नेपालको वर्तमान राजनीतिक अस्थिरता केवल केही व्यक्तिहरूका असफलताको कथा होइन । यो संस्थागत पतनको एक गहिरो गाथा हो, जसले महाभारत महाकाव्यसँग अचम्मको समानता राख्छ । महाभारतमा जसरी शासन प्रणालीको विघटन र धर्मको पतनले समाजलाई विनाशतिर पुर्यायो, आज नेपालका लोकतान्त्रिक संस्थाहरू पनि उस्तै संकटमा फसेका छन् ।
शक्ति संघर्ष, भ्रष्टाचार र राजनीतिक अवसरवादको भुमरीले यी संस्थालाई कमजोर बनाउँदै लगेको छ, र देश दिशाहीन बन्दै छ ।
महाभारतको कालजयी कथा युद्धको मात्र होइन, संस्थागत असफलताले समाजलाई कस्तो तहसनहस बनाउँछ भन्ने पाठ हो । जब जनताको विश्वास र संस्थाहरूको शक्ति नै क्षीण हुँदै जान्छ, तब विनाश अघोषित रूपमा आउने सम्भावना प्रबल हुन्छ । महाभारतको त्रासदीले देखायो कि संस्थागत धर्म पतनको बाटोमा लाग्दा समाजले त्यसको मूल्य महँगो रूपमा चुकाउनुपर्छ ।
आज नेपालका लोकतान्त्रिक संस्थाहरू यही मोडमा उभिएका छन् । यो स्थिति समस्या पहिचानमा मात्र सीमित छैन । यसको समाधान खोज्नु महत्त्वपूर्ण छ । महाभारतले एउटा स्पष्ट शिक्षा दिन्छ— संस्थाहरूको पतनलाई रोक्न सुधार र पुनर्निर्माणको विकल्प छैन । के हामी इतिहासबाट सिक्न तयार छौं, कि फेरि त्यही गल्ती दोहोर्याएर विनाशतर्फ अग्रसर हुनेछौं ?
संसद् : अक्षम हस्तिनापुर दरबार
जसरी कुरु वंशको हस्तिनापुर दरबारमा धृतराष्ट्र र शकुनिजस्ता पात्रहरूले कौरव र पाण्डवबीचको संघर्षलाई समाधान गर्न असफल भए, आज नेपालको संसद् पनि त्यही मोडमा उभिएको छ । संसद् जनताको हितमा काम गर्ने मञ्च हुनुपर्ने हो, तर यो व्यक्तिगत स्वार्थ र सत्ता संघर्षको रणभूमि बनेको छ ।
बारम्बारको संसद् विघटन र गठबन्धनहरूको खेलले व्यवस्थापकीय प्रक्रियालाई अवरुद्ध पारेको छ । धृतराष्ट्र जसरी आफ्नो पुत्र मोहमा अन्धो भएर न्यायको रक्षा गर्न असफल भए, नेपालका नेताहरू पनि आफ्नो व्यक्तिगत स्वार्थमा फसेर राष्ट्रको कर्तव्य बिर्सिरहेका छन् ।
धृतराष्ट्रको अन्धमोह केवल एक व्यक्तिको कमजोरी थिएन । यो सम्पूर्ण कुरु वंशको पतनको मुख्य कारण बन्यो । उनले सधैं दुर्योधनको पक्षपोषण गरे, जसले अन्यायलाई संस्थागत बनायो र सम्पूर्ण राज्यलाई युद्धको विनाशतर्फ धकेल्यो । शकुनिले पनि बारम्बार षड्यन्त्र र कुटिल चालले दरबारलाई विभाजित गरे, जसले सत्ता संघर्षलाई अझ पेचिलो बनायो ।
आज नेपालको संसद्मा पनि यस्तै दृश्य देखिन्छ, जहाँ व्यक्तिगत स्वार्थ र राजनीतिक षड्यन्त्रहरूले राष्ट्रिय हितलाई गौण बनाएका छन् । यदि धृतराष्ट्रले पुत्रमोह त्यागेर न्यायको पक्षमा उभिने आँट गरेका भए महाभारतको विनाश टार्न सकिन्थ्यो ! यदि नेपालका सांसदहरूले सत्ता संघर्षभन्दा देशको हितलाई प्राथमिकता दिएका भए परिणाम कति भिन्न हुन्थ्यो ? स्पष्ट छ— देशले गुमाएका अवसरहरूको कथाले दु:खद यथार्थको चित्रण गर्छ ।
महाभारतमा दुर्योधनको अन्ध–महत्त्वाकांक्षा र धृतराष्ट्रको कमजोर नेतृत्वले केवल युद्धको बीजारोपण मात्र गरेन, राज्यका महत्त्वपूर्ण मुद्दालाई पनि बेवास्ता गर्यो । उदाहरणका लागि, जब युद्धको सम्भावना प्रस्ट थियो, विदुरले बारम्बार शान्ति र न्यायको पक्षमा आवाज उठाए । तर धृतराष्ट्र र दरबारका अन्य शक्तिशाली पात्रहरूले उनको सल्लाहलाई बेवास्ता गरे ।
यो घटनाले महाभारतको विनाशकारी युद्धलाई अवश्यम्भावी बनायो । विदुरको सत्य र न्यायको आवाजलाई अनदेखा गरिनु, नेपालको संसद्मा पनि जनहितका मुद्दालाई नजरअन्दाज गर्नुसँग तुलना गर्न सकिन्छ । बेरोजगारी, स्वास्थ्य सेवा र शिक्षाजस्ता प्रमुख समस्या संसद्को कार्यसूचीमा पर्न नसक्दा जनताको विश्वासमा गहिरो चोट परेको छ ।
आजको संसद् धृतराष्ट्रको दरबारजस्तै व्यक्तिगत स्वार्थ र अन्धविश्वासले भरिएको छ । धृतराष्ट्रले विदुरको सत्यको आवाजलाई दबाए, जसरी आज संसद्ले जनताको पक्षमा उठाइएका गम्भीर मुद्दा बेवास्ता गरिरहेको छ । जब संसद् राष्ट्रिय समस्या सम्बोधन गर्न असफल हुन्छ, तब उसले आफूले जोगाउनुपर्ने जनतालाई नै धोका दिएको हुन्छ ।
दार्शनिक रूपमा हेर्दा, यो संस्थागत तहमा धर्मको पतन हो । संसद् जनताको सामूहिक इच्छाशक्तिको प्रतीक हो, जसले जनहितका लागि विचार–विमर्श र निर्णय गर्नुपर्छ । तर अहिलेको संसद् धृतराष्ट्रको दरबारजस्तै व्यक्तिगत स्वार्थ, पुत्रमोह र सत्ता मोहको रणभूमि बनेको छ । जब धृतराष्ट्रले विदुर र कृष्णजस्ता सत्य र धर्मका आवाजलाई नजरअन्दाज गरे, तब हस्तिनापुर युद्धको विनाशको सिकार बन्यो ।
यसैगरी, नेपालमा पनि संसद् सत्य र न्यायको कर्तव्य बिर्सेर सत्ताको खेलमा मात्र केन्द्रित भएको छ । संसद्ले अब आफैंलाई गहिरो प्रश्न सोध्नुपर्छ— के यो केवल सत्ताको खेलमैदान हो कि राष्ट्रको आत्माको संरक्षक ? यदि संसद्ले आफ्नो उद्देश्य भुलेर व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन थाल्यो भने यसको परिणाम कुरु वंशको विनाशजस्तै हुनेछ ।
दलहरू : आधुनिक नेपालका कौरव र पाण्डव
महाभारतमा कौरव र पाण्डवबीचको द्वन्द्व केवल पारिवारिक झगडा मात्र थिएन । यो सत्ता, वैधता र पहिचानका लागि भएको गहिरो संघर्ष थियो । आज नेपालका राजनीतिक दलहरू पनि यस्तै शक्ति संघर्षमा फसेका छन्, जहाँ व्यक्तिगत र दलगत स्वार्थलाई राष्ट्रिय हितभन्दा माथि राखिन्छ ।
विचारधाराको अस्पष्टता र अवसरवादले ग्रस्त यी दल कौरव र पाण्डवजस्तै देखिन्छन्, जो ठूलो लक्ष्यका लागि एक हुन नसक्दा विनाशको बाटोमा लागे । जसरी दुर्योधनको निरन्तर सत्ता पाउने अन्धो लालसाले हस्तिनापुरको पतन निम्त्यायो, नेपालका राजनीतिक दलको निरन्तर खिचातानी र सत्ता खेलले देशलाई अस्थिरताको चक्रमा फसाइरहेको छ ।
महाभारतमा सत्ताका लागि बन्ने र भत्किने गठबन्धन जस्तै नेपालमा पनि दलहरूको बारम्बार विभाजन र गठबन्धन परिवर्तन अल्पकालीन लाभका लागि मात्रै भइरहेको छ । यसरी अल्पकालीन स्वार्थका लागि गरिने निर्णयले देशको दीर्घकालीन स्थायित्वलाई जोखिममा पार्छ, जसरी महाभारतमा कौरवहरूको सत्ता लिप्साले सम्पूर्ण वंशको विनाश निम्त्यायो ।
महाभारतले स्पष्ट देखायो— अवसरवादको मूल्य समाजले महँगो रूपमा चुकाउनुपर्छ । नेपालका राजनीतिक दलहरूले पनि यदि अवसरवादी खेल खेलिरहे भने परिणामस्वरूप समाजमा विखण्डन हुने र जनताको विश्वास खस्कने खतरा छ ।
जसरी हस्तिनापुरको दरबार अन्तत: नष्ट भयो, आजको नेपालको राजनीतिमा पनि त्यस्तै संकट आउन सक्छ, यदि सत्ताका लागि हुने अनियन्त्रित प्रतिस्पर्धा जारी रह्यो भने । युधिष्ठिर र दुर्योधन महाभारतका दुई महत्त्वपूर्ण पात्र हुन्, जो नेपालका नेताहरूको द्विविधालाई दर्शाउँछन् ।
युधिष्ठिर धर्मको प्रतीक भए पनि निर्णयविहीनताले उनी असफल भए, जबकि दुर्योधन दृढ र साहसी भए पनि अन्ध–महत्त्वाकांक्षाले उनलाई पतनको बाटोमा पुर्यायो ।
नेपालका नेताहरू पनि यस्तै नैतिक द्विविधामा फसेका छन्, जब उनीहरूलाई कठिन निर्णय लिनुपर्ने हुन्छ, उनीहरू युधिष्ठिरझैं अनिर्णय र भ्रममा फस्छन् या दुर्योधनझैं केवल सत्ताका लागि अघि बढ्छन् । यो नैतिक द्विविधा नै नेपालको अस्थिरताको प्रमुख कारण हो ।
यदि हाम्रा नेताले यस्तै अनिश्चितता र दुविधामा देशको भविष्यसँग खेल्न जारी राखे भने उनीहरूले महाभारतका पात्रहरूको गल्तीलाई दोहोर्याउने जोखिम मोलिरहेका छन् ।
यस्तो परिस्थितिमा देशको विकास र स्थायित्व स्थगित हुने मात्रै होइन, असफल नेतृत्वले राष्ट्रलाई गम्भीर संकटतर्फ धकेल्न सक्छ । नेपाली राजनीतिक परिदृश्यमा यो ‘अर्थ’ (सत्ता र सम्पत्ति) र ‘धर्म’ (कर्तव्य र न्याय) बीचको गहिरो द्वन्द्वको संकेत हो । जब सत्ता र सम्पत्तिका लागि हुने प्रतिस्पर्धा (अर्थ) जनताको सेवा (धर्म) भन्दा माथि राखिन्छ, संस्थाहरूले आफ्नो मूल उद्देश्य गुमाउँछन् ।
सत्ताका लागि गरिने हरेक निर्णयले नेतृत्वको वास्तविक उद्देश्यलाई परिभाषित गर्छ । दुर्योधन, जसले सिंहासनको लालसामा आफ्नो कर्तव्य र नैतिकता बिर्से, अन्तत: अधोगतिमा पुगे । नेपालका राजनीतिक दल पनि केवल सत्ताका लागि लडाइँ गरिरहेका छन् । सत्तालाई साध्य होइन, साधन बनाइनु आवश्यक छ ।
अब नेपालका दलहरूले आफैंलाई सोध्नुपर्ने समय आएको छ— सत्ता आफैंमा अन्तिम लक्ष्य हो कि जनताको सेवाका लागि साधन ? सत्ता प्राप्तिको लडाइँले मुलुकलाई अस्थिरतातर्फ धकेलिरहेको छ । महाभारतले देखाएको छ कि जब सत्ता नै सबैथोक बन्न पुग्छ, त्यसले समाजलाई टुक्रयाउँछ र अन्तत: पतनको बाटोमा लैजान्छ ।
न्यायपालिका : मौन दर्शक या धर्मको साँचो संरक्षक ?
महाभारतमा भीष्म र द्रोणजस्ता पात्रहरू आफ्नो प्रज्ञा र प्रतिष्ठाका बावजुद अत्यावश्यक क्षणमा न्यायको पक्षमा उभिन असफल भए । उनीहरूको मौनता र निष्क्रियताले अधर्मलाई प्रोत्साहन दियो, जसले अन्तत: कुरु वंशलाई विनाशको गहिराइमा पुर्यायो । आज नेपालको न्यायपालिका पनि यस्तै चुनौतीको सामना गरिरहेको छ, जहाँ राजनीतिक दबाबबीच उसले आफ्नो स्वतन्त्रता जोगाउन संघर्ष गरिरहेको छ ।
सर्वोच्च अदालतले संसद् विघटनको निर्णय उल्ट्याउँदा देशभर आशाको किरण देखिएको थियो । यो कदम द्रौपदीको चीरहरण रोक्न कृष्णले गरेको हस्तक्षेपजस्तै थियो— सही समयमा सही हस्तक्षेप ।
तर, त्यसपछि न्यायपालिकासँग सम्बन्धित विवादहरूले यसको विश्वसनीयता र निष्पक्षतामा गम्भीर प्रश्न खडा गरेका छन् । जब न्यायका संरक्षकहरू पक्षपाती वा राजनीतिक प्रभावमा परेको देखिन्छन्, लोकतन्त्रको आधार नै हल्लिन्छ । यसले न्याय प्रणालीमाथि जनताको भरोसा कमजोर बनाउँछ, ठीक त्यसरी नै जसरी कुरु वंशका ज्येष्ठजनहरूको मौनताले उनीहरूको वंशलाई विनाशको दिशामा धकेल्यो ।
भीष्मको चरित्रमा देखा परेको द्वन्द्व, राजनीतिक निष्ठा र व्यक्तिगत नैतिकताबीचको संघर्ष न्यायाधीशहरूको वर्तमान अवस्थासँग गहिरो रूपमा मेल खान्छ । भीष्म राजपरिवारप्रतिको निष्ठाका कारण अधर्मविरुद्ध बोल्न असफल भए, जसले उनलाई नैतिक पतनमा पुर्यायो ।
उनी आफ्नो प्रतिज्ञामा बाँधिएर रहे, तर यसले अन्तत: ठूलो सामाजिक विनाश निम्त्यायो । आज नेपालका न्यायाधीशहरू पनि यस्तै दोबाटोमा उभिएका छन् । के उनीहरूले संविधान र न्यायको रक्षा गर्दै समाजको हितमा निर्णय लिने साहस गर्नेछन् वा राजनीतिक दबाबमा परेर आफ्नो वैधता गुमाउने जोखिम मोल्नेछन् ?
यो द्वन्द्व केवल व्यक्तिगत कर्तव्य (स्वधर्म) र संस्थागत सामाजिक जिम्मेवारी (सामाजिक धर्म) बीचको होइन, न्याय प्रणालीको नैतिकता र यसको लोकतान्त्रिक दायित्वबीचको संघर्ष पनि हो । भीष्मले आफ्नो व्यक्तिगत प्रतिज्ञा र निष्ठाका कारण समाजलाई अन्धकारको बाटोमा धकेले, जसले विनाश ल्यायो । नेपालका न्यायाधीशहरूले यो गल्ती दोहोर्याउनु हुँदैन ।
उनीहरूले राजनीतिक हस्तक्षेप र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर न्याय र लोकतन्त्रको साँचो रक्षा गर्नुपर्छ । न्यायपालिकाको भूमिका केवल निर्णयमा सीमित हुँदैन । यो लोकतन्त्रको आधारभूत संरचना बचाउने जिम्मेवारी हो ।
यदि न्यायपालिका केवल मौन दर्शक बनेर रहन्छ, राजनीतिक हस्तक्षेपको सामना गर्न असफल हुन्छ वा अधर्मलाई बढावा दिने निर्णय गर्छ भने ठ्याक्कै भीष्मको मौनतासरह हुनेछ । जो आफ्नो निजी निष्ठाका कारण राज्यको पतन रोक्न असफल भए ।
नेपालका न्यायाधीशहरूले आफ्नो जिम्मेवारीलाई कसरी लिन्छन् ? उनीहरूको हरेक निर्णयले देशको भविष्यलाई आकार दिनेछ । यदि उनीहरूले न्यायलाई निष्पक्ष रूपमा अभ्यास गरेनन् भने देशले ठूलो सामाजिक र राजनीतिक अस्थिरताको सामना गर्नुपर्छ ।
न्यायपालिका एक संस्था हो, जसले केवल कानूनी मुद्दा समाधान गर्ने होइन, समाजको नैतिक संरक्षकको भूमिका पनि निर्वाह गर्छ । जब न्यायालय ‘अर्थ’ को प्रभावमा पर्छ, यसको वास्तविक उद्देश्य गुम्न सक्छ । लोकतन्त्रको आधारभूत संरचनाले न्यायालयलाई केवल कानुनी संस्थाभन्दा माथि राख्छ, यो समाजको संरक्षक हो ।
न्यायाधीशहरूले विदुर र कृष्णजस्ता सत्यको पक्षमा उभिने साहस देखाउनुपर्छ, न कि भीष्मजस्तो मौन दर्शक । उनीहरूले लोकतन्त्रको रक्षाका लागि आवाज उठाउनुपर्छ, भलै यसले उनीहरूलाई राजनीतिक वा व्यक्तिगत चुनौतीहरू सामना गर्नुपर्ने किन नहोस् । नेपालको न्यायपालिका अहिले एउटा निर्णायक घडीमा छ ।
यसले आफ्नो भूमिका पुनर्विचार गर्नुपर्नेछ— के यो केवल कानुनी मुद्दाहरूको मौन समाधानकर्ता हो, कि लोकतन्त्रको आधारभूत संरक्षक ? यदि न्यायपालिकाले सही मार्ग नछाने यसले देशलाई राजनीतिक अराजकता र अस्थिरतामा धकेल्न सक्छ । न्याय प्रणालीले आफ्नो ‘धर्म’ (न्यायको रक्षा) र ‘अर्थ’ (सत्ताको प्रभाव) बीच सही निर्णय लिनु आवश्यक छ, ताकि लोकतन्त्रलाई बलियो बनाउन सकियोस् ।
आधुनिक नेपालमा धर्मको संघर्ष
महाभारतले हामीलाई सिकाउँछ— जब संस्थाहरू असफल हुन्छन्, जब धर्मको पतन हुन्छ र व्यक्तिगत महत्त्वाकांक्षाले सामूहिक हितलाई ओझेलमा पार्छ, त्यसको परिणाम अत्यन्त विनाशकारी हुन्छ । नेपालको वर्तमान राजनीतिक अवस्था यस प्राचीन शिक्षाको सजीव उदाहरण हो । महाभारतको वास्तविक त्रासदी केवल युद्धमा थिएन । यो न्याय र शान्ति जोगाउन बनेका संस्थाहरूको विघटन र जनविश्वासको पतन थियो ।
नेपाललाई आफ्नो आधुनिक कुरुक्षेत्रबाट जोगाउन एक सामूहिक चेतना आवश्यक छ । संस्थाहरूलाई बलियो बनाउनु केवल राजनीतिक आवश्यकता मात्र होइन, नैतिक दायित्व पनि हो ।
महाभारतले दिएको महत्त्वपूर्ण पाठ यही हो— सानो राजनीति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको भविष्यलाई प्राथमिकता दिनु जरुरी छ । जबसम्म यो चेतना नेपालको नेतृत्व र जनतामा जागृत हुँदैन, स्थिरता र न्यायमूलक समाज निर्माणको सपना अपूर्ण नै रहन्छ । नेपालका संस्थाले आफ्नो धर्म जोगाएनन् भने इतिहासले हामीलाई फेरि पनि कठोर पाठ पढाउन सक्छ ।
हामीले इतिहासका ती गहिरा पाठलाई सही रूपमा आत्मसात् गर्यौं भने नेपालले स्थिर, न्यायपूर्ण र समृद्ध समाजको निर्माण गर्न सक्छ । यो केवल अतीतका गल्तीहरूबाट सिकेर, संस्थागत धर्मलाई बचाएर र राष्ट्रको भविष्यलाई पहिलो प्राथमिकतामा राखेर मात्र सम्भव छ । कान्तिपुर