मनोज यादव— सर्लाही,कात्तिक ४
नेपालीहरुको सबैभन्दा ठूलो चाड दशै,तिहारकै बेला सर्लाही जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीहरुमा खानेपानीको हाहाकार मच्चिएको छ।
सुक्खा मौसम शुरु भएसँगै विगतका वर्षहरुमा झैँ यस वर्ष पनि सो क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको छ।
गत असोजमा आएको अविरल बर्षाले खोलामा रहेका पानीका मुहानहरु पुरिएकाले यस क्षेत्रका बासिन्दाहरुलाई भर्खरै सक्किएको दशैं जस्तो ठुलो चाडमा समेत खाने पानिको समस्या भएको थियो।
यतिबेला जिल्लाको लालबन्दी नगरपालिका वडा न-१५ को रुन्चे बजार,धुसेनी,देउराली,भुमरा,तल्लो देउराली, वडा न-१२ को जल्किनीडाँडा र भालुखोप तथा वडा न-१४ को नारायणखोलाका अधिकांश बस्तीहरु र छिमेकी पालिकाहरु ईश्वरपुर नगरपालिका वडा न-१२ को घारीबथान र बेलाका साथै हरिवन नगरपालिका वडा न-१ पटौना लगायत चुरे क्षेत्रका बस्तीहरुमा खानेपानीको समस्या देखिएको छ ।
यसअघि जिल्लाको उत्तरी चुरे क्षेत्रमा रहेका धारा,कुवाँ,इनार लगायत खानेपानीका स्रोतहरु तथा सुक्खा मौसममा सुकिसकेका मुहानहरुमा पानी पलाउन थालको थियो ।
तर,अविरल बर्षाका कारण खोलामा आएको बाढीले पानीका मुहानहरु पुरिएपछि सो क्षेत्रका बस्तीहरुमा खानेपानीको अभाव सुरु भएको स्थानियहरुले गुनासो गरे।
सर्लाहीको कर्णाली भनेर चिनिने यस क्षेत्रका बस्तीहरुमा अन्य समयमा पनि शुद्ध पिउने पानीको समस्या हुने गरेको भएपनि सुक्खा मौसम सुरु हुने बित्तिकै भने शुद्ध खानेपानीको थप समस्या हुँदै आएको छ ।
जिल्लाको चुरे क्षेत्र र चुरे डाँडा आसपासका बस्तीहरुमा फागुन महिना लाग्ने बित्तिकै खानेपानीको समस्या सुरु हुन्ने गरेको छ ।
लालबन्दी नगरपालिका वडा न-१५ को देउराली , रुन्चे बजार र ईश्वरपुर नगरपालिका वडा न-१२ घारीबथानका बासिन्दाहरु खोलामा बगेको धमिलो पानी पीउन बाध्य छन । चुरे क्षेत्रका बासिन्दालाई “जुन जोगी आए पनि कानै चिरेको” भन्ने उखान जस्तै भएको छ।
केन्द्रीय सरकार फेरियो,प्रदेश सरकार फेरियो र गाउँगाउँमा सिंहदरबार भनेर चिनिने स्थानिय सरकार पनि फेरियो तर आफुहरुको समस्या कहिल्यै फेरिएन ।खानेपानीको समस्या ज्योंको त्यों छ ।
स्थानीयहरुले गुनासो गरे। स्थानिय सरकारलाई जनताहरुको समस्याको विषयमा जानकारी हुँदाहुँदै पनि त्यसको विकल्प र समाधानको बारेमा चासो नलिंदा यस क्षेत्रका जनताहरु हरेक वर्ष खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।
लालबन्दी नगरपालिकाको वडा न-१२ मा १०३, वडा न-१५ मा ३९१ तथा वडा न-१४ मा ७६४ घरधुरी खानेपानीको समस्या बाट पिडित रहेका छन् ।त्यस्तै ईश्वरपुर नगरपालिका वडा न-१२ मा एघार सय घरधुरिमा खानेपानीको समस्या रहेको पाइएको छ ।
हिउँदको केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रमा पर्ने भालुखोप, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली लगायतका बस्तीहरुमा खानेपानीको समस्या हुने गरेको भएपनि समस्या समाधान गर्न तर्फ स्थानिय सरकारले कुनै कदम नचाल्दा सो क्षेत्रका दर्जनौं बस्तीमा खानेपानीको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ।