Loktantra Khabar National Weekly
Ad

बाढीले सडक बिगारेपछि सर्लाहीको अति दुर्गम नारायणखोला क्षेत्रमा यातायात सञ्चालन नहुँदा स्थानीयहरु दशैको किनमेल गर्नबाट बन्चित

लोकतन्त्र खबर
२ कार्तिक २०८१

मनोज यादव— सर्लाही,कात्तिक २ गते।

सर्लाहीको सुगम पालिका लालबन्दी अन्तर्गत पर्ने सबैभन्दा दुर्गम तथा सडक सञ्जालसँग नजोडिएको नारायणखोला क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीहरु यसपालीको दशैमा समेत किनमेल गर्न पाएका छैनन् ।

गत असारमा महिनामा आएको बाढीले ठाउँठाउँमा सडकहरु बिगारेपछि दशैँको बेला समेत बस नचल्दा नारायणखोला क्षेत्रका स्थानीयबासीहरु खोला पारीका बजारसम्म पुगेर किनमेल गर्न नपाएका हुन्।

बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगका गाँउहरुमा यातायात सेवा ठप्प भएको थियो । बाढीले खोलाको छेउ भएर निकालिएको बाटोहरु बिगारेपछि जिल्लाको नारायणखोला, शीर कालिञ्जोर, पिपलदमार लगायतका विकट क्षेत्रमा यातायातका साधनहरु अवरुद्ध भएका थिए।

बाटो अबरुद्ध हुँदा स्थानीयहरुलाई किनमेलका लागि बजारसम्म र औषधि उपचारका लागि अस्पतालसम्म पुग्न घण्टौं पैदल हिँड्नु पर्ने बाध्यता रहेको थियो।

बर्खाको मौसम समाप्त भइ खोलामा पानी पनि कम भइसकेको र चाडवाडको बेला समेत भएकोले लालबन्दी नगरपालिका वडा न-१४ को वडा कार्यालयले आफ्नो वडा स्तरीय बजेटबाट बिगि्रएको बाटोहरु बनाउन सुरु गरेको छ।

लालबन्दी नगरपालिकाको वडा न-१४ सडक सञ्जालसँग नजोडिएको भएपनि हिउँद याममा खोलाको बगर भएर बस,ट्याक्टर ,जिप र दुईपाङ्ग्रे सवारीसाधनहरु चल्ने गरेका छन् ।

तर बर्खायाममा खोलामा बाढी आउन सुरु भएपछि सो सडक पनि बिग्रिएर यातायात अबरुद्ध हुने गरेको छ। भौगोलिक हिसाबले अती विकट भएकोले नारायणखोला क्षेत्रमा गाडी चलाउन निकै गार्हो हुने गरेको चालकहरु बताउँछन् ।

बाटोमा भएका ठुल्ठुला ढुंगा र खाल्डाखुल्डीहरुले गर्दा गाडी बिचमै फसिदिने ,कहिले टुटफुट हुने जस्ता समस्याहरुले गर्दा यस क्षेत्रमा गाडी चलाउन अप्ठ्यारो हुने गरेको चालकहरु बताउँछन् ।

चाडवाडको बेला पनि गाडी सञ्चालन नहुने हो की भनेर चुरेभेगका स्थानीयवासीहरु निरास बनेका थिए । बर्खायाममा लालबन्दी नगरपालिकाको वडा न- १४ मा पर्ने साबिकको नारायणखोलाबाट पत्थरकोटसम्म आउन स्थानीयहरुलाई खोलाको बगरकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहि आएको छ ।

सडक अबरुद्ध भइ गाडी नचल्दा नारायणखोलाको माथिल्लो भेगका बासिन्दाहरुलाई लालबन्दी बजारसम्म आउन चार-पाँच घण्टा पैदल हिँड्नुपर्ने हुन्छ। बर्खायाम सुरु भए पछी पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पु लगायतका अन्य सवारी साधनहरु चले पनि नारायणखोलाबाट पत्थरकोटसम्म आइपुग्न चार-पाँच घण्टा पैदल हिँड्नुपर्ने हुन्छ।

अहिले खोलामा पानी घटेकोले बाटो मर्मतको काम अघि बढाइएको छ । जतिसक्दो चाँडो यातायात सञ्चालन गर्न धमाधम बाटो निर्माणको काम भइरहेको वडा अध्यक्ष छेनाम सिङ घिसिंङले बताए ।

गाडी नचलेको अवस्थामा नारायणखोलाको माथिल्लो भेग अर्थात् सिन्धुलीको मरिणसँग सीमा जोडिएको गाउँका वासिन्दालाई पत्थरकोटस्थित छेडा गाउँसम्म आउन तीन घण्टा भन्दा बढी समय पैदल हिँड्नुपर्छ ।

नेपालीहरुको मुख्य चाड दशैँकै बेला गाडी नचल्दा स्थानीयले गोठमा पालेको खसीबोका, कुखुरासहित अन्य कृषि उपजहरु बिक्री गर्न पाएका छैनन् । यहाँका पाखोबारीमा कोदो र मकै मात्रै फल्ने गरेकोले नारायणखोलाका बासिन्दाहरुलाई चामल,दाल ,खाने तेल लगायतका खाद्यान्न किन्नको लागि लालबन्दी बजारमै जानुपर्छ।

लालबन्दी नगरपालिकाको अति दुर्गम र विकासको मुख समेत नदेखेको नारायणखोला ५० दशमलव १४ वर्ग किलो मिटर क्षेत्रमा फैलिएको छ । खोलाको बगरबाट आवतजावत गर्नुपर्ने नारायणखोला क्षेत्रमा वर्षाको बेला खोलामा बाढी आउँदा मानिसहरुको आवतजावत र यातायात पुर्ण रुपमा ठप्प हुने गरेको छ। यस क्षेत्रमा अहिले पनि सञ्चारका कुनै पनि साधनहरुको सहज पहुँच छैन् ।

प्रतिक्रिया दिनुहोस्: