Loktantra Khabar National Weekly
Ad

दसैँको समयमा भन्सार राजश्वमा झन्डै ७० प्रतिशतले कमी

लोकतन्त्र खबर
२७ आश्विन २०८१

बीरगञ्ज । दसैँ पर्वको समयमा भन्सार राजश्वमा झन्डै ७० प्रतिशतले कमी आएको छ। फेस्टिभ मुडका कारण आयात कम हुँदा दसैँ बिदापछिका तीन दिनमा राजश्वमा सो बराबरको गिरावट देखिएको हो। भन्सार विभागका अनुसार फूलपातीदेखि टीकाको दिनसम्मको चार दिनमा कुल ४३ करोड ५९ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो, जुन दैनिक औसतमा १४ करोड ५३ लाख रुपैयाँ हो।

भन्सार विभागको तथ्याङ्क अनुसार, साउन र भदौ महिनाको दुई महिनामा दैनिक औसत ४७ करोड ८३ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको थियो। यो आधारमा हेर्दा, दसैँको अवधिभर भएको राजश्व सङ्कलन सामान्य अवस्थाभन्दा ६९.६२ प्रतिशतले कम हो।

देशभर ४१ वटा भन्सार कार्यालयहरू सञ्चालनमा रहेका छन्, जसमध्ये २७ वटा मुख्य भन्सार कार्यालय छन्, जसअन्तर्गत १०३ वटा छोटी भन्सार कार्यालयहरू पनि समावेश छन्। दसैँको समयमा मुख्य भन्सार कार्यालयहरू कार्य चापका आधारमा खोल्ने व्यवस्था गरिएको भन्सार विभागका सूचना अधिकारी मुक्ति प्रसाद श्रेष्ठले जानकारी दिएका छन्।

आन्तरिक राजश्वको अवस्थालाई हेर्दा, दसैँ बिदाअघि दैनिक औसतमा २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो। दसैँको अवधिमा आन्तरिक राजश्व सङ्कलन लगभग ठप्प भएको छ, जसमा अघिल्लो औसतको तुलनामा ९४.७० प्रतिशतको गिरावट देखिएको छ। आन्तरिक राजश्व कार्यालयहरू पनि पूर्ण रूपमा बन्द भएका छन्, जसका कारण आन्तरिक राजश्वको संकलन ठप्प भएको हो।

नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहरूका राजश्व काउन्टरहरू यस अवधिमा खुला राख्नुपर्ने व्यवस्थालाई स्थगन गरेको छ। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: