेको छ । भारतमा नेपालभन्दा १८ हजार रुपैयाँले प्रति तोला सुन सस्तो भएका कारण सुन तस्करी बढेको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट ११ करोड रुपैयाँभन्दा बढीको सुन बरामद भए पछि जनकपुरधामबाटै सुन तस्करी हुने गरेको रहस्य खुलेको हो । मकवानुपरको हेटौँडा–१५ स्थित रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले बरामद गरिएको सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको जनाएको छ । सो परिमाणको सुन सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रान्तका सांगली जिल्ला दिघंची थाना पुजारवाडीका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको उनले बताए ।

प्रहरी उपरीक्षक खड्काले बताए अनुसार सो सुन नेपाल–भारतको सीमा नाका हुँदै जनकपुरधामबाट भित्रियाइएको र सो सुन लिएर पथलैयासम्म उनीहरु बसबाट आएको बताए । त्यसपछि पथलैयाबाट उनीहरू स्कुटरमा हेटौँडा तर्फ आउँदै गरेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्दा सो सुनसहित दुई जनालाई पक्राउ गरिएको उनले बताए ।

आरोपितहरु पक्राउ परेपछि उनीहरुले सो सुन जनकपुरधामबाट पटक पटक ल्याइएको र काठमाण्डु लगिएको बताए पछि सुन तस्करीको अखाडा जनकपुरधामसमेत रहेको देखिएको छ । आरोपितहरुले काठमाण्डुको गौशालामा सुन बुझाउने गरी जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रहरी उपरीक्षक खड्काले असोज १९ गते बिहानको अन्दाजी ३ः०० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५ स्थित रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२– ०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको बताए ।

शंकाको आधारमा स्कुटर रोकी चेकजाँच गर्दा बाड र कुटीले शरीरको विभिन्न भागमा लुकाएर सुन ल्याएको भेटिएको उनले बताए । आरोपितहरुले शरीरभरी टेपको सहायताले रुमाल बेरेर बिस्कुटको आकारको ८ थान सुन लगिरहेको अवस्थामा फेला पारेको उनले बताए । नेपालभन्दा भारतमा सुन सस्तो रहेको हुनाले भारतबाट सुन तस्करी हुने गरेको प्रहरीको अनुमान छ ।

नेपालमा करसहित प्रति तोला १ लाख ६० हजार ९ सय रुपैयाँ पर्ने गरेको छ भने भारतमा करिब १८ हजार कममा प्रति तोला सुन पाइने गरेको छ । भारतमा करिब १ लाख ४२ हजार ९ सय रुपैयाँ प्रति तोला सुन पाइन्छ । नेपालमा सुनको दरमा ५ प्रतिशत कर थपिदाँ महगो भएको सुन व्यवसायी अजय ठाकुरले बताए ।

नेपालभन्दा भारतमा सस्तोमा सुन पाइने गरेकाले सुन तस्करी हुने गरेको सुन व्यवसायीहरु बताउँछन् । मधेश प्रदेश प्रहरीका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले धनुषाबाट सुन तस्करी हुनु गम्भीर अपराध रहेको बताए ।

हेटौँडामा सुनसहित पक्राउ परेका दुई जनाले पटक पटक सुन नेपाल भित्रियाइएको भन्ने कुरा बाहिरिएपछि आफूले समेत धनुषाबाट सुन तस्करी हुने गरेको उनले बताए ।

धनुषाबाटै सुन तस्करी लामो समयदेखि हुँदै आएको भन्ने कुरा बुझिएकोले यस विषयमा गम्भीर अनुसन्धान थाल्ने र प्रहरीको मिलेमतोमा लामो समयदेखि हुँदै आएको सुन तस्करी सम्भव नरहेकाले यस घटनालाई गम्भीर रुपमा लिएको बताए ।

प्रहरी नायव महानिरीक्षक आचार्यले भने, ‘ धनुषाको सीमा नाका हुँदै जनकपुरधामबाट पथलैया गएको र त्यहाँबाट स्कुटरमा काठमाण्डु जाँदै गर्दा बाटोमा पक्राउ परिएको सूचना आफूले सुने र यसबारेमा गम्भीर रुपमा बुझ्दै छु ।कहाँनिर कमीकमजोरी कसको भएको छ भन्ने कुरा पनि बुझ्नै पर्छ ।’

उनले अघि थप्दैँ भने, सुन तस्कर सीमा नाकाबाटै भएकाले धनुषासंग जोडिएका सबै भन्सार कार्यालयमा यदि सिसिटिभि क्यामेरा लागेको छ भने सोको फुटेज पनि अवश्य नै होला र अर्को कुरा प्रहरीको मिलेमतो बिना यस्ता खाले घटना लामोसमयसम्म हुन नसक्ने हुनाले प्रहरी अधिकारीहरु माथि पनि अनुसन्धान हुनेछ ।’ उनले सुन तस्करीमा कुनै पनि प्रहरी अधिकारीको मिलेमतो पुष्टि भएमा कुनै पनि हालतमा नछाडिनेसमेत बताए ।

यता पक्राउ परेका कुटी र बाडले यसअघि असोज ८ गते २ किलो सुन काठमाण्डु पु¥याएको प्रहरी उपरीक्षक खड्काले बताए । उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुनसक्ने उनलाई जानकारी दिए । हङकङको गिरोहसंग ह्वाट्स एपमा कुराकानी हुने गरेको समेत खुलेको छ ।

मकवानपुर प्रहरीले यसअघि असोज १५ गतेमा पनि ६७ लाख रुपैयाँ मूल्यको ४९० ग्राम ८८० मिलिग्राम सुनसहित एक जना भारतीयलाई पक्राउ गरेको थियो ।

हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नम्बरको यात्रुबाहक ईभी माईक्रोलाई जाँच गर्दा भारत बिहारको फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफलाई सुनसहित पक्राउ गरिएको थियो । जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: