मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि हातपातको प्रयास भएको छ ।
डुबानबाट प्रभावित वीरगञ्ज महानगरपालिकाका पीडित वासिन्दाहरुले मेयर सिंहमाथि आक्रमक देखिएका थिए । वीरगञ्जको वडा नम्बर १७ स्थित अलौका स्थानीय वासिन्दाद्वारा मेयर सिंहमाथि हातपातको प्रयास भएको हो ।
वीरगञ्ज महानगरपालिका अन्तर्गत बहुअरी ,सुगौली र हरतपतगञ्जको वासिन्दाहरुको १ सय विघाभन्दा बढी खेत डुबानमा परेको छ । स्थानीय वासिन्दाहरुले डुबान खोलाउन मेयर सिंहलाई पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरेको आरोप छ । नगर प्रहरीलाई आइतबार पानीको मुहान खुलाउन पठाउँदा विवाद भएको थियो । पानीको बहाव खुलाउन कर्मचारी जाँदा अलौ र कोन्हियावासीले अवरोध गरेका थिए ।
स्थानीय वासिन्दाहरुले अवरोध गरेपछि नगर प्रहरीलगायतका कर्मचारीहरुले बल प्रयोग गरे । नगर प्रहरीले बल प्रयोग गर्ने क्रममा स्थानीय वासिन्दाले हातपात गर्दै खेदेका थिए । स्थानीय वासिन्दाहरुले खेदेको कारण नगर प्रहरीलगायतका कर्मचारीहरु पनि आक्रोशित भएका थिए । तर तत्काल ठूलो विवाद भने उत्पन्न नभएको प्रत्यक्षदर्शीहरुले बताए ।
नगर प्रहरीलाई स्थानीयले धपाएपछि मेयर सिंह सोमबार दिउँसो दलबलका साथ त्यहाँ पुगेका थिए । मेयर सिंह त्यहाँ पुग्ने वितिकै आइतबारको घटनामा संलग्न रहेका भनिएको सुदर्शन लामिछानेको कठालो समातेर तान्दै गाडीमा राख्ने प्रयास गरिरहँदा स्थानीय बचाउमा उत्रेका थिए । स्थानीय प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा नगर प्रहरीलगायतका कर्मचारीहरुले बचाउ गरेको देखिन्छ । तनाव बढेपछि घटनास्थलमा रहेका प्रत्यक्षदर्शी पर सरेका थिए ।
लामिछानेको बचाउ गरिरहेका स्थानीय वासिन्दाले मेयर सिंहमाथि हातपात गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । तर स्थानीय वासिन्दाहरुले मेयर सिंह गुण्डाशैलीमा लामिछानेलाई तान्दै गाडीमा राख्न चाहेको आरोप लगाएका छन् । छलफलबाट समस्याको समाधानको पहल नगरी मेयर सिंह सोझै आक्रमक रुपमा प्रस्तुत भएको स्थानीयको आरोप छ ।
मेयर सिंहले दादागिरी गर्न खोजेपछि स्थानीयले प्रतिकार मात्र गरेको लामिछाने पक्षले जनाएका छन् । तर नगरका कर्मचारीहरुका अनुसार सुदर्शन लामिछाने लगायतका केही व्यक्तिहरुले मेयर सिंहलाई धक्कामुक्की गर्न खोजेका थिए । तर नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा धक्कामुक्की गर्न खोज्नेहरुलाई पाखा लगाइएको एकजना कर्मचारीले जनाए ।
मेयर सिंहले वडा अध्यक्षलाई समेत विवाद सुल्झाएर पानीको मुहान खुलाउन सहयोग नगरी स्वयं दादागिरी गर्न जानु ठिक नभएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए । मेयर सिंह आक्रमक रुपमा प्रस्तुत भएपछि विवाद चर्किएको बताइन्छ । सुदर्शन लामिछाने लगायतका अलौवासीहरुले नगर प्रहरी र मेयर राजेशमान सिंहमाथि जाइलागेका थिए ।
लामिछाने वडा नम्बर १७ को नेपाली कांग्रेस बुथ सभापति हुन् । उनीहरुले पानीको मुहान खोल्दा अर्कोतर्फ डुबान हुने भएकाले दुवैतर्फ क्षति नहुने गरी समाधान खोज्न आग्रह गरेको बताइन्छ । अलौवासीहरुले पानीको मुहान थुनेको मेयर सिंहको आरोप छ । वर्षा भएदेखि नै खेत डुबानमा छ । पानीको निकास नहुँदा वाली नष्ट हुने किसानको चिन्ता छ ।
उनीहरुले कयौं पटक पानीको मुहान खुलाउन प्रयास गरेका हुन् । तर समस्या समाधान हुन सकेको छैन । सोमबार भएको हात हालाहालले विवाद झन चर्किएको छ । मेयर सिंह कयौं पटक यस किसिमको विवादमा परेका छन् । कार्यालय परिसरमा समेत उनी यस प्रकारको विवादमा परेका थिए । प्रहरीले ४ जना स्थानीय वासिन्दालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले शान्तिसुरक्षाका लागि ४ जनालाई नियन्त्रणमा लिएको बताएका छन् । तर उनीहरुमाथि कुनै मुद्दा दर्ता भइनसकेको बताउँदै उनले मंगलबार यस सम्बन्धमा निर्णय गरिने बताए ।
नागरिकता लगायतको विवादमा रहेका मेयर सिंह भ्रष्टाचारमा समेत मुछिएका छन् । नेपालको झण्डा ३५ हजारमा बनाएको अरोपमा परेका मेयरमाथि कारबाहीको माग गर्दै विभिन्न निकायहरुमा उजुरीसमेत परेको छ । जनकपुर टुडे